+
+
Shares
स्थलगत :

झापा–५ मा ओली र बालेनका चुनौती

प्रधानमन्त्रीका दावेदार दुई जनाले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रबारे दमकदेखि गौरीगञ्जसम्म भेटिएका व्यापारी, चालक, युवा, महिला र वृद्धको प्रतिक्रिया मिश्रित छ ।

हरि अधिकारी हरि अधिकारी
२०८२ माघ ५ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह झापा क्षेत्र नम्बर ५ मा प्रतिस्पर्धा गर्दैछन्, जसले चुनावी माहोल तातिएको छ।
  • ओलीको पार्टीभित्रको आन्तरिक कलह र कार्यशैलीप्रति असन्तुष्टि बढेको छ, जसले चुनावमा चुनौती थपेको एमाले दमकका नेताहरूले बताएका छन्।
  • विश्लेषक मोहन भण्डारीले झापा–५ मा ओली र बालेनबीच कडा प्रतिस्पर्धा हुने र हारजितमा थोरै मतान्तर हुने सम्भावना रहेको उल्लेख गरेका छन्।

५ माघ, दमक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २०४८ सालदेखि चुनाव लड्दै आएको झापा क्षेत्र नम्बर ५ मा काठमाडौंका मेयरबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन)को आगमनले चुनावी माहोल तातेको छ । निरन्तर चुनाव जित्दै आएका पूर्वप्रधानमन्त्री ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको रुपमा अघि सारेको बालेनले प्रतिस्पर्धा गर्ने भएपछि मतदातामा उत्साह देखिन्छ ।

२०६४ को संविधान सभा बाहेकका निर्वाचनमा सहजै चुनाव जित्दै आएका ओलीलाई बालेन आउने भएपछि चुनौति थपिएको  छ ।

पार्टी भित्रको आन्तरिक कलह ओलीका लागि अर्को चुनौती हो । पार्टीको जिम्मेवारी र राजकीय जिम्मेवारीलाई ओलीले आफ्‌नो क्षेत्र र झापालाई केन्द्रमा राख्दा नेतृत्व तहका नेता सन्तुष्ट छन् । तर तल्लो तहका कार्यकर्तामा असन्तोष र नैराश्यता देखिन्छ ।

‘२०४२ सालदेखि पार्टीको संगठन विस्तार गरे, पार्टीकै लागि भनेर पटक–पटक त्याग गरे, ओली बालाई त पटक–पटक जिताइयो,’ एमाले दमकमा पूराना एक नेता भन्छन्, ‘म एमाले हुँ तर, यो पटक भोट परिवर्तन हुन्छ ।’

नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट नेताहरू खुलेर बोल्ने आँट भने गर्दैनन् । अनलाइनखबरसँगको सम्पर्कमा ‘अफ द रेकर्ड’ कुराकानी गरेका एमाले नेताहरूले ओलीको रुखो शैली र पार्टी भित्र प्रतिस्पर्धा गर्ने समूहलाई गरेको  व्यवहारका कारण रुष्ट छन् ।

ओलीको कार्यशैलीप्रति असन्तुष्ट मध्ये एक हुन् गौरादह नगरपालिका–५, बालुवाथानका एमालेका पुराना कार्यकर्ता श्रीप्रसाद फुयाँल । ‘उहाँले आफ्‌नो क्षेत्रमा काम गर्नुभएको छ, ओलीलाई नै भोट हाल्नुपर्छ भन्ने माहोल थियो यो भन्दा अगाडि,’ मकै गोड्दै गरेका उनले भने, ‘कांग्रेस एमालेको गठबन्धनपछि फरक परिणाम आयो, अहिले युवालाई दिनुपर्छ भन्ने छ ।’

ओलीको उमेर र कार्यशैली प्रति पनि उनले असन्तुष्टि जनाए । ‘बा वृद्ध भए, पार्टीमा उहाँले एकलौटी गर्नुभयो, जनताको आकांक्षा युवालाई नै रोज्ने छ,’ अनलाइनखबरसँग फुयाँलले भने, ‘हामीले पनि अहिलेसम्म ओलीलाई नै भोट हालेको हो, अब यसै भन्न सकिँदैन ।’

जेनजी आन्दोलनका बेला जलाइएको ओलीको घर अगाडि भेटिएका छिमेकी पनि उनीसँग रुष्ट छन् । आफ्‌नो परिचय खोल्न नचाहेका ती छिमेकीले भने, ‘आजसम्म उहाँलाई नै भोट हालेको हो, यति चाहिँ बुझ्‌नु यसपाली हाम्रो भोट सूर्यमा जाँदैन ।’

झापाको दमकदेखि गौरीगञ्जसम्म भेटिएका भक्का व्यापारी, सिटी सफारी चालक, युवा, महिला र वृद्धको प्रतिक्रिया मिश्रित छ ।

दमक–५, की शान्ता थापा बालेन पाहुना भएका कारण जित्न नसक्ने बताउँछिन् । ‘केपी ओलीको क्षेत्र हो यहाँ, बालेन टाढाको हुनुभयो,’ उनले भनिन, ‘हामीले प्रत्यक्ष देखेको पनि छैन बालेनलाई, फोटो र भिडियोमा मात्रै हो, एकै पटक चुनाव लड्न आउँदा कसरी भोट दिनु ?’

