+
+
Shares

बचत छुँदै मुद्दतीको ब्याजदर, घट्ने क्रम किन रोकिएन ?

मुद्दती निक्षेपको ब्याजदर पनि बचतकै बराबर गर्ने गरी बैंकहरूले ब्याजदर घटाउन बाध्य भएका छन् । उनीहरूले ब्याजदर घटाउनु भनेको थेग्न नसकिने अधिक तरलताले बढाएको खर्च व्यवस्थापन रहेको पूर्वबैंकर परशुराम कुँवर क्षेत्री बताउँछन् । 

भुवन पौडेल भुवन पौडेल
२०८२ माघ १ गते २०:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि चालेका कदम असफल भएको देखिन्छ किनभने बैंकहरूले माघ महिनामा ब्याजदर घटाएका छन्।
  • २० वाणिज्य बैंकले माघमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.१४९५ प्रतिशत घटाएको छ।
  • वित्तीय प्रणालीमा अधिक तरलता समस्या जटिल बनेको छ र राष्ट्र बैंकले ऋणपत्रमार्फत पुसमा २ खर्ब रुपैयाँ तरलता खिचेको छ।

१ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न चालेका कदम सफल हुन नसकेको देखिन्छ ।

बैंकहरूले माघ महिनाका लागि तोकेको ब्याजदरले नै तरलता खिच्न केन्द्रीय बैंकका प्रयास असफल भएको स्पष्ट हुन्छ ।

वाणिज्य बैंकहरूले मंगलबार सूचना जारी गर्दै माघको निक्षेपको ब्याजदर पुसको तुलनामा घटाएका छन् । बैंकहरूको बचतको ब्याजदर घटाउन पाउनेसम्मको अन्तिम बिन्दुमा पुर्‍याइसकेका छन् ।

तर, मुद्दती निक्षेपको ब्याजदर पनि बचतकै बराबर गर्ने गरी बैंकहरूले ब्याजदर घटाउन बाध्य भएका छन् । उनीहरूले ब्याजदर घटाउनु भनेको थेग्न नसकिने अधिक तरलताले बढाएको खर्च व्यवस्थापन रहेको पूर्वबैंकर परशुराम कुँवर क्षेत्री बताउँछन् ।

२० वाणिज्य बैंकले सार्वजनिक गरेको सूची अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा ०.१४९५ प्रतिशत बिन्दुले झरेको छ ।

पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.८३४ प्रतिशत रहेकोमा माघमा ४.६८४५ प्रतिशतमा झरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर माघमा ५.५ प्रतिशतमा कायम छ ।

ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै ५.५ प्रतिशत ब्याजदर तय गरेको छ । पुसको तुलनामा माघमा ११ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ८ ले स्थिर राखेका छन् । एउटाले बढाएको छ । अधिकांशले ब्याजदर घटाएसँगै औसतमा ब्याजदर घटेको छ ।

नेपाल राष्ट्र बैंकले अभ्यासमा ल्याएको ब्याजदर करिडोरको तल्लो सीमा अर्थात् २.७५ प्रतिशत ब्याज पाउने गरी बैंकहरूले पैसा राख्न सकिने सुविधा उपलब्ध गराएको छ ।

यस्तो सुविधा अधिक तरलता भएको अवस्थामा बैंकहरूले प्रयोग गर्न सक्छन् । त्यो भनेको स्थायी निक्षेप सुविधा हो । यो अधिक तरलता व्यवस्थापन गर्ने अल्पकालीन औजारमध्ये एक हो ।

यो सुविधाका लागि बैंकहरूले बचतको ब्याजदर २.७५ प्रतिशतभन्दा काम गर्न सक्दैनन् । स्थायी निक्षेप सुविधा प्रयोग गर्न नपर्ने बैंकले बचतको ब्याजदर त्यसभन्दा कम पनि गर्न भने सक्छन् । यो व्यवस्थाले गर्दा बचतको ब्याजदर सोही बिन्दुमा कायम भएको छ भने मुद्दती निक्षेपको ब्याजदर ५ प्रतिशत हाराहारी छ ।

बैंकहरूले बचत र निक्षेपको ब्याजदर अन्तर अधिकतम ५ प्रतिशत कायम गर्नुपर्छ । तर, न्यूनतमको सीमा केन्द्रीय बैंकले नतोकेको हुनाले बचत बराबर जान सक्ने देखिन्छ । त्यसैले पनि बैंकहरूले लागत कम पनि हुने भन्दै मुद्दतीको ब्याजदर क्रमिक घटाएको क्षेत्रीले बताए ।

पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलता समस्या जटिल बनेको छ । बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाको ६ खर्ब २१ अर्ब राष्ट्र बैंकमा छ । यो रकम स्थायी निक्षेप सुविधा, ऋणपत्र र निक्षेप संकलनको कुल हो ।

केन्द्रीय बैंकले अल्पकालीन औजार मार्फत तरलता खिच्दा कुनै असर नदेखिएपछि राष्ट्र बैंक ऋणपत्र मार्फत एक वर्षका लागि स्थायी निक्षेप सुविधाकै ब्याजदर निष्कासन गर्‍यो ।

केन्द्रीय बैंकले ऋणपत्र मार्फत पुसमा कुल २ खर्ब रुपैयाँ वित्तीय प्रणालीको तरलता खिचेको छ । केन्द्रीय बैंकले दीर्घकालीन औजार मार्फत तरलता खिच्दा समेत अधिक तरलताको अवस्थामा रहेपछि बैंकहरूले ब्याज घटाएर खर्च कटौतीमा ध्यान दिएको क्षेत्रीको भनाइ छ ।

‘थेग्नै नसक्ने तरलताको ब्याजदर घटाउन बैंकहरू बाध्य भएका हुन,’ क्षेत्रीले भने, ‘बचत लिन्न भन्दा मिल्ने, ब्याजदर फिक्स छ, घटाउने भनेको मुद्दतीको हो ।’

राष्ट्र बैंकले दैनिक झन्झट घटाउन लामो समयका लागि पैसा उठाएको उनको भनाइ छ । ब्याजदर माथि लैजान राष्ट्र बैंक ऋणपत्रले सहयोग नगरेको तर्क उनले गरे ।

‘राष्ट्र बैंकले ह्वात्तै भोल्युम बढायो भने मात्रै तरलता व्यवस्थापन हुने र ब्याजदर माथि जाने हो,’ उनले भने, ‘ब्याजदर अधिक तरलताले घटाएको हो, राष्ट्र बैंकले तानेकाले खासै फरक पर्दैन ।’

बैंकहरूको ‘कस्ट अफ फन्ड’ धेरै छ, औसत कोषको लागत २.७५ भन्दा बढी छ । कस्ट अफ फन्ड साढे ३ पौने ४ प्रतिशत हाराहारी छ ।

‘बैंकहरूले २.७५ प्रतिशत पाउने भएकाले नोक्सान भयो, झन्डै–झन्डै १ प्रतिशत बिन्दुको ब्याज नोक्सान भएको छ,’ क्षेत्रीले भने, ‘सय रुपैयाँको डिपोजिट थपियो भने, लोन त थपिँदैन, त्यसमा १ प्रतिशत बिन्दुजतिको नोक्सान छ, त्यस्तो अवस्थामा त सकेसम्म लागत घटाउने तिर नै लाग्ने हो ।’

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?