News Summary
Generated by OK AI. Editorially reviewed.- फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको अन्तिम दिन सोनाम छिरिङ घले, सारा पन्त र विश्वविशेष डल्लाकोटीले स्वर्ण जितेका छन्।
- यू–१० ब्वाइज सिंगल्समा सोनामले एस्टन श्रेष्ठलाई ६–४ र ६–४ ले पराजित गरे।
- प्रतियोगितामा १ सय ४७ खेलाडी सहभागी थिए र नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले विजेतालाई पुरस्कृत गरे।
५ माघ, काठमाडौं । सोनाम छिरिङ घले, सारा पन्त र विश्वविशेष डल्लाकोटीले फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको अन्तिम दिन सोमबार स्वर्ण जितेका छन् । सोनाम यू–१० ब्वाइज सिंगल्स, सारा यू–१२ गर्ल्स सिंगल्स र विश्व यू–१४ ब्वाइज सिंगल्समा च्याम्पियन बने ।
फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीको आयोजनामा बूढानीलकण्ठ नगरपालिकास्थित च्यासिन्डोलमा भएको यू–१० ब्वाइज सिंगल्स फाइनलमा सोनामले एस्टन श्रेष्ठलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे ।
यू–१२ गर्ल्स सिंगल्स फाइनलमा साराले आर्या पौडेललाई ६–१ र ६–० ले सहजै हराइन् । साराको यो दोश्रो व्यक्तिगत स्वर्ण हो । साराले यू–१४ गर्ल्स सिंगल्समा पनि स्वर्ण जितेकी थिइन् ।
यू–१४ ब्वाइज सिंगल्स फाइनलमा अर्याशराज पौडेल रिटायर्ड हर्ट भएपछि विश्व विजेता बने । तेश्रो सेटमा विश्व १–० ले अगाडि रहेको अवस्थामा अर्याश रिटायर्ड हर्ट हुन पुगे । त्यसअघि दुवैले १–१ सेट जितेका थिए । पहिलो सेट विश्वले ६–३ ले जितेका थिए भने दोश्रो सेट अर्याशले ६–१ ले आफ्नो पक्षमा पारेका थिए ।
अन्तिम दिननै यू–१६ ब्वाइज सिंगल्समा साङ्गे रोकाया विजेता भए । साङ्गेले फाइनलमा असभसम्राट हाडाबाट वाक ओभर पाए ।
नेपाल टेनिस संघको स्वीकृतिमा भएको प्रतियोगितामा १ डबल्ससहित १५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । स्वस्तिका विष्ट यू–१६ र यू–१८ गर्ल्स सिंगल्समा च्याम्पियन बनिन् । यू–८ सिंगल्सको ब्वाइजमा सर्वज्ञजंग खत्री र गर्ल्समा भानी राजभण्डारी, यू–१८ ब्वाइज सिंगल्समा आयुशमान हजुर घले, यू–९ ब्वाइज सिंगल्समा टोनिस श्रेष्ठ, यू–१० गर्ल्स सिंगल्समा निम्ति कुँवर, यू–१२ ब्वाइज सिंगल्समा आरित मल्ल तथा ब्वाइज डबल्सम दर्सिल श्रेष्ठ र असभसम्राट हाडाको जोडी च्याम्पियन बनेका थिए । आरितसंगै सारा र सोनाम आयोजक फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीका हुन् ।
विजेतालाई नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल, प्रतियोगिता संयोजक कृष्णराज घले, टेनिसका नेपाल नम्बर वान प्रदीप खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पहिलो संस्करणको पाँचदिने प्रतियोगितामा १ सय ४७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
समापनका अवसरमा आयोजक एकेडेमीका सञ्चालक श्रवण कार्कीले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए ।
प्रतिक्रिया 4