मतदाताको चाहाना भने युवा नै रहेको उनले बताइन् । ‘हामीलाई युवा चाहिएको हो, ओली बुढो हुनुभयो,’ उनले भनिन् ।

राप्रपाका सक्रिय कार्यकर्ता माधव मिश्र बालेन झापा आउँदा प्रतिस्पर्धा राम्रो हुने बताउँछन् । आफ्‌नो पार्टीका उम्मेदवार जित्न सक्ने अवस्था नभएका कारण उनको चाहाना युवा नै छ । ‘अहिले त कोही चहलपहलमा आएका छैनन, ओली ओल्डम्यान हुन, बालेन युवा हो, अहिले जनताले युवा चाहेका छन,’ उनले भने, ‘बालेनको राम्रो होला जस्तो छ ।’

‘हामी (राप्रपा) त हार्ने निश्चित छ, जित्नेलाई सपोर्ट गर्छौं,’ उनले भने,‘ ओलीबालाई सहयोग गरेको १६ वर्षको उमेरदेखि अहिले ५३ वर्ष पुगिसके, अब युवा पुस्तालाई नै हेर्नुपर्छ ।’ राप्रपाकै मत पाएर विगतमा ओलीले जितेको बताउँदै उनले भने, ‘हाम्रो मत नपाउँदा उनलाई गाह्रो छ, ओलीका लागि निर्णायक मत राप्रपाकै हो ।’

पूर्वशिक्षक पूर्ण बस्नेत मतदाता पर्ख र हेरको अवस्था रहेको बताउँछन् । ‘गाउँको मुखिया र देशको देउता मिल्दैन, बालेन टुरिष्ट उम्मेदवार हुन्, ओली गाउँले हुन्,’ उनले भने, ‘बालेनका हरेक गतिविधि झापालीले हेरेका छन्, उनलाई भेट्नका लागि तीन दिन पर्खनेहरू पनि छन्, हामीलाई तुरुन्तै कुरा सुनाउन र निर्णय गर्ने नेता चाहिन्छ, हामी राजा–महाराजालाई जस्तो झापालीले पर्खन सक्दैनन् ।’

उनी केपी शर्मा ओलीले जित्ने सम्भावना भएपनि आफूले भोट नहाल्ने बताए ।

गौरादह–५, शनिश्चरेका भीमबहादुर सुवेदी बालेनभन्दा बलवान ओलीलाई नै देख्छन् । ‘चुनावमा जसलाई पनि आएर भिड्ने अधिकार छ, ओलीले बारम्बार जित्नु भएको हो, विकास पनि गर्नुभएको छ,’ उनले भने, ‘एजेण्डा लिएर आउने हो, गाली गरेर चुनाव जितिदैन, बालेनले जित्नै नहुने होइन ।’

सुवेदी क्षेत्र नम्बर ५ मा परिवर्तनको आवाज उठेपनि ओलीकै स्थान बलियो देखिएको बताउँछन् । यसअघि ओलीको मतदाता भएको बताउने गौरादह–५, का स्थानीय लालबहादुर घिमिरे ओली वृद्ध भएका कारण अब युवा आउनुपर्ने बताउँछन् ।

स्थानीय खगेन्द्र मिश्र युवाको मत बालेनलाई जाने र बुढापाकाको मत ओलीलाई जाने देख्छन् । ‘अब जाग्नु पर्ने युवाहरू हो, उनले भने, ‘हारजितमा अत्याधिक मत नहेरौं, सानो मतान्तर होला ।’

पहिलो पटक मतदान गर्न लागेकी मिरा माझी आफूले बालेनलाई मतहाल्ने बताउँछिन् । ‘मेरो पहिलो भोट हो यो, काठमाडौंमा उहाँले गरेको चेन्ज देखेका छौं, उनले भनिन्, ‘ओलीलाई टक्कर दिने पनि उहाँ नै हो, भोट फर बालेन ।’

