News Summary
Generated by OK AI. Editorially reviewed.- कोटेश्वरस्थित कोज्मो एजुकेसन कन्सल्टेन्सीले नक्कली वर्क पर्मिट देखाएर बुल्गेरिया र क्रोएसिया पठाउने भन्दै करिब ३ सय जनाबाट १५ देखि १८ करोड रुपैयाँ ठगी गरेको पाइएको छ।
- ठगीको मास्टरमाइन्ड सर्लाहीका लालबाबु रामले कोटेश्वर र चाबहिलमा दुई कन्सल्टेन्सी खोलेर करोडौं रुपैयाँ उठाएर सम्पर्कविहीन भएका छन्।
- पक्राउ परेका दुई कर्मचारीले करिब ३ सय जनाबाट पैसा उठाएको स्वीकार गरेका छन् भने वैदेशिक रोजगार विभागले व्यक्तिगत ठगी अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।
२९ पुस, काठमाडौं । एक कन्सल्टेन्सीले नक्कली ‘वर्क पर्मिट’ देखाएर युवालाई बुल्गेरिया र क्रोएसिया पठाउन पैसा उठाएर ठगी गरेको पाइएको छ ।
काठमाडौं कोटेश्वरस्थित ‘कोज्मो एजुकेसन कन्सल्टेन्सी’ ले चार महिनाभित्र रोजगारीका लागि बुल्गेरिया र क्रोएसिया पठाइदिने भन्दै नक्कली वर्क पर्मिट देखाएर ठगी गरेको पाइएको हो ।
हालसम्म करिब १ सय जनाले त्यसरी ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । त्यसरी ठगिनेमा करिब ३ सय हाराहारी रहेको अनुमान छ ।
बुझ्न आउनेलाई कार्यालयका कर्मचारीले सुरुमा प्रहरी रिपोर्टमा दूतावासको छाप लगाउन भन्दै २५ हजार रुपैयाँसम्म लिएका थिए । त्यति रकम बुझाएपछि कन्सल्टेन्सीले वर्क पर्मिट दिएको थियो ।
तर, उक्त वर्क पर्मिट नक्कली थियो । जबकि, वर्क पर्मिट पाएकाले यसअघि बुल्गेरिया तथा क्रोएसिया गएर काम गरिरहेकालाई समेत देखाएका थिए । उनीहरूले समेत ‘यस्तै हुन्छ’ भन्ने जवाफ दिएपछि उनीहरूले थप पैसा दिएका थिए ।
त्यही नक्कली वर्क पर्मिट देखाएर १ लाखदेखि २ लाख ८५ हजार रुपैयाँसम्म बुझाएको पाइएको हो ।
रामेछापका राजेश कार्कीले वर्क पर्मिट दिएको र त्यो अन्यत्र पनि बुझ्दा नक्कली होइन भन्ने भएपछि थप पैसा दिएको बताए । वर्क पर्मिट आएपछि आफूले मेडिकल गर्न २ लाख ३५ हजार बुझाएको उनको भनाइ छ ।
त्यसरी कन्सल्टेन्सी नै खोलेर ठगी गर्नेका मास्टरमाइन्ड हुन्– सर्लाही बहमपुरी गाउँपालिका–१ का ४५ वर्षीय लालबाबु राम ।

उनले कोटेश्वरमा ‘कोज्मो एजुकेसन कन्सल्टेन्सी’ खोलेर ठगी गर्दै आएको पाइएको हो । चार महिनादेखि युवासँग पैसा असुलेर ठगी गर्दासमेत राज्यका नियामक निकायले पत्तो पाएनन् ।
लालबाबुको मास्टरमाइन्ड यतिमै सीमित थिएन । उनले चाबहिलमा समेत अर्को कन्सल्टेन्सी खोलेर बुल्गेरिया र क्रोएसिया पठाउने भन्दै करोडौं असुल गरेको पाइएको छ ।
उनकै नाममा चाबहिलमा ‘क्रिएटिभिटी एजुकेसन कन्सल्टेन्सी’ मार्फत समेत वैदेशिक रोजगारीमा पठाउने भन्दै करोडौं उठाएको पाइएको हो ।
त्यहाँबाट समेत ठगिने पीडित सम्पर्र्कमा आउन थालेका छन् । अहिलेसम्म करिब २० जना ठगिएको भन्दै सम्पर्कमा आएका छन् । त्यसरी सम्पर्कमा आएका करिब १ सय हाराहारी छन् ।
उनीहरूलाई समेत बुल्गेरिया र क्रोएसिया पठाउने भनेर पैसा लिइएको थियो ।
क्रोएसिया र बुल्गेरिया पठाउने भन्दै संस्थाको नाम परिवर्तन गरेर लालबाबुले धेरै जनाबाट लाखौं लिएर सम्पर्कविहीन भएको पाइएको हो । त्यसरी करोडौं उठाएर दुवै कन्सल्टेन्सीबाट लालबाबु गायब भएका छन् ।

