+
+
Shares
विचार :

गगन–विश्वको सार्थक विद्रोह

कार्यकारीमा फर्किएकै कारण नेतृत्व परिवर्तनको कारक बने देउवा !

विद्रोह मार्फत सम्पन्न विशेष महाधिवेशनबाट सिंगै कांग्रेस लिन पुगेका सभापति गगन थापाको आगामी कदमलाई पनि लोकतन्त्रमा विश्वास राख्ने जो–कोहीले सूक्ष्म ढंगले अध्ययन गरिरहेकै हुन्छन् । देउवा चुके झैं चुक्ने सुविधा आजको कांग्रेसका सभापति थापालाई हुन्न ।

सुदर्शन आचार्य सुदर्शन आचार्य
२०८२ माघ २ गते ७:१७

पार्टी स्थापनाको आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस अन्तत: ‘विशेष महाधिवेशन’ मार्फत नयाँ नेतृत्व चयन गर्ने अवस्थामा आइपुगेको छ । राजनीतिक तथा जीवनकै उत्तरार्द्धमा रहेका कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले ‘जेनजी विद्रोह’ पश्चात् जब उनकै पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिए, तब ‘नेता हुनु त देउवा जस्तो’ भन्ने उपमा पाउँदै ताली पाएका थिए । समयको मागलाई देउवाले बुझे भन्दै आम बुद्धिजीवी समेतले देउवाको तारिफमै समय खर्चिएका थिए । उता पार्टीभित्र भने अलिक लामै समयदेखि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायत ‘फेस भ्यालू’ भएका नेताहरू कांग्रेस रूपान्तरण सहित पुस्तान्तरणको मुद्दालाई बोकेर नियमित महाधिवेशनमा जोड दिइरहेका थिए ।

तर, जेनजी विद्रोहसँगै सिंगै मुलुकको राजनीतिले मोड परिवर्तन गरेसँगै कांग्रेसको ठूलो पङ्ति पार्टीको विधानमा टेकेर ‘विशेष महाधिवेशन’को पक्षमा उभिन पुग्यो । अन्तत: बहुमत महाधिवेशन प्रतिनिधिले नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न गर्दै माघ १ गते कांग्रेसका तत्कालीन महामन्त्री गगनकुमार थापालाई सभापति चयन गर्दै नयाँ कार्यसमिति चयन गर्न पुग्यो । थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै कांग्रेसभित्रको ‘यथास्थितिवादी र परिवर्तनकारी’ शक्ति बीचको रस्साकस्सीको एउटा अध्याय समाप्त भएको छ ।

मुगल सम्राटको हात्तीको प्रसंग

मुगल सम्राट हात्ती पालनमा सौखिन थिए । अचानक एकदिन सम्राटको प्रिय हात्ती मर्न पुग्यो । तर, हात्तीसारका कोही पनि कर्मचारीमा सम्राटको प्रिय हात्ती मरेको अप्रिय खबर सुनाउने आँट नै भएन । भन्न थाले– सरकार हात्ती आँखा हेर्दैन, सरकार हात्ती पुच्छर चलाउँदैन आदि इत्यादि । सम्राटले कुरा बुझ्न पशु चिकित्सकलाई पठाए । हात्ती मरेको पहिचान गर्न पुगेका पशु चिकित्सकले समेत सम्राटका डरले हात्ती मरेकै हो भन्न सकेनन् । भन्न थाले– सरकार हात्तीमा जीवित जनावरमा हुनुपर्ने तापक्रम छैन आदि–आदि । सम्राटले प्रतिप्रश्न गरे– के मेरो प्रिय हात्ती मरेकै हो त ? चिकित्सकले जमिनतिर मुन्टो फर्काउँदै भने– म बबुरोले हजुरको प्रिय हात्ती मर्‍यो नै त कसरी भनौं । तर, सत्य त्यही हो सरकार । कांग्रेसमा पनि ठ्याक्कै भइदियो त्यही, पार्टी भ्रष्टाचारको दलदलमा फस्यो, पार्टीभित्र नातावाद हावी भइदियो, नेपालकै ठूलो र लामो इतिहास बोकेको लोकतान्त्रिक दललाई वामपन्थीको बैसाखी बनाइयो । यसरी हुन्न ‘शेरबहादुर दाइ’ भन्ने आँट हात्तीसारका कर्मचारीमा झैं देउवाको दरबारमा रहेका र सातभाइको उपमा पाएका प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा. शशांक कोइरालामा रहेन । त्यो आँट पछिल्लो समय देउवा निवासमा ‘जस्केला’बाट प्रवेश गरेका डा. शेखर कोइरालामा पनि देखिएन । अन्तत: गोपालमान श्रेष्ठ भने अन्तिम समयमा देउवा दरबारबाट बाहिरिए !

