+

९ नेपाली क्रिकेटरलाई माया ग्रुपको प्रायोजन

२०८२ पुष  २० गते १५:२९ २०८२ पुष २० गते १५:२९
९ नेपाली क्रिकेटरलाई माया ग्रुपको प्रायोजन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माया ग्रुपले ९ जना नेपाली क्रिकेट खेलाडीसँग दुई वर्षका लागि प्रायोजन सम्झौता गरेको छ।
  • सम्झौतामा राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित युवा र महिला खेलाडीहरू समावेश छन्।
  • माया ग्रुपले आर्थिक र व्यावसायिक सहयोग गर्दै नेपाली क्रिकेट र खेलकुद विकासमा दीर्घकालीन योजना अघि बढाएको छ।

२० पुस, काठमाडौं । माया ग्रुपले नेपाली क्रिकेटलाई थप मजबुत बनाउने उद्देश्यसहित ९ जना नेपाली क्रिकेट खेलाडीसँग प्रायोजन सम्झौता गरेको छ।

आइतबार आयोजित कार्यक्रममार्फत माया ग्रुपले राष्ट्रिय टोलीका स्थापित तथा उदीयमान खेलाडीलाई आर्थिक तथा व्यावसायिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको हो। सम्झौता दुई वर्षका लागि भएको जनाइएको छ ।

सन् २०१८ मा स्थापना भएको माया ग्रुप हाल नेपाल र बेलायतमा सक्रिय छ। समूहले व्यवसायसँगै नेपाली क्रिकेट र खेलकुद विकासमा दीर्घकालीन योजनाअन्तर्गत प्रायोजन तथा ग्रासरुट कार्यक्रममार्फत सहयोग गर्दै आएको छ। गत वर्ष नेपाली राष्ट्रिय क्रिकेट टोलीको इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्ड भ्रमणको व्यवस्थापनसमेत माया ग्रुपले गरेको थियो।

प्रायोजन सम्झौतामा नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित भीम सार्की, गुलशन झा, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, यू-१६ क्रिकेट खेलेका प्रसिद्ध जैसी, सुशील रावल तथा नेपाली यू–१९ महिला टोलीकी उपकप्तान सोनी पाख्रिन समावेश छन्।

प्रायोजनपछि प्रसिद्ध जैसीले माया ग्रुपलाई हृदयदेखि धन्यवाद दिँदै यो प्रायोजनले आफ्नो आगामी क्रिकेट यात्रामा थप उत्साह दिने बताएका छन्। त्यस्तै सोनी पाख्रिनले माया ग्रुप र निर्देशक राज पाण्डेप्रति आभार व्यक्त गर्दै यस सहकार्यले भविष्यमा अझ सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

रिजन ढकालले माया ग्रुपका राज पाण्डे र रक्षा थापालाई धन्यवाद दिँदै यसअघि पनि अनौपचारिक रूपमा सहयोग गर्दै आएको उल्लेख गरे। अर्जुन साउदले यो सहयोग लगानीभन्दा पनि क्रिकेटप्रतिको माया भएको बताउँदै नेपाली क्रिकेटका लागि माया ग्रुपले निरन्तर योगदान दिँदै आएकोमा धन्यवाद दिए।

भीम सार्कीले माया ग्रुपसँग आबद्ध हुन पाउँदा खुशी लागेको जनाउँदै आगामी दिनमा थप युवा खेलाडीहरू पनि यस सहकार्यमा जोडिने आशा व्यक्त गरे। गुल्शन झाले पनि माया ग्रुपप्रति आभार व्यक्त गर्दै यो सहकार्यले भविष्यमा खेलाडीहरूलाई अझ सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

नन्दन यादवले पनि माया ग्रुपसँग जोडिन पाउँदा खुसी लागेको बताए । ‘दाइ भाउजुलाई धन्यवाद । दाईहरुले धेरै सहयोग गर्नुभएको छ, हेटाैंडामा एकेडेमी बनाउँदै हुनुहुन्छ त्यसले युवा खेलाडीलाई फाइदा पुग्छ’ नन्दनले भने ।

यस्तै दीपेन्द्रसिंह ऐरीले नेपाली क्रिकेट र खेलाडीहरुलाई सहयोग गरेकोमा माया ग्रुपप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए । ‘आगामी दिनमा पनि हेल्प चाहिन्छ मोटिभेसनका लागि । ९ जनालाई एम्बासडर बनाउनुएको छ, यसले धेरै हेल्प गर्छ’ उनले भने । सुशील रावल भने भारतमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् ।

यता माया ग्रुपका निर्देशक राज पाण्डेले आपसी समझदारीमा सम्झौता भएको बताए । ‘रकम खुलाएको छैन । उहाँहरुलाई के के चाहिन्छ फ्रि टु आक्स । पैसा सबै कुरा होइन’ उनले भने, ‘सबैले एक जना एमबासडर बनाउँछन् । मायाले केही फरक गर्नुपर्छ भनेर हो । हामीले अझ धेरै चाहेका थियाैँ । हामीसँग थोरै समय भएकोले अहिलेलाई यति गरेका छौं।’

‘सामाजिक सञ्जालमा सहयोग गर्छन् उनीहरूले । हामीलाई उनीहरूले के दिने भन्दा पनि हामीले केही दिनुपर्छ र सहयोग गर्नुपर्छ भनेर हो । लिने भन्दा पनि दिने धेरै कुरा हो’ पाण्डेले थपे ।

पहिले पनि अनअफिसियल्ली अरुलाई सहयोग गर्दै आएको उनले बताए । महिला खेलाडीलाई पनि आगामी दिनमा सहयोग गर्दै जाने उनले बताएका छन् ।

आफू पनि पहिले क्रिकेटर बन्ने सपना देखेको पाण्डेले स्मरण गरे । ‘धेरैले मलाई सोध्छन क्रिकेट किन यति धेरै झुकाव भनेर । मेरो पनि अनटोल्ड स्टोरी छ । क्रिकेटर बन्ने सपना थियो मिडल क्लास बाट आएकोले पूरा हुन सकेन । मैले यी भाइ बहिनीमा त्यो सपना देखेको छु’ उनले भने ।

माया ग्रुपले उच्चस्तरीय प्रशिक्षणका लागि खेलाडीहरू आर्थिक दबाबमा नपरुन् भन्ने उद्देश्यले यो पहल गरिएको जनाएको छ। यस सम्झौताले नेपाली क्रिकेट, खेलाडी विकास तथा देशभरका क्रिकेट एकेडेमीलाई सहयोग गर्ने समूहको प्रतिबद्धतालाई थप बल पुर्‍याउने विश्वास गरिएको छ।

तस्वीरहरू : विकास श्रेष्ठ

खेलाडी प्रायोजन माया ग्रुप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय