News Summary
Generated by OK AI. Editorially reviewed.- नबिल बैंकको ४१औं साधारणसभाले अनिलकेशरी शाहलाई संस्थापक सेयरधनी तर्फबाट सञ्चालक निर्विरोध निर्वाचित गरेको छ।
- साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
- सञ्चालक समितिले निर्वाण चौधरीलाई बैंक अध्यक्ष चयन गरेको छ र उनले नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहण गरी कार्यभार सम्हाल्ने बैंकले जनाएको छ।
२९ पुस, काठमाडौं । नबिल बैंकको सोमबार सम्पन्न ४१औं साधारणभाले संस्थापक सेयरधनी तर्फबाट सञ्चालक अनिलकेशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ । शाह सञ्चालक बनेसँगै बैंक अध्यक्षमा सञ्चालक निर्वाण चौधरी चयन भएका छन् ।
साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाइ वितरण गर्ने भनेको १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंक अध्यक्ष उपेन्द्र पौडेलको कार्यकाल सकिएको हुनाले साधारणसभापछि बसेको सञ्चालक समिति बैठकले निर्वाणलाई अध्यक्ष चयन गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहणपछि उनले अध्यक्षको कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।
यसैैसाथ निवर्तमान अध्यक्ष पौडेलले सफलतापूर्वक आफ्नो दुई कार्यकाल सम्पन्न गरेको समेत बैंकले जनाएको छ । उनको नेतृत्वमा बैंकले दिगो बैंकिङमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
उनले विशेषगरी टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ, नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप (नबिल एसएसई) का साथै मर्जर सफल बनाउन समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
चालु आव २०८२/८३ मा बैंकले ५ अर्ब बराबर ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नयाँ पूँजी उपकरण जारी गरेको छ । उक्त उपकरण जारी गरेपछि अतिरिक्त प्राथमिक पूँजीका माध्यमबाट पूँजीगत आधार बलियो भई बैंकको जोखिम बहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
नबिलले देशभरि २ सय ६८ शाखा र ३ सय २१ एटीएमबाट २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय दिगो बैंकिङ अवधारणा आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एन बैंक सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया 4