२९ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको मितिमा नै निर्वाचन हुने बताएका छन् ।
मंगलबार काठमाडौंमा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै उनले २१ फागुनमा निर्वाचन हुने बताउँदै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
नेपालले निर्वाचन समयमा हुँदैन कि भनेर चुप लागेर नबस्न पनि पार्टी, नेता कार्यकर्तालाई सचेत गराए ।
उनले निर्वाचनका लागि पार्टीले घोषणा पत्र निर्माणको काम सुरु गरेको र निर्वाचन परिचालनका लागि पार्टीका संयोजक पुष्पकमल दाहालको नेतृत्व छिट्टै परिचालन कमिटी घोषणा हुने बताए ।
उनले निर्वाचन पार्टीका लागि अग्नि परीक्षा भएकाले त्यसलाई पार लगाउनका लागि सिंगो पार्टी पंक्ति एकतावद्ध भएर परिचालन हुन जरुरी रहेको बताए ।
‘चुनावमा हाम्रो अग्नि परीक्षा हुनेछ । यस बीचमा चुनाव हुन्छ भन्ने नै हामीलाई लागेको छ । त्यसकारण चुनाव हुँदैन कि भन्ने कुरा ठानेर चुप लागेर, पर्खेर बस्ने होइन । चुनावको तयारीमा पूरै जुट्ने हो । र, यसका लागि हामीले निर्वाचनको बारेमा चुनाव घोषणा पत्र बनाउन पनि कमिटी बनाइसकेका छौँ । त्यसको मस्यौदाको काम पनि अगाडि बढन थालिसकेको छ । त्यसैगरी निर्वाचन परिचालन गर्ने कमिटी पनि हामी बनाउन गइरहेका छौँ,’ उनले भने ।
सहसंयोजक नेपालले निर्वाचनमा पैसाको लेनदेन लगायतका विकृतिको सामना गर्न पनि सचेत भएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।
प्रतिक्रिया 4