+
+
Shares

दुबई उडेका युवक ४ महिनापछि भेटिए दिल्लीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई गएपछि चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन्।
  • उद्धार नेपालले दर्नाललाई उद्धार गरी काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको अध्यक्ष इन्द्रलाल गोलेले जानकारी दिनुभयो।
  • दर्नालको खुट्टाको औँलासमेत काटिएको अवस्थामा फेला परेको र आर्थिक अवस्था कमजोर भएकाले निःशुल्क उपचारका लागि नगरले सिफारिस गरेको वडाध्यक्ष प्रेम मगरले बताउनुभयो।
२५ पुस, कटारी । उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ ।
एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेले जानकारी दिए ।
वैदेशिक रोजगारीका लागि दुबई हिँडे पनि सम्पर्कमा नआएका उनी म्यानपावरमा सोधीखोजी गर्दा स्वास्थ्यमा समस्या आएकाले दिल्ली ट्रान्जिट गरी अस्पतालमा छाडेको एयरलाइन्सले जानकारी दिएको थियो । तर अस्पतालमा खोजी गर्दा फेला नपरेको पारिवारिक स्रोतले जनाएको थियो ।
दर्नालको आर्थिक अवस्था कमजोर रहेकाले वडाध्यक्ष प्रेम मगरले वडाबाट निःशुल्क उपचारका लागि आवश्यक प्रक्रिया पूरा गरी नगरमा सिफारिस गरेर पठाइसकेको बताए ।
‘बेपत्ता भएपछि खोजीका लागि पहल गर्दा पनि भेटिएको थिएन’, वडाध्यक्ष मगरले भने, ‘सामाजिक सञ्जालमै दिल्लीमा अलपत्र परेको सार्वजनिक भएपछि उनलाई उद्धार गरेर ल्याएर उपचार भइरहेको छ ।’
बेवारिसे अवस्थामा भेटिएका दर्नालको खुट्टाको औँलासमेत काटिइसकेको अवस्थामा फेला परेको जनाइएको छ । वैदेशिक रोजगारीका लागि दुबई उडेका दर्नाल भारत ट्रान्जिट हुँदा छुटे वा कसरी दिल्लीमा अलपत्र परे भन्ने बारे अझै खुल्न नसकेको पनि वडाध्यक्ष मगरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?