२ माघ, उदयपुर । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उदयपुर जिल्लामा निर्वाचन अधिकृतका दुई वटा कार्यालय स्थापना गरिएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा निर्वाचन क्षेत्र नं. १ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम गाईघाटस्थित जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय (बोक्से) को भवनमा सञ्चालनमा ल्याइएको छ भने निर्वाचन क्षेत्र नं. २ का लागि कटारी नगरपालिका–३ स्थित उदयपुर उद्योग वाणिज्य संघको भवनमा स्थापना गरिएको हो।
निर्वाचन क्षेत्र नं. १ को मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी उदयपुर जिल्ला न्यायाधीश मुकेश उपाध्यायले सम्हालेका छन् भने निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतमा रामेछापका जिल्ला न्यायाधिवक्ता लोकबहादुर कटुवालले सम्हालेका छन् ।
निर्वाचन अधिकृत कटुवालका अनुसार निर्वाचन प्रक्रिया शान्त, निष्पक्ष, सभ्य र सहज ढंगले सम्पन्न गराउने उद्देश्यले कार्यालय स्थापना गरिएको हो । उनले निर्वाचन आयोग नेपालअन्तर्गत स्थापना गरिएको उक्त कार्यालयबाट निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि सञ्चालन गरिने जानकारी दिए ।
कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी कामकारबाही सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए । उनका अनुसार निर्वाचन तालिका पनि सार्वजनिक गरी कार्यालय परिसरमा टाँसिएको छ ।
निर्वाचन कार्यालयले आगामी दिनहरूमा मनोनयन, दर्ता, प्रचार–प्रसार व्यवस्थापन, उजुरी/गुनासो व्यवस्थापन तथा निर्वाचनसँग सम्बन्धित अन्य सम्पूर्ण कार्यहरू यही कार्यालयमार्फत अगाडि बढाउने जनाएको छ।
प्रतिक्रिया 4