+

ललितपुर मेयर कप ब्याडमिन्टनमा रशिला चाैथो पटक च्याम्पियन, प्रफुललाई पहिलो उपाधि

२०८२ पुष  २६ गते २१:१२ २०८२ पुष २६ गते २१:१२
ललितपुर मेयर कप ब्याडमिन्टनमा रशिला चाैथो पटक च्याम्पियन, प्रफुललाई पहिलो उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा रसिला महर्जनले महिला एकलतर्फ लगातार चौथो पटक उपाधि जितिन्।
  • पुरुष एकलतर्फ प्रफुल महर्जनले पहिलो पटक उपाधि जित्न सफल भए र फाइनलमा विष्णु कटुवाललाई पराजित गरे।
  • प्रतियोगितामा ६ विधामा २२६ खेलाडी सहभागी थिए र पुरस्कार राशी ४ लाख २५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ।

२६ पुस, काठमाडौं । चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले महिला एकलतर्फ उपाधि रक्षा गर्दै लगातार चौथो पटक उपाधि जितेकी छन्।

तीनपटककी उपाधि विजेता रशिलाले फाइनलमा आफ्नै क्लबकी शेस्ना सिरपालिलाई पराजित गर्दै चौथो उपाधि हात पारिन्। पहिलो सेट २०–२२ ले गुमाएकी रशिलाले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो र तेस्रो सेट क्रमशः २१–१५ र २१–९ ले जित निकालिन्।

उपाधिसँगै रशिलाले नगद ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। उपविजेता शेस्नाले नगद २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाइन्। तेस्रो स्थानमा आर्मीकी रिहाना सेरचन र भोजपुरकी नङ्गशल तामाङ रहे। उनीहरूले नगद १० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले पहिलो पटक उपाधि जित्न सफल भए। उनले सप्तरीका विष्णु कटुवाललाई २१–९ र २१–६ ले पराजित गरे।

विजेता महर्जनले नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता कटुवालले नगद २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाए। तेस्रो स्थानमा आर्मीका विधान अधिकारी र एपिएफका क्षितिज खनाल रहे। उनीहरूले नगद १० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

बालकुमारी रिमिक्स क्लबको कभर्ड हलमा सम्पन्न पुरुष युगलतर्फको प्रतिस्पर्धामा आर्मीका विधान अधिकारी र पविन लिङ्गथेपको जोडी विजयी बन्यो। यो जोडीले लगातार चौथो पटक उपाधि जितेको हो। फाइनलमा विधान–पविनको जोडीले आर्मीका प्रफुल महर्जन र टाइम आउट क्लबका रुकेश महर्जनको जोडीलाई २१–२३, २१–१७ र २१–१८ ले पराजित गर्‍यो।

तेस्रो स्थानमा एपिएफका देवराज राना–प्रनिश सिंह ठकुरी तथा तीनचुलीका सुनिल कार्की–महेश खड्काको जोडी रहे। विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार र तेस्रो स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

यू–१७ महिला एकलतर्फ आर्मीकी रिहाना सेरचनले उपाधि जितिन्। उनले फिट नेपाल स्पोर्ट्सप्लेक्सकी निभा राईलाई २१–१४, २१–१४ ले पराजित गरिन्। यस विधामा एपिएफकी स्वर्लिन श्रेष्ठ र आर्मीकी समृद्धि श्रेष्ठ संयुक्त तेस्रो स्थानमा रहे।

यू–१७ पुरुष एकलतर्फ आर्मीका सदीप राईले उपाधि जिते। उनले आफ्नै क्लबका प्रतीक बिष्टलाई २१–१९ र २१–१५ ले पराजित गरे। तेस्रो स्थानमा आर्मीका रिजन महर्जन र सौर्य महर्जन रहे। यस विधाका शीर्ष तीन खेलाडीले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

४५ वर्षमाथिको मास्टर युगलतर्फ पिस फिटनेस क्लबका संजय कपाली र अनिल थामसुहाङको जोडी विजयी बन्यो। फाइनलमा उनीहरूले युनिटी ब्याडमिन्टन क्लबका आङकुसाङ शेर्पा र लाक्पा शेर्पाको जोडीलाई १७–२१, २१–१७ र २२–२० ले पराजित गरे। बालकुमारी रिमिक्स क्लबका शान्ता डंगोल–ज्ञानु कुमाल तथा कोटेश्वरका अच्युत बस्नेत–महेश भट्टराईको जोडी संयुक्त तेस्रो भए। विजेताले क्रमशः नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यलगायतले पुरस्कार वितरण गरे।

प्रतियोगितामा पुरुष र महिला एकल खुला, शीर्ष २० वरीयताबाहेकको पुरुष युगल, यू–१७ पुरुष तथा महिला एकल र ४५ वर्षमाथिको मास्टर युगल गरी ६ विधामा करिब २२६ खेलाडीको सहभागिता रहेको थियो।

४ लाख २५ हजार रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिताको अनुमानित कुल लागत ३२ लाख २० हजार ५ सय रुपैयाँ रहेको आयोजकले जनाएको छ।

ललितपुर मेयर कप ब्याडमिन्टन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय