+
+
Shares

प्रचण्डले किन रोजे रुकुमपूर्व ?

जेनजी विद्रोहले नेतृत्व पुस्तान्तरण माग गरे पनि दलहरू तयार छैनन् । यो परिवेशमा शहरी क्षेत्र र धेरै मतदाता भएको क्षेत्रमा चुनाव जित्न नसक्ने निचोडसहित प्रचण्डले कम जनसंख्या भएको हिमाली जिल्ला राजेको राजनीतिक क्षेत्रमा विश्लेषण भएको छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ पुष २७ गते २३:०५
फाइल तस्वीर

२७ पुस, बुटवल । हरेक चुनावमा क्षेत्र फेर्दै जित्दै आएका नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २१ फागुनमा कुन क्षेत्रबाट उठ्लान् भन्ने धेरैको जिज्ञासा थियो । यो प्रश्नको उत्तर प्रचण्डले शनिबार रुकुमपश्चिम पुगेर दिए ।

आफ्ना पूर्वसहकर्मी जनार्दन शर्माको गृहजिल्लामा आयोजित आमसभाबाट प्रचण्डले आसन्न चुनावमा रुकुमपूर्वबाट उम्मेदवार बन्ने निश्चित गरेको प्रष्ट पारे । उनले भने, ‘यसपालि म रुकुमपूर्वबाट चुनाव उठ्ने छु । रुकुमपूर्वबाट चुनाव लड्ने भएपछि यहाँ पनि आइरहन्छु ।’

चुनाव जितेर राजनीतिमा प्रभाव राखिराख्ने चाहनाले प्रचण्ड हरेक पटक निर्वाचन क्षेत्र बदल्न बाध्य छन् । २०६४ सालदेखि संसदीय राजनीतिमा रहेका प्रचण्डले अहिलेसम्म क्षेत्र बदल्दै जित्दै आएका छन् । प्रचण्डले पाँचौंपल्ट चुनाव क्षेत्र फेर्दैछन् ।

नेकपाले शनिबार रुकुमपश्चिममा आयोजना गरेको एकता सन्देश सभा ।

पार्टी संगठनभित्र भिन्न मत राख्नेलाई पेलेर किनारा लगाउँदै आएका प्रचण्डका लागि आम चुनावमा भिड्न कठिन भएकाले क्षेत्र फेर्दै हिंड्ने गरेको आरोप लाग्दै आएको छ । उनका समर्थकहरू भने प्रचण्ड गतिशील नेता भएकाले क्षेत्र फेर्दै आएको तर्क गर्छन् ।

संगठनमा चार दशकदेखि एकछत्र राज गर्दै आएका उनले पार्टीलाई आफ्नो अनुकूल चलाउन धेरैपल्ट नाम फेरेका छन् । गठबन्धन पनि कहिले कांग्रेस त कहिले एमालेसँग गरेका छन् ।

२१ फागुनमा हुने चुनावमा बलियो बन्न उनले माधव नेपालको एकीकृत समाजवादीसहित विभिन्न साना दललाई मिसाएर माओवादी केन्द्रलाई नेकपामा रुपान्तरित गरेका छन् । आगामी चुनावमा गठबन्धन कोकोसँग हुन्छ भन्ने ठेगान छैन तर, उनले आफ्नो क्षेत्र सुरक्षित गर्दै नेपाली राजनीतिको एउटा खेलाडी भइरहने विषय भने टुंगो लगाएका छन् । रुकुमपूर्व तत्कालीन माओवादीको आधार इलाका हो, जहाँ उनको पार्टीको जनाधार तुलनात्मक बलियो देखिन्छ ।

जनयुद्धको ऐतिहासिक आधारभूमि रुकुमपूर्वमा यस पटक प्रतिस्पर्धा रोचक बन्ने अनुमान गरिएको छ । प्रलोपा नेता भरत महतारा भने रुकुमपूर्वबाट प्रचण्डको जित सहज नभएको दाबी गर्छन् ।

आगामी चुनावमा प्रचण्डका लागि रुकुमपूर्वसहित विभिन्न पाँच जिल्लाबाट चुनाव लड्न सिफारिस भएको थियो । उनले पार्टीका शीर्ष नेताहरूलाई रुकुमपूर्व र सिन्धुलीको अवस्था बुझ्न लगाए । सिन्धुलीको जनमत चलायमान भएकाले समस्या पर्न सक्ने आकलन भएपछि प्रचण्डको रोजाइमा रुकुमपूर्व परेको हो ।

गएको प्रतिनिधिसभा चुनावमा माओवादी केन्द्रका पूर्ण घर्ती १२ हजार २६२ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका कैलाश मल्लले ५ हजार २११ मत ल्याएका थिए ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार चन्द्र झाँक्रीले ८९६ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका खिमबहादुर खत्रीले ५८६, मंगोल नेसनल अर्गनाइजेसनका रतनबहादुर बुढाले ४६४ र नेसनलिस्ट पिपल्स पार्टीका बलबहादुर बुढाले ३०३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । त्यसबेला कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धन थियो ।

अहिले रुकुमपूर्वमा ३४ हजार ९६३ मतदाता छन् । २०७९ सालमा गोरखा क्षेत्र–२ बाट उम्मेदवारी दर्ता गराएपछि प्रचण्डले आफूले देशका धेरै भाग र क्षेत्रबाट चुनाव लडेर रेकर्ड बनाएको बताएका थिए ।

‘म पहिला रोल्पा, काठमाडौं, सिरहा र चितवनबाट निर्वाचन लडेको छु । पूर्व–पश्चिम, मधेश–पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ,’ उनले भनेका थिए ।