दमक बजारकी देवी थापा ओलीको मतदाता हुन् । तर, उनी अहिले बालेनको पक्षमा उभिदैछिन् । ‘हिजो मत ओलीलाई हालियो, अब चेन्ज हुन्छ, हिजो धेरै हेरियो, अब चेन्ज गरौं भन्ने छ,’ उनले भनिन ।

दमक–८ का पदम खड्का यो पटक के गर्ने भन्ने अन्योलमा छन् । ‘चुनावका अगाडि सबैले ज्यू–ज्यू भन्छन्, तर पछि चिन्दैनन,’ उनले भने, ‘बाले कामा नगरेको भन्न सकिदैन, गर्नु भएको छ, तर अब नयाँ पिँढीलाई पनि हेरौकी भन्ने छ ।’

गौरादह–५ का ७८ वर्षीय डिगबहादुर खत्री बालेनको पक्षमा छन् । ‘अस्ति एमालेलाई नै हालेको हो, अहिले धेरै कुरा बुझियो, चार आना भत्ता दिन्छन, बाह्र आना फिर्ता लिन्छन, ’ उनले भने ।

दमक–८ की सुलोचना पासवानले तीन वर्षअघि ओलीलाई मत हालेकी थिइन । अब भोट बदल्ने मनसायमा छिन् । ‘बालेनलाई हेरौ अब के गर्नुहुन्छ गरिबका लागि,’ उनले भनिन् ।

दमककी गौरी भण्डारी पुरानालाई हराएर नयाँलाई रोज्ने रहर भएको बताउँछन् । उनले भनिन्, ‘अघिल्लो पटक बालाई भोट दिएको हो, पुरानालाई बहिस्कार गरेर नयाँ फेरौं की भन्ने छ ।

गौरीगञ्जका राज साह पहिलो पटक मतदान गर्दैछन् । उनी बालेनलाई मतदान गर्ने बताउँछन् । तर बालेनलाई चुनाव जित्न सजिलो देख्दैनन उनी । बालेन मिडियामा जति फेबरेट भएपनि उनको पक्षमा बोल्ने कतिपयले नागरिकता नलिएको साह बताउँछन् । ‘नागरिकता भएर भोटरलिष्टमा नाम पनि छैन, भोटरलिष्टमा नाम भएकाहरू बाहिर छन्, बाहिरबाट भोट हाल्न मिल्ने अवस्था छैन’ उनले भने, ‘बालेन साहलाई भोट दिन्छौं भन्छन्, तर भित्रभित्रै भएपनि केपी ओली केपी ओली नै हुन्छन् ।’

ओलीलाई आफ्‌नाबाटै खतरा

बालेनको चुनावी कमाण्डर सन्तोष दुलाल एमाले नगर अधिवेशनमा अध्यक्षको आकांक्षी थिए । नगर अधिवेशनमा अध्यक्ष जितेका श्याम पौडेलले १६५ मत ल्याएका थिए । दोस्रो भएका भगवान बस्नेतले ७७ र तेस्रो युवराज घिमिरेले ७५ मत ल्याएका थिए । रास्वपा प्रवेश गरेका दुलालले २७ मत ल्याएका थिए ।

ओलीका आलोचक उनी बालेनलाई झापामा बोलाउने नेताहरू मध्येमा पर्छन् । ‘हिजो नगर अधिवेशनमा राम्रै मत ल्याएका नेता अहिले बालेनको चुनावी कमाण्डर छन्,’ एमाले दमक नगर स्रोत भन्छ, ‘बालेनको चुनावी अभियानमा हाम्रै पार्टीका नेताहरू छन् ।’

 

एमालेको भातृ संगठन खेलकुद महासंघ प्रदेश सदस्य एवान केसी अहिले रास्वपाको चुनावी अभियानमा छन् । ओलीका लागि पहिलो चुनौती आफ्‌नै बोली  र दोस्रो बालेन भएको एमाले दमकका नेताहरू बताउँछन् । एक नेता भन्छन्, ‘काम गरेको छु, अन्तिम पटक उठ्दैछु एक पटक भोट दिनुहोस् भन्नुभयो भने जितिएला, नत्र आफ्‌नै कार्यकर्ता धेरै रिसाएका छन् ।’

एमाले दमक नगर अध्यक्ष श्याम पौडेल एमालेको जनमत पोखरी जस्तो भएका कारण बालेन आउँदा फरक नपर्ने बताउँछन् । ‘बालेन आउँदा ओलीलाई प्रभाव पर्ने भन्ने लाग्दैन,’ उनले भने,‘ एमालेको संगठन जमेको पोखरी जस्तो भएर बसेको छ, त्यो संगठन निर्माणका लागि धेरै अग्रजले रगत पसिना बगाउनु भएको छ, कतै असन्तुष्टीका बावजुद पनि कार्यकर्ता एमालेलाई जिताउन एकतावद्ध भएर उभिनुहुन्छ ।’

