+
+
Shares

इजरायल र ओमानसँग श्रम सम्झौता गर्न नेपालले पठायो पत्र

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत इजरायल र ओमानलाई श्रम सम्झौताका लागि पत्र पठाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले इजरायल र ओमानसँग श्रम सम्झौता गर्न सम्बन्धित देशलाई परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेको छ।
  • मन्त्रिपरिषद् बैठकले २१ पुसमा ओमानसँग श्रम समझदारीपत्र र इजरायलसँग श्रम सम्झौता स्वीकृति दिएको थियो।
  • ओमानमा हाल २५ हजार हाराहारी नेपाली श्रमिक छन् र नेपालले श्रम सम्झौताका लागि दूतावासमार्फत भर्बल नोट पठाउने तयारी गरेको छ।

३० पुस, काठमाडौं । इजरायल र ओमानसँग श्रम सम्झौता गर्न नेपालले सम्बन्धित देशलाई पत्राचार गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत इजरायल र ओमानलाई श्रम सम्झौताका लागि पत्र पठाएको हो ।

२१ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले ओमानसँग श्रम समझदारीपत्र र इजरायलसँगको श्रम सम्झौता स्वीकृति गर्ने निर्णय गरेको थियो । सोही अनुसार श्रम मन्त्रालयले परराष्ट्र मार्फत इजरायल र ओमानलाई पत्र पठाएको हो ।

श्रम प्रवक्ता पिताम्बर घिमिरेले परराष्ट्र मन्त्रालय मार्फत पत्र पठाइएको र सम्बन्धित देशबाट जवाफ आएपछि सम्झौतामा हस्ताक्षर हुने बताए ।

श्रम मन्त्रालयले मन्त्री तहमा सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । सोही आधारमा सम्झौताका लागि पत्राचार गरिदिन भन्दै श्रम मन्त्रालयले परराष्ट्रलाई पत्र पठाएको हो ।

‘इजरायल र ओमानलाई कुन तहमा, कहिले, कसरी सम्झौता गर्दा  उपयुक्त हुन्छ, हामीलाई त्यसको जानकारी पाऊँ भनेर परराष्ट्रलाई पत्र लेखेका छौं,’ प्रवक्ता घिमिरेले भने ।

परराष्ट्रले सोही आधारमा दूतावास मार्फत सम्बन्धित देशमा भर्बल नोट पठाउने छ र सम्बन्धित देशबाट जानकारी आएपछि सम्झौतामा हस्ताक्षर गरिने प्रवक्ता घिमिरेले बताए ।

श्रम मन्त्रालयले इजरायल र ओमानसँग श्रम सम्झौता प्रक्रिया अगाडि बढाएको थियो । ओमानले यसअघि नै नेपालसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृत प्रदान गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको हो ।

नेपाल र ओमानबीच कूटनीतिक सम्बन्ध कायम भएको झन्डै ५० वर्षपछि श्रम सम्झौता हुन लागेको हो । नेपाल र ओमानबीच सन् १९७७ (२०३४ साल) मा कूटनीतिक सम्झौता कायम भएको थियो ।

इजरायलसँग भने यसअघि सन् २०२० मा भएको सम्झौताको नवीकरण हो ।

ओमानले यसअघि नै नेपाललाई पत्र पठाएर सम्झौताका लागि तयार भएको बताएको थियो । नेपाल र ओमानबीच २२ वैशाख २०७६ मा श्रम सम्झौताको मस्यौदा तयार भएको थियो ।

काठमाडौंमा भएको उच्चस्तरीय प्राविधिक बैठकले मस्यौदा तयार पारेर शून्य लागतमा कामदार पठाउने गरी सैद्धान्तिक सहमति भएको थियो ।

सम्झौतामा नेपालले गर्नुपर्ने दायित्व, ओमान सरकारको जिम्मेवारी, रोजगारदाताले गर्नुपर्ने कार्य लगायत विषय उल्लेख रहेको मन्त्रालयले जनाएको छ । ओमानमा हाल २५ हजार हाराहारी नेपाली श्रमिक रहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

ओमानमा विशेषगरी घरेलु श्रमिकका रूपमा नेपाली महिला जाने गरेका छन् । जबकि, घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध छ । तर, पनि अवैध बाटो तथा भिजिट भिसामार्फत नेपाली महिलालाई ओमान, कुवेत लगायत देश पठाउने गरेको पाइन्छ ।

नेपाल र ओमानबीच सहमति जुटिसकेको मस्यौदालाई अन्तिम रूप दिन लामो समय लागेको थियो । ओमानसँग पटक–पटक श्रम सम्झौता गर्न प्रस्ताव आदान–प्रदान भएका थिए । तर, सहमति हुन सकेको थिएन ।

सहमति जुटेका बेला ओमानले एकाएक आफ्ना श्रम कानुन परिवर्तन गरेको थियो । त्यसपछि जुटिसकेको सहमति समेत अघि बढ्न सकेको थिएन र श्रम सम्झौता टरेको थियो ।

१० भदौ २०८१ मा ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदी नेपाल भ्रमणमा आएका थिए । भ्रमण क्रममा श्रम सम्झौतामा समेत हस्ताक्षर गर्ने भन्ने थियो । तर, नेपाली पक्षले मस्यौदामा धेरै विषय र नयाँ–नयाँ अडान राखेको भन्दै सम्झौतामा हस्ताक्षर गर्नबाट ओमान पछि हटेको थियो ।

सरकारी संयन्त्र मार्फत नेपाली श्रमिक (केयर गिभर) इजरायल पठाउन १४ असोज २०७७ (३० सेप्टेम्बर २०२०) मा ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ भएको थियो ।

सम्झौता भएको पाँच वर्षपछि नवीकरण प्रक्रिया अगाडि बढेको थियो । २०७७ को सम्झौतामा स्वत: नवीकरण हुने प्रावधान नराखिएकाले त्यही सम्झौतालाई नयाँ सम्झौताको रूपमा बढाइएको थियो ।

इजरायल र नेपालबीच कूटनीतिक सम्बन्ध कायम भएको ६० वर्ष पुगेको अवसरमा २०७७ सालमा दुइटा सम्झौता गरिएको थियो । श्रम सम्झौता र नेपालको कृषिलाई प्रविधि मार्फत आधुनिकीकरण गर्न ‘एग्रिकल्चरल सेन्टर अफ एक्सिलेन्सेस’ स्थापना गर्न सम्झौता गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?