अहिले प्रहरीले दुई कर्मचारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टिकापुरकी २१ वर्षीया हिमा नायक र इलाम माईजोगमाईकी २३ वर्षीया आस्था खड्का छन् ।
पक्राउ परेका दुवै जनाका अभिभावक सम्पर्कमा आएर पीडितसँग भेटेका छन् । भेटमा आफूहरूको आर्थिक अवस्था एकदमै कमजोर रहेको र छोरीहरूले नै कमाएर पैसा पठाएपछि घर खर्च चल्ने गरेको बताएका थिए ।
आस्थाको बुबाले ‘म साधारण किसान हुँ गाउँको’ भनेका थिए । हेमाका बुबाले आफू सुकुम्बासी भएको र घरजग्गा केही पनि नभएको बताएका थिए । छोरीले नै कमाएको पैसाले रासन र घरभाडा तिर्ने गरेको उनको भनाइ थियो ।
उनीहरू दुवै जना नै कन्सल्टेन्सीमा बसेर बुझ्न आउनेलाई काउन्सिलिङ गर्नेदेखि लिएर पैसा बैंकमा डिपोजिट गर्न कामसमेत लगाउने गरेका थिए ।
लालबाबुले कन्सल्टेन्सी मार्फत बुल्गेरिया पठाइदिने भन्दै ७ देखि १० लाख रुपैयाँ लाग्ने भनेर पैसा उठाएका थिए । नक्कली वर्क पर्मिट देखाएर उनले १ देखि २ लाख ८० हजारसम्म लिइसकेका थिए ।
उनी कहिल्यै कन्सल्टेन्सी नगए पनि दुवै कर्मचारी मार्फत कन्सल्टेन्सीको खातामा पैसा जम्मा गर्न लगाउने गरेका थिए । अफिसमा रहेकी हिमाले नै आफू म्यानेजर भएको र सबै जिम्मा आफ्नै भएको भन्दै सबै काम गर्दै आएकी थिइन् ।
वैदेशिक रोजगार विभागले कन्सल्टेन्सी मार्फत ठगीमा परेकाको उजुरी व्यक्तिगत ठगी अन्तर्गत दर्ता गरेको छ । सोही अनुसार अनुसन्धान हुने विभागले जनाएको छ ।
विभागका उपमहानिर्देशक तथा प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले म्यानपावर कम्पनी बाहेक अन्यका हकमा व्यक्तिगत ठगीमा अनुसन्धान हुने गरेको बताए ।
‘उजुरी आउने क्रम जारी छ, सबैको उजुरी व्यक्तिगत ठगी अन्तर्गत अनुसन्धान हुन्छ,’ शिवाकोटीले भने ।

पक्राउ परेका दुवै कर्मचारीले करिब ३ सय जनाबाट त्यसरी नै पैसा उठाएको बताएका छन् । पक्राउ परेपछि प्रहरीले बयान लिने क्रममा बुल्गेरिया र क्रोएसिया पठाउने भन्दै करिब ३ सय जनाबाट १५ देखि १८ करोड जति पैसा उठाइएको बताएका थिए ।
जबकि, कन्सल्टेन्सीले सामाजिक सञ्जाल मार्फत गरेको विज्ञापनमा भने बुल्गेरिया र क्रोएसियाका लागि ८५/८५ जनाको माग देखाएको थियो । जसमा क्लिनर, प्याकेजिङ, ड्राइभर र जनरल वर्कर माग गरिएको थियो ।
सामाजिक सञ्जालमा गरिएको विज्ञापनका आधारमा सयौँको संख्यामा युवा लाखौं तिरेर भए पनि जान तयार भएका थिए । उनीहरूलाई मासिक ८ सय ५० देखि १ हजार २ सय युरो मासिक तलब हुने, अन्तर्वार्ता केही नहुने र सिधै कागजात सम्बन्धित कम्पनीमा पठाएर वर्क पर्मिट आउने भनिएको थियो ।
बढीमा १० लाख लागत लाग्ने र सहजै जान पाउने भनेपछि धेरै युवा लोभिएका थिए ।
प्रतिक्रिया 4