+
महिला क्रिकेट :

महिला टी-२० विश्‍वकप ग्लोबल छनोट : यस्ता छन् नेपालले समूह चरणमा खेल्ने प्रतिद्वन्द्वी

२०८२ पुष  २७ गते १४:१९ २०८२ पुष २७ गते १४:१९

चारवटै टोली टी-२०आई वरियतामा नेपालभन्दा माथि छन् । नेपालले थाइल्यान्ड र नेदरल्यान्ड्ससँग यसअघि पनि खेलिसकेको छ । स्कटल्यान्ड र जिम्बाबेसँग भने अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो भेट हुनेछ ।

महिला टी-२० विश्‍वकप ग्लोबल छनोट : यस्ता छन् नेपालले समूह चरणमा खेल्ने प्रतिद्वन्द्वी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा आगामी सातादेखि आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट आयोजना हुँदैछ जसमा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
  • प्रतियोगिताबाट उत्कृष्ट ४ टोलीले इंग्ल्यान्ड र वेल्समा हुने महिला टी-२० विश्वकपमा स्थान बनाउनेछन् र नेपाल समूह 'बी' मा छ।
  • नेपालले जनवरी १४ मा आयरल्यान्डसँग वार्म अप खेल्दै, जनवरी १८ देखि समूह चरणमा थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

२७ पुस, काठमाडौं । आगामी सातादेखि काठमाडौंमा आईसीसी महिला टी-२० विश्‍वकप क्रिकेटको ग्लोबल छनोट आयोजना हुँदैछ । नेपालले आयोजना गर्न लागेको हालसम्मकै ठूलो आईसीसी इभेन्टमा आयोजक नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

यस प्रतियोगिताबाट उत्कृष्ट ४ टोलीले इंग्ल्यान्ड र वेल्समा यसैवर्ष आयोजना हुने महिला टी-२० विश्वकपमा स्थान बनाउने छन् । प्रतियोगितामा ३ टेस्ट राष्ट्र- जिम्बाबे, आयरल्यान्ड र बंगलादेश पनि खेल्दै छन् ।

यीबाहेक नेपाल, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पीएनजी, नेदरल्यान्ड्स र थाइल्यान्ड एसोसियट राष्ट्रका रूपमा छन् । नेपाल समूह ‘बी’ मा स्कटल्यान्ड, नेदरल्यान्ड्स, थाइल्यान्ड र जिम्बाबेसँग समावेश छ ।

यी चारवटै टोली टी-२०आई वरियतामा नेपालभन्दा माथि छन् । नेपाल २१औं वरियतामा छ भने अन्य टोली नेपालभन्दा माथिल्लो वरियतामा छन् ।

 नेपालले थाइल्यान्ड र नेदरल्यान्ड्ससँग यसअघि पनि खेलिसकेको छ । स्कटल्यान्ड र जिम्बाबेसँग भने अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो भेट हुनेछ ।

यस प्रतियोगिताअघि महिला टोलीको मुख्य प्रशिक्षकमा हर्षल जयन्त पाठक नियुक्त भएका थिए । प्रशिक्षक पाठकले नेपाली टोली विश्वकपमा छनोट हुनेमा आशावादी रहेको बताएका छन् ।

‘म सकारात्मक छु हामी छनोट हुन सक्छौं भनेर । चुनौती पनि छ तर यो टिमसँग क्षमता पनि छ । राम्रो गर्नका लागि खेलाडीहरू धेरै उत्सुक छन् । टिमको योजनासँग मिल्न सक्छन्’ पाठकले भने, ‘छनोट हुने राम्रो सम्भावना देखेको छु । घरेलु मैदानमा पनि छ।’

कप्तान इन्दु बर्माले पनि छनोट हुने लक्ष्यका साथ राम्रो तयारी भएको बताएकी छन् ।  ‘राम्रो तयारी गरिरहेका छौं । प्रतिद्वन्द्वी जस्तो भएपनि हामीले खेलको दिनमा राम्रो गर्नुपर्छ भन्ने भाव राखेका छौं। हाम्रो तर्फबाट राम्रो गर्नुपर्छ भन्ने हो’ उनले भनेकी छन् ।

आज हामी नेपाली महिला टोलीले विश्वकप ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने यिनै विपक्षी टोलीहरूका बारेमा चर्चा गर्नेछौं ।

थाइल्यान्ड

थाइल्यान्ड नेपाली महिला क्रिकेट टोलीका लागि चिरपरिचित प्रतिद्वन्द्वी हो । महिला टी-२०आईमा नेपालले हालसम्म ७ पटक थाइल्यान्डसँग खेलेको छ । ७ वटै खेलमा नेपाल पराजित भएको छ ।

थाइल्यान्डले महिला टी-२० विश्वकप खेलिसकेको छ । सन् २०२० मा अस्ट्रेलियामा भएको टी-२० विश्वकपमा खेलेको थाइल्यान्ड समूह चरणबाट अगाडि बढ्न भने सकेको थिएन ।

त्यस्तै थाइल्यान्डले सन् २०१२, २०१६, २०१८, २०२२ र २०२४ मा महिला एसिया कप पनि खेलेको छ । सन् २०२२ को एसिया कपमा थाइल्यान्डले पाकिस्तानलाई हराएको थियो भने सेमिफाइनलसम्मै पुगेको थियो ।

आईसीसी महिला टी-२०आई वरियतामा थाइल्यान्ड १२औं स्थानमा छ । थाइल्यान्डसँग नेपाली महिला टोलीले पछिल्लोपटक विश्वकप एसिया छनोटको सुपर थ्री मा खेलेको थियो जहाँ नेपाल पराजित भएको थियो ।

