News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको धनगढीमा सम्पन्न बद्री कुन्ता मेमोरियल यु-१६ फुटबल प्रतियोगिताको उपाधि संघर्ष स्पोर्ट्स क्लब गोदावरीले जितेको छ।
- संघर्ष स्पोर्ट्स क्लबले सहारा युवा क्लब पहलमानपुरलाई २-० ले पराजित गर्दै उपाधि जितेको हो।
- संघर्षले नगद २ लाख र ट्रफी जितेको छ भने सहारा युवा क्लबले नगद एक लाख पाएको छ।
२६ पुस, काठमाडौं । कैलालीको धनगढीमा सम्पन्न बद्री कुन्ता मेमोरियल यु-१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि संघर्ष स्पोर्टस क्लब गोदावरीले जितेको छ ।
धनगढी रंगशालामा शनिबार भएको खेलमा सहारा युवा क्लब पहलमानपुरलाई २-० ले पराजित गर्दै संघर्ष स्पोर्टस क्लब गोदावरी च्याम्पियन बनेको हो ।
संघर्षलाई उपाधि दिलाउन खेलको दोस्रो मिनेटमै राजेश नेपालीले गोल गरे भने आदित्य बडुवालले ७८औं मिनेटमा गोल गरे । बडुवाल फाइनल खेलको प्लेअर अफ दी म्याच पनि चुनिए ।
उपाधिसँगै संघर्ष स्पोर्टस क्लब गोदावरीले नगद २ लाख र आकर्षक ट्रफी पनि जितेको छ । उपविजेता बनेको सहारा युवा क्लब पहलमानपुरले नगद एक लाख रुपैयाँ हात पार्यो ।
विजेता तथा उपविजेता टोलीलाई घोडाघोडी जगरपालिकाका प्रमुख खडक बहादुर रावत, सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्का, कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल र बद्री कुन्ता मेमोरियल ट्रस्टका संस्थापक अध्यक्ष कमला जोशी, सदस्य गोकर्ण जोशी लगायतले सयुंक्त रुपमा ट्रफी, मेडल तथा चेक हस्तान्तरण गरे ।
कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा पौष १८ गतेबाट सुरु भएको यस प्रतियोगितामा जिल्लाभरका १२ स्थानीय तहका टोली सहभागी थिए ।

प्रतिक्रिया 4