२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन जारी छ । काठमाडौंको भृकुटीमण्डपमा आजबाट विशेष महाधिवेशन सुरु भएको हो ।
महाधिवेशनको उद्घाटन सत्रमा नेताहरूले धारणा राखेका छन् । विशेष महाधिवेशन सचिवालय स्रोतका अनुसार, भोलि बिहान ८ बजेबाट बन्दसत्र सुरु हुनेछ ।
उक्त बन्दसत्रका क्रममा महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दैछन् । उक्त प्रतिवेदनमा थापाले दुई उमेर समूहका छुट्टाछुट्टै संख्याको प्रतिनिधित्व रहनेगरी समितिहरू बनाउने प्रस्ताव राख्ने भएका छन् ।
जस अनुसार केन्द्रीय समितिमा ३० वर्ष मुनिका २० र ३० देखि ४० वर्ष उमेर समूहका २० जनालाई प्रतिनिधित्व गराउनेगरी ड्राफ्ट तयार पारेका छन् ।
त्यस्तै, प्रदेश समितिमा ३० मुनिका १० र ३० देखि ४० वर्ष समूहका १० जनालाई प्रतिनिधित्व गराउने प्रस्ताव शर्माले राख्नेछन् । जिल्लामा पनि सोही अनुसार ६/६ जना र वडामा ४/४ जना रहनेगरी प्रतिनिधित्व हुनेगरी उनले प्रतिवेदन पेश गर्न लागेका हुन् ।
त्यस्तै, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद पदमा उनले पुरानै प्रस्ताव दोहोर्याएका छन् ।
एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद रहने प्रस्ताव उनले यसअघि पनि ल्याएका थिए । उक्त प्रस्ताव प्रतिवेदनमार्फत विशेष महाधिवेशनको हलमा प्रस्तुत गरिने जनाइएको छ ।
प्रतिवेदनमा विभिन्न पेशा, व्यवसायमा रहेकाहरूलाई पार्टी संरचनामा ‘ल्याट्रल इन्ट्री’ गराउने व्यवस्था पनि समावेश हुने स्रोतले जानकारी दिएको छ ।
विदेशस्थित जनसम्पर्क समितिबाट पार्टीको अन्तरास्ट्रिय संरचना बनाउने प्रस्ताव पनि प्रतिवेदनमा राखिएको छ । ‘त्यसमा प्रत्येक देशको जनसम्पर्क समितिका वर्तमान र पूर्व अध्यक्ष अन्तरास्ट्रिय परिषदका सदस्य हुनेछन्,’ प्रतिवेदनको खाका उल्लेख गर्दै स्रोतले भन्यो ।
त्यस्तै, अन्तर्राष्ट्रिय जनसम्पर्क समिति २७ सदस्यीय हुने प्रतिवेदन उनले बन्दसत्रमा पेश गर्दैछन् ।
प्रतिक्रिया 4