News Summary
Generated by OK AI. Editorially reviewed.- मेटा कम्पनीमा एआई विभागका प्रमुख एलेक्जेन्डर वाङ र सिइओ मार्क जुकरबर्गबीच आन्तरिक द्वन्द्व सुरु भएको छ।
- वाङले जुकरबर्गको माइक्रो म्यानेजमेन्ट र नियन्त्रणले आफ्नो स्वतन्त्रता कुण्ठित भएको गुनासो गरेका छन् ।
अमेरिकाको सिलिकन भ्यालीमा अहिले एउटा गम्भीर प्रश्नले चर्चा पाइरहेको छ- के मेटा कम्पनी भित्र आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको विषयलाई लिएर आन्तरिक द्वन्द्व सुरु भइसकेको हो ?
यो चर्चाको केन्द्रमा छन्, कम्पनीका सिइओ मार्क जुकरबर्ग र हालै नियुक्त गरिएका एआई विभागका प्रमुख एलेक्जेन्डर वाङबीचको बढ्दो तनाव ।
बाहिरबाट झ्वाट्ट हेर्दा यो केवल एउटा व्यवस्थापकीय पुनर्संरचनाको खबरजस्तो देखिन्छ । तर भित्री यथार्थले मेटा कम्पनीको एआई भविष्य र कर्पोरेट संस्कृतिमाथि नै गहिरो प्रश्न उठाइरहेको विश्लेषण गरिएको छ ।
२८ वर्षका वाङ र १४ अर्ब डलरको दाउ
गत वर्ष जुकरबर्गले एआईको क्षेत्रमा ठूलो जोखिम मोले । उनले २८ वर्षे एलेक्जेन्डर वाङलाई मेटा कम्पनीको नयाँ सुपरइन्टेलिजेन्स ल्याब्सको नेतृत्व सुम्पिए । यसै क्रममा मेटाले वाङद्वारा स्थापित स्केल एआईमा करिब १४ अर्ब डलर लगानी गर्यो । यो सम्झौता आधुनिक एआई इतिहासकै सबैभन्दा ठूलो सम्झौतामध्ये एक मानिन्छ।
सन् २०२५ मा उनै वाङ मेटा कम्पनीमा सबैभन्दा धेरै पारिश्रमिक पाउने कर्मचारी बने र कम्पनीको एआई रणनीतिका प्रमुख अनुहारका रूपमा स्थापित भए । तर मेटाको एआई यात्रालाई तीव्र बनाउने कदम मानिएको वाङको आगमन र एआईमा गरिएको अर्बौँको लगानी अहिले कम्पनीभित्रै तनावको कारण बन्दै गएको देखिन्छ ।
जुकरबर्गसँग वाङ किन असन्तुष्ट ?
समाचार अनुसार मेटाको एआई प्रमुख एलेक्जेन्डर वाङ हाल कम्पनीका सिइओ मार्क जुकरबर्गको कार्यशैलीबाट असन्तुष्ट छन् । जुकरबर्गको अत्यधिक नियन्त्रण र माइक्रो म्यानेजमेन्टले आफ्नो कामको स्वतन्त्रतालाई कुण्ठित पारिरहेको गुनासो उनको छ । उता मेटा भित्रका केही वरिष्ठ कर्मचारीहरू भने वाङ उमेर र अनुभवका हिसाबले अझै कनिष्ठ भएकाले यति ठूलो एआई विभागको नेतृत्व सुम्पनु उपयुक्त नभएको तर्क गर्छन्।
तर वाङ आफैंमा एक असाधारण व्यक्ति हुन् । उनले कम उमेरमै स्केल एआईको स्थापना गरे जुन आज विश्वकै अग्रणी डेटा लेबलिङ कम्पनीमध्ये एक हो । यही क्षमताका कारण मेटाले उनलाई ठूलो प्याकेजसहित आफ्नो एआई मिसनको नेतृत्व सुम्पिएको थियो।
