इन्टरनेट जाएन्ट गुगलले लोकप्रिय इमेल सेवा जिमेलमा आफ्नो एआई मोडेल जेमिनाई एआई आबद्ध गरी आम प्रयोगकर्तालाई उपलब्ध गराउन सुरु गरेको छ ।
यससँगै प्रयोगकर्ताहरूले अब Help Me Write, AI Suggested Replies तथा Smart Search का साथै निकट भविष्यमा आउन लागेको AI Inbox जस्ता अत्याधुनिक सुविधाहरू पाउनेछन् । कम्पनीका अनुसार यी नयाँ एआई फिचर्सले इमेल व्यवस्थापनलाई अझ छिटो, सहज र स्मार्ट बनाउनेछन् ।
गुगलको निःशुल्क एआई अफर के हो ?
गुगलको यो निःशुल्क अफर जिमेललाई पूर्ण रूपमा एआई युक्त बनाउने उद्देश्यले ल्याइएको हो । यसअन्तर्गत प्रयोगकर्ताले एआईको सहयोगमा नयाँ इमेल ड्राफ्ट गर्न, पुराना इमेल सम्पादन गर्न र सन्दर्भ बुझेर एक क्लिकमै जवाफ पाउने सुविधा पाउँछन् ।
एआईले इमेलको सन्दर्भ बुझेर उपयुक्त जवाफ सुझाउने भएकाले लामो इमेल थ्रेड पढ्न र जवाफ दिन लाग्ने समय धेरै बच्नेछ। यसको Smart Search र Email Summary फिचरले लामो इमेललाई केही लाइनमै बुझ्न मद्दत गर्छ ।
गुगलले निकट भविष्यमा ल्याउन लागेको AI Inbox फिचरले जिमेलको इनबक्सलाई स्वचालित रूपमा व्यवस्थापन गर्नेछ । यसमा महत्वपूर्ण इमेल, गर्नैपर्ने काम अर्थात् टू डू लिष्ट र आवश्यक सूचनाहरु इनबक्समा सबैभन्दा माथि देखाइनेछ । गुगलका अनुसार यी सबै सुविधाले जिमेलमा इमेल ओभरलोडको समस्या धेरै हदसम्म कम गर्नेछ ।
यी सबै सुधारहरू जेमिनाई थ्री एआई मोडेल का कारण सम्भव भएको गुगलले जनाएको छ । हाल यो अपडेट अमेरिका भित्रका जिमेल प्रयोगकर्ता तथा गुगल एआई प्रो र अल्ट्रा सब्सक्राइबरहरूका लागि उपलब्ध गराउन थालिएको छ । हाल यी फीचर्स अंग्रेजी भाषामा मात्र उपलब्ध रहेको भएपनि छिटै नै अन्य भाषा र देशमा नि:शुल्क रुपमा विस्तार गरिने गुगलले जनाएको छ ।
प्राइभेसीको चिन्ता
गुगलले जिमेलको पछिल्लो एआई फिचरलाई प्रयोगकर्तामैत्री र निकै उपयोगी बताएको भए पनि कतिपय विज्ञहरुले भने यसले प्रयोगकर्ताको गोपनियतालाई जोखिममा पार्नसक्ने चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार क्लाउडमा आधारित एआई प्रोसेसिङका कारण प्रयोगकर्ताको इमेल डेटा गुगलका सर्भरमा प्रशोधन हुनुपर्ने हुन्छ, जसले प्राइभेसीको जोखिम बढाउन सक्छ ।
गुगलले भने प्रयोगकर्ताको गोपनियता र डेटा सुरक्षामा पूर्ण रुपमा संवेदनशील रहेको जनाएको छ । साथै गुगलले यी एआई फिचरहरु डिफल्ट रूपमा खुल्ला हुने भए पनि प्रयोगकर्ताले चाहेमा बन्द गर्न सकिने बताएको छ । त्यसका लागि जिमेलको Settings मा गई General र Smart Features सेक्सनबाट एआई अप्सन अफ गर्न सकिन्छ। यद्यपि यसरी एआई बन्द गर्दा जिमेलका उन्नत फिचरहरु पनि प्रयोग गर्न पाइनेछैन ।
त्यसैले इमेलमार्फत धेरै काम गर्नुपर्ने र स्मार्ट असिस्टेन्टको आवश्यकता पर्ने प्रयोगकर्ताका लागि जिमेलको यस्तो अपग्रेड उपयोगी हुन सक्छ ।
प्रतिक्रिया 4