News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल र बंगलादेशबीच वाणिज्य सचिव स्तरीय ८औं बैठक २९ र ३० पुसमा सम्पन्न भएको छ।
- बैठकमा व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण र प्राविधिक सहकार्यमा छलफल भएको छ।
- तीन महिनाभित्र ट्रेड नेगोसिएसन कमिटी बैठक नेपालमा आयोजना गर्ने सहमति भएको छ।
५ माघ, काठमाडौं । नेपाल र बंगलादेशबीच वाणिज्य सचिव स्तरीय ८औं बैठक सम्पन्न भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २९ र ३० पुसमा सम्पन्न बैठकमा ७औं बैठकमा भएका निर्णय तथा सहमति कार्यान्वयन प्रगति समीक्षा गरी आगामी सहकार्यका विषयमा दिशानिर्देश गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बैठकमा व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण र प्राविधिक सहकार्य सम्बन्धी विषयमा बृहत छलफल भएको थियो ।
बैठकमा नेपालको प्रतिनिधित्व मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र बंगलादेशको वाणिज्य मन्त्रालयका सचिव महबुबुर रहमानले गरेका थिए ।
बैठकमा नेपालले द्विपक्षीय व्यापार अभिवृद्धिका लागि भन्सार एवं गैरभन्सार शुल्क तथा अन्य अवरोध घटाउनुपर्ने वा हटाउनुपर्ने बताएको छ ।
द्विपक्षीय भुक्तानी व्यवस्था सहज, छरितो एवं भरपर्दो हुनुपर्ने समेत नेपालको भनाइ थियो । अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिका सन्दर्भमा क्षेत्रीय तथा बहुपक्षीय संयन्त्रमा सहकार्य बढाउनुपर्ने विषयमा समेत नेपालको जोड थियो ।
बंगलादेशको पक्षबाट पारवहन पूर्वाधार सुदृढीकरण, राजस्व प्रक्रिया सरलीकरण र व्यापार सहजीकरणमा प्रतिबद्धता व्यक्त गर्दै द्विपक्षीय आर्थिक साझेदारी विस्तारमा जोड दिएको बताइएको छ ।
बैठकमा अग्राधिकार व्यापार सम्झौता (पीटीए) को मस्यौदा, रुल्स अफ ओरिजिन (आरओओ) तथा वस्तु सूचीबारे छलफल तथा वार्ता गरी टुंगोमा पुग्न तीन महिनाभित्र ट्रेड नेगोसिएसन कमिटी बैठक नेपालमा आयोजना गर्ने सहमति भएको छ ।
दुवै पक्षबीच भन्सार प्रक्रिया सरलीकरण, भुक्तानी प्रणाली सुधार लगायतमा सहकार्य सहमति समेत भएको छ ।
प्रतिक्रिया 4