पटक–पटक अवसर पाएका देउवाले न देश चलाए, न त कांग्रेस । उनको कार्यकाल देश र कांग्रेसका लागि ‘अप्रिय’ नै बन्न पुग्यो । नेपाली कांग्रेस जस्तो पार्टी ‘ब्रेक’ गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउन पुगेका देउवाले पार्टी चलाउन नसकेकै कारण पार्टी फुटको समय साथ दिएका नेताहरू एक–एक गर्दै कांग्रेसमै फर्किए पश्चात् प्रजातान्त्रिक कांग्रेस नामको ‘दोकान’ कांग्रेसमा विलय गरिदिए । उक्त विलय पश्चात् देउवाले चेते होलान् भन्ने अनुमान धेरैलाई थियो । तर, उनले चेतेनन् वा देउवालाई कांग्रेस सभापति नामको ‘सिंहासन’मा राखेर ‘नायवी’ शासन चलाउँदै आएका आरजू राणाका अलावा सिटौला, निधि र महतहरूले चेत्न दिएनन्, त्यो विषय समीक्षाकै विषय बन्न सक्दछ ।

विषय जे भए पनि २०५९ मा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले अन्याय गरे भन्दै पार्टी फुटाउन पुगेका देउवाले गत असोज २८ गते पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेर देउवाले देशै छाडेका थिए । कथित ‘सात भाइ’मा नरहेका भनिएका खड्कालाई कार्यवाहकको जिम्मेवारी दिइएबाटै असन्तुष्ट ‘निधि–सिटौला’ पूर्णबहादुरलाई असफल बनाउने खेलमा असोज २८ बाटै थिए । तिनै निधि–सिटौला आदिका कारण महाधिवेशन ‘नियमित वा विशेष’को विषय ठोस निष्कर्षमा खड्काले पुर्‍याउन नसकेकै कारण देउवा पुन: ‘कार्यकारी’ भूमिकामै देखा पर्न थालेकैले अन्तत: कांग्रेसका तत्कालीन सभापति देउवाले ‘विशेष महाधिवेशन’को झड्का व्यहोर्नु पर्‍यो ।

