+
+
Shares

इरानमा जारी आन्दोलनबारे खामेनी– केही अराजक ट्रम्पलाई खुशी पार्न खोजिरहेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानमा बढ्दो महँगी र बेरोजगारीविरुद्ध प्रदर्शन भइरहेकामा सर्वोच्च नेता अयोतुल्लाह खामेनीले यसलाई आतंकवादी गतिविधि भनेका छन्।
  • खामेनीले प्रदर्शनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको हात रहेको आरोप लगाउँदै विदेशी षड्यन्त्र भएको बताए।
  • प्रदर्शनमा हालसम्म २२ जनाको मृत्यु भइसकेको र सरकारले इन्टरनेट बन्द गरेपछि प्रदर्शनकारी आक्रोशित भएका छन्।

२५ पुस, काठमाडौं । चरम आर्थिक संकटको विरोधमा इरानमा भइरहेको प्रदर्शनबारे सर्वोच्च नेता अयोतुल्लाह खामेनीले राष्ट्रलाई सम्बोधन गरेका छन् ।

बढ्दो महँगी, बेरोजगारी, डलरको तुलनामा गिर्दो स्वदेशी मुद्राको चपेटमा पिल्सिएका व्यापारी तथा नागरिक पछिल्लो केही हप्तादेखि निरन्तर प्रदर्शनमा छन् ।

राष्ट्रलाई सम्बोधन गर्दै खामेनीले जारी प्रदर्शनलाई आतंकवादी गतिविधिको संज्ञा दिएका छन् ।

 इरानी नागरिकलाई एकता कायम राख्न खामेनीको अपिल छ । शुक्रबार इरानको सरकारी टेलिभिजनमार्फत जारी गरिएको सर्वोच्च नेता खामेनीको वक्तव्यमा विरोध प्रदर्शनका विरुद्ध चेतावनी दिइएको छ ।

इरानी अधिकारीहरूले जारी प्रदर्शनलाई विदेशी शत्रुको षड्यन्त्र भएको आरोप लगाएका छन् । विशेषत: अमेरिका र इजरायलले इरानको वर्तमान सरकारविरुद्ध षड्यन्त्र गरेर नागरिकलाई प्रदर्शनमा उतारेको दाबी सरकारी अधिकारीहरूको छ ।

सर्वोच्च नेता खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट काम गरेको आरोप प्रदर्शनकारीहरूमाथि लगाएका छन् ।

‘केही अराजकहरू छन्, उनीहरू ट्रम्पलाई खुशी पार्न चाहन्छन्,’ खामेनीले भने ।

साथै उनले अमेरिकी राष्ट्रपति ट्रम्पको हात एक हजारभन्दा बढी इरानीको खुनले रंगिएको आरोप समेत लगाए ।

‘तेहरानले विदेशीका लागि भाडाका सैनिकका रुपमा काम गर्नेहरूलाई सहन गर्ने छैन, अमेरिकी राष्ट्रपतिको हात एक हजार भन्दा बढी इरानीको खुनले रंगिएको छ,’ खामेनीले भनेका छन् ।

खामेनीले इस्लामिक गणतन्त्र सयौं–हजारौं सम्मानित व्यक्तिको रगतले सत्तामा आएको भन्दै तोडफोड गर्नेका अगाडि पछि नहट्ने चेतावनी दिए ।

उनले अमेरिकाभित्र पनि कयौं समस्या रहेको भन्दै ट्रम्पले आफ्नो आन्तरिक मामिलामा ध्यान दिन भनेका छन् ।

‘यदि उनलाई (ट्रम्प) देश कसरी चलाउने थाहा हुन्थ्यो भने उनले आफ्नो देश चलाउँथे, अमेरिकाभित्रै कति समस्या छ,’ उनले भने ।

आणविक हतियार विकास कार्यक्रम सञ्चालन गरेको भन्दै इरानमाथि अमेरिकाले थुप्रै प्रतिबन्ध लगाएको छ । तेलमा आधारित इरानको अर्थतन्त्र अमेरिकी प्रतिबन्धले थिलोथिलो परेको छ ।

महँगी, कमजोर मुद्राका कारण दैनिक जीवनयापनमै कठिनाइ परेको भन्दै आक्रोशित नागरिक प्रदर्शनमा उत्रिएका छन् ।

राजधानी तेहरानबाट सुरु भएको प्रदर्शन अहिले देशका अन्य क्षेत्रमा पनि फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रदर्शनकारीले ठाउँ ठाउँमा सरकारी भवन, सवारी साधनमा आगजनी समेत गरेका छन् । आन्दोलनमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।

आन्दोलनलाई कमजोर पार्न इरान सरकारले इन्टरनेट नै बन्द गरिदिएपछि प्रदर्शनकारी झन् आक्रोशित भएका बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?