युवा नेता र राजनीतिक विश्लेषकहरू भदौ २३ र २४ को जेनजी विद्रोहले शहरी तथा राजमार्ग जोडिएका र धेरै जनसंख्या भएका निर्वाचन क्षेत्रका मतदाताको भोटिङ ट्रेन्डमा यस पटक व्यापक उथलपुथल आउन सक्ने भएकाले प्रचण्डले सुरक्षित हुन कम मतदाता रहेका हिमाली जिल्ला रोजेको ठोकुवा गर्छन् ।

तीन वटा गाउँपालिका मात्र रहेको रुकुमपूर्व लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला हो । यो मगर बाहुल्य जिल्ला पनि हो ।

तत्कालीन माओवादी केन्द्र लुम्बिनी अध्यक्ष (हाल नेकपा संयोजक) सुदर्शन बरालले भने विगतदेखि नै प्रचण्डलाई रुकुमपूर्वमा ल्याउन खोजिए पनि यसपटक सम्भव भएको बताए ।

नेकपाले शनिबार रुकुमपश्चिममा आयोजना गरेको एकता सन्देश सभा ।

‘लुम्बिनी प्रदेशले सम्भावित प्रधानमन्त्री रुकुमपूर्वबाट पाउँदैछ ।अब रुकुमपूर्व जनयुद्धको मात्र नभई समाजवादको आधारभूमि बन्छ,’ बरालले भने ।

२०७४ सालमा तत्कालीन माओवादी र एमालेबीच गठबन्धन हुँदा चितवन–३ बाट प्रचण्ड ४८ हजार २६९ मत पाएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९४२ मत पाएका थिए ।

प्रचण्डले संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा चार पटक मत हाल्दा आफूलाई एक पटक मात्र मत हालेका छन् । २०७४ सालको प्रतिनिधिसभामा चितवन–३ बाट उम्मेदवार बन्दा मात्रै उनले आफैंलाई मतदान गर्न पाए ।

२०७० सालको दोस्रो संविधानसभामा प्रचण्डले काठमाडौं–१० र सिरहा–५ बाट निर्वाचन लडे । काठमाडौंबाट नेपाली कांग्रेसका राजन केसीले २० हजार ३९२ मत ल्याउँदा प्रचण्ड १२ हजार ८५२ मत ल्याएर तेस्रो भए । प्रचण्ड सिरहा–५ बाट १५ हजार २४४ मत ल्याएर विजयी भए ।

शान्ति प्रक्रियामा आएपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पाबाट निर्वाचित भए । पहिलो पटक चुनाव उठ्दा उनले रोल्पा–२ र काठमाडौं–१० बाट उम्मेदवारी दिएका थिए । उनी त्यो समयमा रोल्पा र काठमाडौं दुवै क्षेत्रबाट विजयी भए । पछि उनले रोल्पा २ छोडेर काठमाडौं रोजे ।

पार्टीको नाम बदल्दै र हरेक चुनावमा क्षेत्र बदल्दै जित्दै आएका प्रचण्डका निम्ति यसपालि जित हात लाग्छ कि लाग्दैन, त्यो हेर्न २१ फागुनको नतिजासम्म कुर्नु पर्नेछ ।

चुनाव जित्न क्षेत्र बदल्दै आएका उनले पार्टीको नाम पनि पटक-पटक फेरेका छन् । राजनीति सुरु गर्दा प्रचण्ड तत्कालीन कम्युनिस्ट पार्टीको पुष्पलाल समूहमा आबद्ध थिए ।

प्रचण्ड नेकपा मशालको पहिलोपटक महामन्त्री भए । त्यसको दुई वर्षपछि २०४८ सालमा पार्टीको नाम एकता केन्द्र भयो । २०५२ सालमा जनयुद्ध सुरु गर्नुअघि उनले पार्टीको नाम नेकपा माओवादी राखे ।

त्यसपछि २०६५ सालमा माओवादी र एकता केन्द्रबीच एकता भयो । पार्टीको नाम एकीकृत माओवादी राखियो । प्रचण्डले फेरि आफैंबाट फुटेर गएका पूर्वमाओवादीहरूसँग एकता गरे । त्यसपछि फेरि पार्टीको नाम फेरियो र, माओवादी केन्द्र बन्यो । एमालेसँगको एकतापछि त्यो नाम फेरिएर नेकपा भयो । अहिले १६ वटा पार्टी मिलाएर नेपाली कम्युनिस्ट पार्टी राखेका छन् ।

नेकपाले शनिबार रुकुमपश्चिममा आयोजना गरेको एकता सन्देश सभा ।

रुकुमपूर्वबाट एमालेले खेममान खड्का, आशा स्वर्णकार, चिन्तामणि दाहाल, मोहनभक्त बुढामगर र गोपालप्रसाद सुनारको नाम सिफारिस गरेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट द्वन्द्वकालीन माओवादी नेता सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘वृक्षा’का छोरा सन्दीप चुनाव लड्ने निश्चित छ । सुन्दर र वृक्षाले द्वन्द्वकालमै सहादत प्राप्त गरेका थिए । शहीदपुत्र सन्दीप भने यसपटक बा–आमाको लिगेसी बोकर मैदानमा उत्रिँदैछन् ।

जनयुद्धको ऐतिहासिक आधारभूमि रुकुमपूर्वमा यस पटक प्रतिस्पर्धा रोचक बन्ने अनुमान गरिएको छ । प्रलोपा नेता भरत महतारा भने रुकुमपूर्वबाट प्रचण्डको जित सहज नभएको दाबी गर्छन् ।

पार्टीको नाम बदल्दै र हरेक चुनावमा क्षेत्र बदल्दै जित्दै आएका प्रचण्डका निम्ति यसपालि जित हात लाग्छ कि लाग्दैन, त्यो हेर्न २१ फागुनको नतिजासम्म कुर्नु पर्नेछ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?