आसामका मुख्यमन्त्री डा. शर्माको प्रसंग

कुनै कालखण्डमा आसामका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा आफ्ना नेता राहुल गान्धीलाई भेट्न गान्धी निवास पुगेका थिए । कंग्रेस आईका नेता राहुल, डा. शर्मा आइपुग्दा कुकुरलाई बिस्कुट खुवाइरहेका थिए । डा. शर्माले नेता राहुलको पाउ छोएर प्रणाम गरे, जुन भारतीय कल्चर पनि हो । कुकुरलाई बिस्कुट खुवाइरहेका नेता राहुलले डा. शर्मालाई बस्न पनि नभनी उभ्याइरहे । र, कुकुरलाई नै खुवाइरहेको बिस्कुट डा. शर्मातिर सार्दै भने– ल बिस्कुट खानुस् । आफूले मानेको नेताको यस्तो अप्रिय व्यवहारबाट झट्का महसुस गर्न पुगेका डा. शर्मा गान्धी निवासबाट एकाएक बाहिरिए । आसाममा उनी यति लोकप्रिय थिए कि, उक्त घटनापछि बीजेपी प्रवेश गर्न पुगेका डा. शर्मा आजपर्यन्त आसाममा मुख्यमन्त्री नै छन् । नेपाली कांग्रेसका सन्दर्भमा पनि न्यायपूर्ण व्यवहार देउवाले पार्टीमा देखाउनै सकेनन् । पार्टीभित्र विधि र पद्धतिको धज्जी उडाउँदै कोटको खल्तीबाट चिट निकालेर सत्तामा रहँदा दर्जनौं निर्णय गर्न पुगे । हँुदाहुँदा बीपी कोइरालालाई फाँसी दिनुपर्दछ भन्ने सूर्यबहादुर थापाका छोरालाई राष्ट्रिय सभामा पुर्‍याए ! कांग्रेस पार्टीमा प्रवेश गरेयता लाभको पद बाहेक बाहिर नरहेका थापा राष्ट्रिय सभा सदस्य हुनुअघिसम्म राष्ट्रपति रामचन्द्र पौडेलको सल्लाहकार थिए । उता, पुष्पकमल दाहाल सरकार छाडेर एमालेसँग सत्ता सहकार्य गर्ने देउवाको निर्णय सोही पार्टीका महामन्त्रीद्वय गगन, विश्वले भोलिपल्ट मात्र सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाए । बेथितिको पराकाष्ठाको नमूना अरू पेश गर्नै परेन ।

नेता राहुल गान्धीले डा. शर्मालाई बिस्कुट दिएकै शैलीमा केही ‘पोजिशन’हरू संस्थापन इतरका डा. शेखरलाई दिइए पनि पार्टी भित्र विधि र पद्धतिका बारे देउवाले जीवनभर नै छलफल गर्न चाहेनन् । जनतालाई केन्द्र भागमा राखेर पार्टीका तमाम नेता–कार्यकर्ताको पनि भावना समेटेर राजनीति गर्नुपर्दछ भन्ने विषय देउवाको शब्दकोशमै रहेन । हुँदाहुँदा देउवासँग विवाह गरेर देउवालाई घरमा भित्र्याउन सफल आरजू राणा यति बलियो बनिन् कि, हिजो राणाहरूको हातबाट जनताको तहसम्म प्रजातन्त्र ल्याउन कांग्रेसले हतियार नै उठाउनुपर्‍यो, तर आज कांग्रेसमै जीवनभर रगत र पसिना बगाएका नेता–कार्यकर्तालाई कांग्रेसबाट निकाल्न एउटै ‘राणाको छोरी’ काफी भइन् !

हुँदाहुँदा अबको देउवा समूहमा अपवादलाई छाडेर बाँकी भनेकै वाइडबडी, ललितानिवास, सुडान, नेपाल ट्रष्ट, टीकापुर जग्गा प्रकरण, स्टक एक्सचेञ्ज, बीमा प्राधिकरण अध्यक्ष नियुक्ति, विद्युत् खरिद बिक्री, भूटानी शरणार्थी, भिजिट भिसा, टेरामक्स सँगै अकुत सम्पत्तिमा बयानका लागि ‘अख्तियार’ धाइरहेका मात्र रहन पुगे । पार्टीभित्रका फरक विचार बोक्ने उपर देउवा अत्यन्त अनुदार रहँदै आए । फरक विचार बोक्नेलाई दिइएको जिम्मेवारी पनि कंग्रेस आईका नेता राहुलले डा. शर्मालाई बिस्कुट दिए झैं गरिदिन थालियो । पार्टीभित्रका वैचारिक पक्ष ‘गगन–विश्व’ले यो बीचमा खासै केही मागेको पनि देखिएन । उनीहरू पटक–पटक भन्दैथिए– पार्टी र देशलाई विधि र पद्धति अनुसार चलाऔं । अन्तत: ‘गगन–विश्व’ समेत हार खाएर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशनले दिएको ‘म्यान्डेट’ स्वीकार्ने तहमा पुगे ।

पञ्जाबका मुख्यमन्त्री प्रताप सिंह कैरोको सन्दर्भ

सन् १९५६ देखि १९६४ सम्म पञ्जाबका मुख्यमन्त्री थिए प्रताप सिंह कैरो । मुख्यमन्त्री रहेकै बखत कुनै एक सभालाई सम्बोधन गर्न मुख्यमन्त्री कैरो हाइवेबाट गइरहेका थिए । हाइवेको निकै अगाडि बीच सडकमा एउटा कुकुर देखा पर्‍यो । नजिक पुग्दै गर्दा सडक दायाँ र बायाँ खेतमा केही झुण्ड कुकुरहरू पनि देखा परे । मुख्यमन्त्रीका सवारी चालकलाई पनि गाडी नजिक पुग्दै गर्दा कुकुरले सडक छोड्ने विश्वास थियो शायद । गाडीले रफ्तार रोकेन, उता कुकुरले पनि दायाँ जाउँ कि बायाँ गरिनै रह्यो, सडक छोडेन । अन्तत: मुख्यमन्त्री सवार गाडीको ठक्करबाट उक्त कुकुर मर्न पुग्यो । गाडीभित्र आफैंसँग रहेका सहयोगीलाई मुख्यमन्त्री कैरोले कुकुर मर्नाको कारण बारे जिज्ञासा राखे । दुई पटकको जिज्ञासा बावजुद पनि गाडीको ठक्करबाट कुकुर मरेको भन्ने जवाफ बाहेक सहयोगीले अरू जवाफ दिन सकेनन् । अन्तत: मुख्यमन्त्री कैरो आफैंले भने – समयमै दायाँ वा बायाँ कता जाने भनेर सडकमा रहेको कुकुरले निर्णय लिन सकेको भए ज्यान बच्न सक्दथ्यो । निर्णय जीवनमा समयमै लिनुपर्दछ भन्ने एउटा उदाहरण सहितको दरिलो पाठ पनि हो मुख्यमन्त्री कैरोको यात्राको उक्त घटना ।

पार्टी सभापति र प्रधानमन्त्रीका रूपमा गगन थापाको परीक्षा हुन त बाँकी नै छ । तर, हिजोका मितिमा पार्टीभित्रका सन्दर्भमा ‘गगन–विश्व’ले समय सान्दर्भिक एजेण्डा अगाडि सारेकै देखिन्छ ।

कांग्रेसमा एकातिर देउवाद्वारा निर्मित खाईपाई आएको संस्थापन समूह र अर्कातिर पार्टी र देशलाई विधि र पद्धति अनुसार चलाउनुपर्दछ भन्ने ‘गगन–विश्व’ समूह । यी दुवै समूहमध्ये कुन ठिक भनेर भेउ छुट्याउनै नसक्ने अवस्थामा पर्न पुगे डा. शेखर । डा. शेखरले कि त दुवै समूहलाई ‘ट्रयाक’मा ल्याउन सक्नुपर्दथ्यो, अन्यथा समयमै एकातिर लागेर आफ्नो कित्ता क्लियर गर्न जरूरी थियो । आफू चीन भ्रमणमा रहेकै बखत यता नेतृत्व परिवर्तनका निम्ति विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइहाल्नुस् भन्ने कोइराला अन्तत: जस्केलाबाट देउवा निवासमा प्रवेश गरे ! त्यसयता उनी संस्थापन इतर पनि रहन सकेनन् ।

देउवासँगै पार्टी सभापतिमा प्रतिस्पर्धा गरेर उपविजेता बन्न पुगेका कोइरालाले आफ्नो समूहलाई ‘इन्ट्याक’ राखेर देउवालाई दबाबमा राख्दै पार्टीलाई विधिमा हिंडाउने प्रयत्न भन्दा पनि देउवासँगै मिलेर ‘गगन–विश्व’लाई किनारा लगाउँदै ‘पार्टी सभापति’ पद देउवाको आशीर्वादमा प्राप्त भइहाल्ने सपना देख्न पुगे ! अन्तत: पार्टीभित्र प्रभावकारी भूमिका खेल्न असफल कोइराला देउवाको ‘आठ भाइ’ बन्न पुगे ! यहाँनिर भन्नै पर्ने हुन्छ– ‘निधि र सिटौला’बाट पूर्णबहादुर त बचेनन्, डा. कोइराला कसरी बच्लान् हेर्न बाँकी नै रह्यो ।

