२८ पुस, गोरखा । ‘गोरखा जेल ब्रेकर’ की कमाण्डर उमा भुजेलको नाम आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट सिफारिस भएको छ । विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीले उनलाई उम्मेदवारका लागि सिफारिस गरेको हो । आइतबार बसेको पार्टी जिल्ला कमिटी बैठकले भुजेलसहित काजी गुरुङ र टेक प्रधानको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ ।
सशस्त्र द्वन्द्वको समयमा २०५६ साल कात्तिक १३ गते गोरखाकै तान्द्राङबाट प्रहरीले भुजेललाई पक्राउ गरेको थियो । २०५७ साल चैत्र १७ गते जेल ब्रेक गरेर उनीसहितको समूह भाग्न सफल भएको थियो ।
संगठनकै काममा गएको बेला प्रहरीको घेराबन्दीमा परेकी उनलाई चार दिन गोरखा हिरासतमा राखेर रातारात तनहुँ लगियो ।
तीन महिनापछि उनलाई तनहुँ अदालतमा लगियो । उनलाई कालिका टायरको घटनाको विषयमा बयान दिन लगाइएको थियो । कालिका टायरमा रहेको प्रहरीको सामान तत्कालीन नेकपा माओवादीले कब्जा गरेको थियो । सोही घटनाको वयान पश्चात अदालतले भुजेललाई तारिकमा छाड्यो । लगतै प्रहरीले पक्राउ गरेर गोरखा ल्यायो अनि हातहतियार खरखजाना मुद्दामा भुजेललाई कारागार चलान गर्यो ।
पक्राउ परेदेखि नै भाग्ने अनेक उनका उपाय असफल बन्दै आए । अन्तत कारागारबाट सुरुङ खनेर भाग्ने योजना बन्यो । उनकै पार्टीका कमला नहर्की, रीता थापा, एन्जिला विक, सञ्जु अर्याल र मीना मरहट्टाले उनलाई साथ दिए । उनीहरू पनि भुजेलसँगै कारागारमा थिए ।
१०० औँ माओ दिवस मनाएर दिउँसो तीन बजेबाट सुरुङ खन्ने कामको सुरुवात गरे । खन्दै गरेको खाडल पुर्न कहिले ढाकाको तान बुन्ने भनेर बाँसले छोपे कहिले क्यारेमबोर्डले ।
कमला नहर्कीले सुरुङ खन्ने काम गर्थिन् । खनेको माटो लुकाउने जिम्मेवारी सञ्जु अर्यालको थियो । सेन्ट्री पोष्टको प्रहरी भुलाउने काम मीना र रिताले गरे। यी सबै कामको संयोजन भुजेलले गर्थिन् ।
तीन महिनामा उनीहरूले सुरुङ तयार गरे र रातको एक बजे पालैपालो बाहिर निस्किए । मकैवारीमा घिस्रिदै लुक्दै अघि बढे । आवाज सुनेपछि प्रहरीले हवाइ फायर गर्यो तर कैदीवन्दी भागेको प्रहरीले पत्तो पाएन ।
२२ औँ जेल ब्रेक दिवसको सन्दर्भ पारेर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भुजेललाई सम्मानसमेत गरेको थियो । उनै भुजेल अहिले गोरखा २ का प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएकी छन् ।
उनीसँगै जेलब्रेक गरेर भागेकी कमला नहर्की पनि नेपाली कम्युनिस्ट पार्टी माओवादीबाट समानुपातिक तर्फ सिफारिस भएकी छन् । विप्लवबाट गोरखा १ मा भने कपील भट्ट, अजीव पौडेल र विष्णु रिजालको नाम सिफारिस भएको छ ।
प्रतिक्रिया 4