त्यही छनोट पार गरेर नेपाल र थाइल्यान्ड ग्लोबल छनोटमा आइपुगेका हुन् ।

स्कटल्यान्ड

स्कटल्यान्ड महिला टोली एसोसियट टोलीमध्ये सबैभन्दा माथिल्लो वरियतामा भएको टोली हो । महिला टी-२०आई वरियतामा स्कटल्यान्ड ११औं स्थानमा छ ।

स्कटल्यान्डले पनि एकपटक टी-२० विश्वकप खेलेको छ । गत संस्करण यूएईमा भएको महिला टी-२० विश्वकप २०२४ स्कटल्यान्डले खेलेको थियो । समूह चरणबाट अगाडि भने बढ्न सकेन । सोही विश्वकपकै आधारमा स्कटल्यान्ड सोझै ग्लोबल छनोट खेल्न लागेको हो ।

स्कटल्यान्डले हालसम्म ७३ टी-२०आई खेल खेल्दा ४३ खेल जितेको छ भने २९ खेलमा पराजित हुँदा १ खेल नतिजाविहीन छ ।

नेपालले हालसम्म स्कटल्यान्डसँग टी-२०आईमा खेलेको छैन । शुक्रबार अभ्यास खेल भने खेलेको थियो जहाँ २७ रनले पराजित भयो ।

नेदरल्यान्ड्स

नेदरल्यान्ड्स महिला टी-२०आई वरियतामा १४औं स्थानमा छ । नेदरल्यान्ड्स महिला टोलीले ४ पटक एकदिवसीय विश्वकप खेलेपनि हालसम्म टी-२० विश्वकप खेलेको छैन ।

नेदरल्यान्ड्सले यूरोपियन छनोट डिभिजन वानको उपविजेताका रूपमा ग्लोबल छनोटमा प्रवेश गरेको थियो । विजेता आयरल्यान्ड अर्को समूहमा छ ।

नेदरल्यान्ड्स महिला टोलीले हालसम्म ९९ वटा टी-२०आई खेल खेलेको छ । तीमध्ये ४६ खेलमा जित निकाल्दा ४७ खेलमा पराजित भएको छ । २ बराबरी तथा ४ खेल नतिजाविहीन छ ।

हेड टु हेडको कुरा गर्नुपर्दा नेपालले नेदरल्यान्ड्ससँग खेलेका ३ वटै खेलमा पराजित भएको छ । गतवर्ष जनवरी-फेब्रुअरीमा नेपालमै भएको त्रिदेशीय शृंखलामा नेपालले पहिलोपटक नेदरल्यान्ड्ससँग खेलेको थियो ।

नेदरल्यान्ड्सले टेस्ट राष्ट्र जिम्बाबेलाई पनि एकपटक हराएको छ ।

जिम्बाबे

जिम्बाबे आईसीसी महिला टी-२०आई वरियतामा १५औं स्थानमा छ । जिम्बाबेले पनि हालसम्म टी-२० विश्वकप खेलेको छैन । जिम्बाबेले अफ्रिका छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो ।

जिम्बाबे महिला टोलीले ८२ टी-२०आई खेल खेल्दा ५५ खेलमा जित निकालेको छ भने २६ खेलमा पराजित भएको छ । एक खेल बराबरी भएको छ ।

नेपालले हालसम्म जिम्बाबेसँग खेलेको छैन । अभ्यास खेल आइतबारका लागि तय गरिएको भएपनि जिम्बाबे टोली नेपालमा नआइपुगेकाले खेल हुन सकेन ।

जिम्बाबेले सन् २०२३ को अफ्रिकन गेम्सअन्तर्गत क्रिकेटमा स्वर्ण जितेको थियो ।

•••

नेपालले समूह चरण पार गरेर अगाडि बढेमा अर्को समूहका टोलीहरूसँग पनि खेल्नुपर्ने हुन्छ । समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, अमेरिका र नामिबिया छन् ।

नेपालले यी टोलीहरूमध्ये बंगलादेश र नामिबियासँग मात्र खेलेको छ । बंगलादेशसँग सन् २०१९ मा पोखरामा भएको एकमात्र खेलमा नेपाल पराजित भएको थियो ।

नामिबियासँग भने युगान्डामा भएको शृंखलामा नेपालले खेलेको थियो । त्यहाँ भएका २ खेलमै नेपाल पराजित भयो ।

आयरल्यान्डसँग नेपालले छनोटअघि वार्म अप खेल खेल्नेछ । अन्तर्राष्ट्रिय मान्यता भने हुने छैन । आयरल्यान्डले हालसम्म ४ पटक महिला टी-२० विश्वकप खेलेको छ ।

यस्तै बंगलादेशले सन् २०१४ देखि यता हरेक संस्करणको टी-२० विश्वकप खेलेको छ । अमेरिकाले भने हालसम्म टी-२० विश्वकप खेलेको छैन ।

•••

नेपालका खेलहरू

जनवरी १४ : आयरल्यान्डसँग वार्म अप खेल
जनवरी १६ : अमेरिकासँग वार्म अप खेल

जनवरी १८ : थाइल्यान्डसँग समूह चरणको खेल
जनवरी २२ : नेदरल्यान्ड्ससँग समूह चरणको खेल
जनवरी २४ : जिम्बाबेसँग समूह चरणको खेल
जनवरी २६ : स्कटल्यान्डसँग समूह चरणको खेल

नेपालको टोली

नेपाली महिला क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय