२ माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आगामी निर्वाचन, परीक्षा सञ्चालन तथा अनुशासनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित केही निर्णयहरू गरेको छ ।
काउन्सिलले आगामी नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा मतदाता सहभागिता सहज, पारदर्शी र प्रभावकारी बनाउन अनलाइन प्रणाली अवलम्बन गर्ने निर्णय गरेको हो ।
यसले देशभरका चिकित्सकको सहभागिता बढाउने र निर्वाचन प्रक्रियामा प्रविधिको अधिकतम उपयोग हुने काउन्सिलका रजिष्ट्रार डा. सतिस देवले जानकारी दिए ।
गत पुसको दोस्रो साता सम्पन्न काउन्सिलको निर्वाचनमा विजयी अधिकांश उम्मेवारको घोषणा पत्रमा निर्वाचन प्रणाली डिजिटलाइज गर्ने र अनलाइन भोटिङको व्यवस्था गर्ने भन्ने थियो ।
नव निर्वाचित उपाध्यक्ष डा. कुञ्जाङ शेर्पा र अन्य आठ सदस्यसमेत पहिलो पटक सहभागी भएको बैठकले उक्त निर्णय गरेको हो ।
त्यसैगरी, काउन्सिलको परीक्षा प्रणालीलाई एकरूप, निष्पक्ष र समयमै सञ्चालन गर्न प्रश्नपत्र एकरूपता गरी सबै प्रदेशमा एकै समयमा लाइसेन्स परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ ।
काउन्सिल अन्तर्गत सञ्चालन हुने लाइसेन्स परीक्षा तथा स्नातकोत्तर (पोस्टग्राजुएट) चिकित्सकहरूको परीक्षा लागि कम्प्युटर बेस्ड एक्जामिनेसन प्रणाली अन्तर्गत प्रश्नपत्रका सेट विकास गरिने पनि निर्णय भएको छ ।
यस प्रणालीमार्फत नेपालका सातै प्रदेशमा एकै समयमा परीक्षा सञ्चालन गरिने व्यवस्था मिलाइनेछ । यसभन्दा अघि काठमाडौं नै आउनुपर्ने बाध्यता थियो ।
यसबाट परीक्षार्थीलाई सहज पहुँच, यात्रा तथा समयको बचत हुनुका साथै परीक्षा प्रक्रियाको पारदर्शिता र गुणस्तरमा अभिवृद्धि हुने काउन्सिलले जनाएको छ ।
काउन्सिल अन्तर्गत बढ्दो संख्यामा दर्ता हुँदै आएका अनुशासनसम्बन्धी मुद्दाहरूलाई प्रभावकारी रूपमा बनाउन मेडिको लिगल विभाग गठन गर्ने निर्णय भएको डा. देवले बताए ।
उक्त युनिटमा उपयुक्त कानुनी, प्रशासनिक तथा प्राविधिक जनशक्तिको व्यवस्था गरिनेछ । आवश्यक लजिस्टिक तथा संरचनागत पूर्वाधारसमेत सुनिश्चित गरिने काउन्सिलले जनाएको छ ।
उक्त निर्णयले अनुशासनसम्बन्धी मुद्दाहरूको अनुसन्धान, निष्पक्ष मूल्यांकन र व्यवस्थापनलाई सुदृढ, व्यवस्थित तथा विश्वसनीय बनाउने विश्वास काउन्सिलले जनाएको छ ।
प्रतिक्रिया 4