News Summary
Generated by OK AI. Editorially reviewed.- न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड रोविन लिगमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ।
- न्यु डायमन्डले नेपाल पुलिसलाई पाँच सेटमा पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ।
- प्रतियोगिता शनिबार सम्पन्न हुनेछ र विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
२५ पुस, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब केएनपी नेरोलेक नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड राउन्ड रोविन लिगमा शुक्रबार अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ४ टिम सहभागी राउन्ड रोविन लिगमा न्यु डायमन्डले डिफेन्डिङ च्याम्पियन नेपाल पुलिसलाई २५–१४, २५–१९, २०–२५, २७–२९ र १५–१० ले पराजित गर्यो ।
लगातार तेस्रो जितसँगै न्यु डायमन्ड लिगको शीर्ष स्थानमा रह्यो । न्यु डायमन्ड र पुलिसले यो खेलअघि नै उपाधि भिडन्त पक्का गरिसकेका थिए । ३ खेलमा पहिलो हार बेहोरेको प्रहरी लिगमा दोस्रो भयो । न्यु डायमन्डकी प्रतिभा माली ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।
अर्को खेल नेपाल आर्मीले एपीएफलाई २७–२५, २१–२५, २५–२१ र २५–२२ ले हराउँदै लिगमा सान्त्वना जित हात पार्यो । यि दुई टिम तेस्रो स्थानका लागि खेल्ने छन् । आर्मीकी भावना डाँगी ‘प्लेयर अफ दि म्याच’ बनिन् ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजना तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ ।
विधागततर्फ ७ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिँदै आएको छ ।
प्रतिक्रिया 4