वाङको नेतृत्वबाट एआईको क्षेत्रमा ओपन एआई, गुगल तथा माइक्रोसफ्टसँगको प्रतिस्पर्धामा आफूलाई अग्रपंक्तिमा राख्ने योजना मेटाको थियो । तर यसले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको विश्लेषण गरिन्छ ।
नयाँ रिपोर्टिङ संरचनाले झनै आशंका
पछिल्लो समयमा मेटा कम्पनीले व्यवस्थापनभित्र नयाँ रिपोर्टिङ संरचना लागू गरेपछि धेरै टिमहरूको प्रत्यक्ष रिपोर्टिङ लाइन परिवर्तन भयो । यही प्रक्रियामा वाङलाई जुकरबर्गको एआई दूरदृष्टि अनुसार पूर्णरूपमा कार्यसञ्चालनगत स्वतन्त्रता नदिइएको कुरा सतहमा आयो । अर्कोतर्फ जुकरबर्ग स्वयम्ले नै एआई प्रोडक्ट रोडम्यापमा गहन रूपमा संलग्न हुँदै हरेक काममा माइक्रो–म्यानेजमेन्ट गरिरहेको आरोप लाग्ने गरेको छ । जसका कारण कम्पनीभित्र टकरावको अवस्था सिर्जना भएको बताइन्छ।
वाङ र जुकरबर्गबीचको पछिल्लो टकरावलाई प्रविधि उद्योगले केवल व्यक्तित्व वा इगोको द्वन्दको रूपमा मात्र हेरेको छैन, यो वास्तवमा दुई फरक सोचको टकराव हो । जुकरबर्गको ‘प्रोडक्ट–फर्स्ट’ र छिटो डेलिभरी मोडेल भर्सेस वाङको ‘रिसर्च–फर्स्ट’ र फाउन्डेसन मोडेल केन्द्रित दृष्टिकोणबीच संघर्ष चलेको बताइन्छ । यस परिस्थितिले मेटा भित्रका धेरै एआई अनुसन्धानकर्तालाई दिग्भ्रमित पारेको छ ।
मेटाबाट बाहिरिँदै एआई क्षेत्रका शीर्ष प्रतिभाहरू
यसैबीच मेटा कम्पनीका केही उच्चपदस्थ एआई इन्जिनियर र अनुसन्धानकर्ताहरूले कम्पनी छोडिरहेको खबर पनि बाहिर आएको छ । भित्री स्रोतहरूका अनुसार धेरै वरिष्ठ कर्मचारीहरू आफ्ना भूमिका, प्राथमिकता र भविष्यलाई लिएर अनिश्चितताको महसुस गरिरहेका छन् । प्रविधि उद्योगमा यस्तो अवस्थालाई ‘कल्चर क्र्याक’ भनिन्छ । यसमा अत्यधिक महत्वाकांक्षा र व्यवहारिक यथार्थबीच दूरी बढ्न थाल्छ ।
मेटाका लागि यो समय अत्यन्त संवेदनशील छ । मेटाभर्समा यसअघि गरिएको ठूलो लगानीले अपेक्षित प्रतिफल दिन सकेको छैन । अब एआई नै कम्पनीको भविष्यको सबैभन्दा ठूलो सम्भावना बनेको छ । यस्तो अवस्थामा एआई विभागको नेतृत्वमै आन्तरिक कलह हुनु लगानीकर्ता र कर्मचारी दुवैका लागि चिन्ताजनक विषय हो।
एआई–फर्स्ट घोषणापछि पनि अन्योल
रोचक कुरा के छ भने, जुकरबर्गले पछिल्ला महिनाहरूमा मेटालाई आधिकारिक रूपमा ‘एआई फर्स्ट कम्पनी’ घोषणा गरिसकेका छन् । लियाम ‘Llama’ मोडेललाई ओपन सोर्स गर्ने होस् वा मेटाको आफ्नै आधारभूत मोडेल विकास गर्ने होस् सबैतिर एआई नै मेटाको नयाँ पहिचान बन्दै गएको छ । तर यदि एआई टिमभित्रै स्पष्टता र समन्वय कायम हुन सकेन भने मेटाभर्सझैँ यो रणनीति पनि जोखिममा पर्न सक्ने विश्लेषकहरूको भनाइ छ ।
एजेन्सी
प्रतिक्रिया 4