‘गगन–विश्व’को सार्थक विद्रोह

कथाका अनुसार, जंगलमा राजाको अभाव भएकै कारण सिंह र बाघ दुवैलाई राजा बन्ने चाहना पलाएछ । आफैंले राजा घोषणा गरेर अगाडि बढ्दा मान्यता नपाइने डरले राजा घोषणाका लागि स्याललाई अनुरोध गर्न पुगे सिंह र बाघ । राजा सिंहलाई घोषणा गर्दा बाघले र बाघलाई घोषणा गर्दा सिंहले मारिदिने तनावका बीच स्यालले पहिला आफू बच्ने जुक्तिका लागि फरक–फरक समयमा सिंह र बाघसँग मीत लगायो । उसले मीत दुवैसँग लगाएको कुरा सिंह र बाघ एकअर्कालाई थाहा थिएन । राजा घोषणा गर्ने सभामा जंगलभरका वन्यजन्तु जम्मा भए । खुला मैदानमा सिंह र बाघलाई तपाईंहरू आपसमा लड्नुस्, जो जित्छ उही राजा भनिदियो स्यालले । दुवै युद्धस्तरमा लड्न थाले, माथिल्लो डिलमा उभिएर ‘नछाड्नुस् मीतज्यू, नछाड्नुस’ भन्दै स्यालले कराउँदै मजैसँग सिंह र बाघलाई भिडायो !

यदि यसैगरी कांग्रेसका ‘देउवा र गगन’ समूहलाई भिडाएर राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा पत्याइएको नेपालको जेठो प्रजातान्त्रिक दल फुटाएर नेपालले पछिल्लो समय प्राप्त गरेको राजनीतिक उपलब्धिलाई समाप्त गरी मुलुकलाई अँध्यारो सुरुङको यात्रामा लैजान खोजिएको होइन भने ‘गगन–विश्व’को सार्थक विद्रोह ठिक छ । किनकि, परिवर्तनलाई संस्थागत गर्दै ‘जेनजी विद्रोह’को पनि भावना समेट्दै नयाँ नेपाल निर्माण गर्ने ल्याकत उनै ‘गगन–विश्व’ले राख्दछन् । उनीहरूमा दृढ इच्छाशक्ति देखिन्छ । देउवा झैं थकित र एमाले अध्यक्ष केपी ओलीले झैं प्रयोगको राजनीति गर्नुपर्दछ भन्ने मान्यता कम्तीमा ‘गगन–विश्व’मा देखिंदैन ।

पार्टी सभापति र प्रधानमन्त्रीका रूपमा गगन थापाको परीक्षा हुन त बाँकी नै छ । तर, हिजोका मितिमा पार्टीभित्रका सन्दर्भमा ‘गगन–विश्व’ले समय सान्दर्भिक एजेण्डा अगाडि सारेकै देखिन्छ । विशेष महाधिवेशनले कांग्रेसको केन्द्रीय समिति विघटन गर्नुअघिसम्म ‘गगन–विश्व’ भन्दैथिए– कार्यवाहकको जिम्मेवारी दिएर देशै छाडेका देउवाले कार्यकारी भूमिका छाड्नुपर्दछ । त्यसैगरी १६५ निर्वाचन क्षेत्रमा आफ्नै पार्टीका नेता चुनाव लड्न पाउनुपर्दछ । चुनाव अगावै विचारै नमिल्नेसँग तालमेल गरिनुहुन्न, टिकट वितरणका लागि पनि विधानले निर्दिष्ट गरे अनुसार सर्वस्वीकार्य बोर्ड गठन गरिनुपर्दछ । सँगै, विशेष महाधिवेशनले गरेका पार्टी सञ्चालनका मार्गदर्शक सिद्धान्त बन्न सक्ने विषयलाई पार्टीको पूँजीको रूपमा स्वीकारिनुपर्ने लगायत थिए । त्यसमा देउवा पक्षले बखेडा गर्नुपर्ने विषय नै थिएन । देउवा निवासमा जुन बेला यो विषयको बहस चलिरहेको थियो, त्यो समय विशेष महाधिवेशनले कांग्रेसको केन्द्रीय समिति भंग गर्न नसक्ने उल्टो तर्क गर्दै आत्मरतिमा देउवा समूह रमाइरहेको थियो । तर, समयले विशेष महाधिवेशन पक्षधरलाई कांग्रेसको केन्द्रीय समिति विघटन नगरी अगाडि बढ्ने मान्यता नै दिएन ।