पौडेल दमकमा एमालेलाई माया गर्नेको मत बलियो भएको बताउँछन् । उनी भन्छन्, ‘पोखरीजस्तो अटल बनेको संगठनमा जो कोही आएपनि निर्वाचित गराउन कार्यकर्ता लाग्नुहुन्छ । यहाँ एमालेलाई माया गर्ने मत बलियो छ ।’

रास्वपा कमल गाउँपालिका सभापति केदार चापागाईं पार्टीले वरिष्ठ नेतालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर पठाउनु झापाका लागि गौरवको विषय भएको बताउँछन् । उनी भन्छन्, ‘अहिलेको माग युवा पुस्ता र रास्वपाको हो ।’

रास्वपा कार्यकर्ता खेम कार्की यसपटक उत्साह थपेको बताउँछन् । विगतमा ओलीलाई ओलीलाई प्रधानमन्त्री बनाउन लागेको तर यसपटक बालेनलाई प्रधानमन्त्री बनाउन लाग्ने बताए ।

झापा क्षेत्र नम्बर ५ को निर्वाचन आउँदा विश्वदीप लिङ्देन चर्चामा आउँछन् । कारण हो, २०६४ सालमा उनले ओलीमाथि हासिल गरेको जित । तत्कालिन माओवादीबाट ओलीलाई पराजित गरेपछि राष्ट्रिय राजनीतिमा उदाएका लिङदेन अहिलेका दुवै चर्चित अनुहारसँग जनताका वास्तविक एजेन्डा नभएको टिप्पणी गर्छन् ।

विश्लेषक पूर्वप्राध्यापक मोहन भण्डारी, झापा–५ को नतिजा यसै भन्न नसकिने बताउँछन् । विगतमा ओलीका लागि सहजै भएको यो क्षेत्र यसपालीलाई निकै समस्या पर्ने उनी देख्छन् ।

लिङ्देनले दुवै नेताहरूमा प्रधानमन्त्री बन्ने ‘तीव्र इच्छाशक्ति’ भए पनि त्यसका लागि आवश्यक पर्ने ठोस मार्गचित्र नभएको बताएका छन् । अहिलेको राजनीति केवल पदको वरिपरी घुमेको उनको धारणा छ । उनी भन्छन्, ‘उहाँहरूका भाषण र योजनामा जनताको दैनिक जीवनसँग जोडिएका आधारभूत समस्याको समाधान छैन ।’

केवल सस्तो लोकप्रियताको भरमा चुनाव जित्ने रणनीतिले लोकतन्त्रलाई बलियो बनाउन नसक्ने लिङ्देन बताउँछन् । जनताले अहिले महँगी, बेरोजगारी र भ्रष्टाचार विरुद्ध ठोस कार्ययोजना खोजिरहेका छन्, जुन दुवै पक्षका उम्मेदवारबाट स्पष्ट रूपमा आएको छैन ।

विश्लेषक पूर्वप्राध्यापक मोहन भण्डारी, झापा–५ को नतिजा यसै भन्न नसकिने बताउँछन् । विगतमा ओलीका लागि सहजै भएको यो क्षेत्र यसपालीलाई निकै समस्या पर्ने उनी देख्छन् ।

‘बालेन किन आउँदैछन् भन्दा ओलीलाई हराउन, तर नयाँ ठाउँमा उनलाई पनि सजिलो छैन,’ भण्डारी भन्छन, ‘झापा–५ मा कडा प्रतिस्पर्धा हुँदा हारजित जसको भएपनि थोरै मतान्तरको हुन्छ ।’

ओलीसँग स्थानीय भएको सुविधा छ, पटक पटक जितेका कारण देखाउनका लागि गरेका कामहरू पनि छन् ।  तर, बालेनसँग युवा जोश  जागर भएका कारण प्रतिस्पर्धा राम्रो हुने उनी बताउँछन् ।

यस्तो छ तीन वर्षअघिको अंकगणित

२०७९ को संसदीय निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष ओली ५२ हजार ३ सय १९ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीको २३ हजार ७ सय ४३ मत पाएका थिए । रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याएका थिए ।

समानुपातिकतर्फ पहिलो भएको एमालेले ३५ हजार ८७२ मत ल्याएको थियो । रास्वपाको मत १८ हजार २ सय ५ मत थियो । रास्वपा दोस्रो हुँदा तेस्रो भएको कांग्रेसले १६ हजार ८५९ मत पाएको थियो । फागुन २१ को निर्वाचनमा १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन् । यो पटक करिब १० हजार मतदाता नयाँ छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?