‘गगन–विश्व’को सार्थक विद्रोहमा अब निर्वाचन आयोगले पक्षधरता लिंदै नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐनसँगै पार्टीको विधान नै हेरेन र कांग्रेस पार्टीको आधिकारिकताका सम्बन्धमा निर्णय लिनुपूर्व ‘गुण्डु’को मुख ताक्यो भने निर्वाचन आयोग बाधक बन्न सक्दछ । यो आशंका सहितको टिप्पणी अनलाइनखबरमा ‘गगन–विश्वको निर्णायक दायित्व’ शीर्षकमा मैले यसअघि गरिपनि सकेको छु । यतिबेला विशेष महाधिवेशन पक्षधरले आयोगबाट मान्यता नपाउने कल्पनासम्म पनि गर्न सकिन्न । किनकि, विधि पद्धति, नियम कानून, सबैको परिधिभित्र रहेर विशेष महाधिवेशन पक्षधरले ‘विशेष महाधिवेशन’ सम्पन्न गरिसकेका छन् । यसको अलावा सार्थक विद्रोहपश्चात् ‘विशेष महाधिवेशन’को निर्णयको बलमा नेतृत्व लिन पुगेका कांग्रेस सभापति गगन थापाले पनि भृकुटीमण्डपमा जम्मा हुन हस्ताक्षर गरेका बाहेक पनि कांग्रेस छन् भन्ने सोचेर टिकट वितरणदेखि भूमिका दिन जरूरी छ । पक्कै पनि एकपक्षीय गर्नकै निम्ति सम्भवत: पार्टीका ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिले विद्रोह गरेका होइनन् ।

तसर्थ, विद्रोह मार्फत सम्पन्न विशेष महाधिवेशनबाट सिंगै कांग्रेस लिन पुगेका सभापति गगन थापाको आगामी कदमलाई पनि लोकतन्त्रमा विश्वास राख्ने जो–कोहीले सूक्ष्म ढंगले अध्ययन गरिरहेकै हुन्छन् । देउवा चुके झैं चुक्ने सुविधा आजको कांग्रेसका सभापति थापालाई हुन्न । किनकि, आज ‘प्रष्ट’ कांग्रेस कि ‘भ्रष्ट’ कांग्रेस हुँदै ‘अलपत्र’ कांग्रेस भन्ने ‘न्यारेटिभ’ बन्न पुगिसकेको छ । यो सबै भाष्यलाई चिरेर स्वच्छ कांग्रेसजनलाई समेटेर ‘प्रष्ट’ कांग्रेस निर्माण अभियान थालिहाल्दा नै विशेष महाधिवेशनले ‘देउवा’ नेतृत्वको कांग्रेस केन्द्रीय समिति विघटन गरी ‘थापा’ नेतृत्वको कांग्रेस केन्द्रीय समिति निर्माणको औचित्य पुष्टि हुनसक्दछ । अन्यथा, भावी चुनौतीलाई आजका कांग्रेस सभापति तथा युवा नेता गगन थापाले पनि सामना गर्न सकेनन् भने त्यसपछि उत्पन्न हुने निराशाले लोकतन्त्रवादीहरूको मनोबल त गिर्छ नै, त्यतिबेला कांग्रेस पार्टी कमजोर हुँदा संघीय लोकतान्त्रिक गणतन्त्र पनि सँगसँगै कमजोर हुँदै जानेछ ।

लेखक
सुदर्शन आचार्य

(आचार्य, नेपाली कांग्रेसकाे महासमितिका पूर्व सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?