+
+
Shares

रास्वपाले बारामा टुंग्याउन सकेन उम्मेदवार

सुनिल गाउँले सुनिल गाउँले
२०८२ माघ ५ गते २२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले बाराका चार निर्वाचन क्षेत्रका लागि सोमबारसम्म उम्मेदवार चयन गर्न सकेको छैन।
  • बाराका जिल्ला सभापति चन्दन स्वर्णकारले आफूलाई उम्मेदवार चयन प्रक्रियामा सहभागी नगराइएको बताए।
  • बाराको निर्वाचन क्षेत्र नम्बर ४ मा माओवादी छाडेर रास्वपामा प्रवेश गरेका रहबर अन्सारीको सम्भावना बढी देखिएको छ।

५ माघ, बारा । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार अबेरसम्म पनि बाराका लागि उम्मेदवार चयन गर्न सकेको छैन । बारामा चारवटा निर्वाचन क्षेत्र छन् ।

रास्वपा बाराका जिल्ला सभापति चन्दन स्वर्णकारले आफूहरूलाई अहिलेसम्म पार्टीको तर्फबाट मनोनयन भएका उम्मेदवारको बारेमा जानकारी नआएको बताए ।

मंगलबार उम्मेदवारी दर्ताको समय रहेको भए पनि रास्वपाले उम्मेदवारको विषय टुंग्याउन नसक्दा जिल्लाका नेता–कार्यकर्ता अन्योलमा छन् ।

जिल्ला सभापति स्वर्णकारले आफूहरूलाई उम्मेदवार चयन प्रक्रियामा सहभागी नगराइएको बताए । ‘जिल्ला सभापति भए पनि उम्मेदवार चयन प्रक्रियामा मेरो कुनै सहभाागिता छैन,’ स्वर्णकारले भने ।

बाराको निर्वाचन क्षेत्र नम्बर ४ मा माओवादी छाडेर केही दिनअघि रास्वपा प्रवेश गरेका मधेश प्रदेश सभाका पूर्वसदस्य रहबर अन्सारीको सम्भावना बढी देखिएको छ । पार्टीका केन्द्रीय नेतासँग प्रतिनिधिसभाको टिकट प्राप्त गर्ने गरी सहमति गरेर उनले पार्टी परित्याग गरी रास्वपामा आएको जिल्लाका नेताहरू बताउँछन् ।

बारा ४ बाटै व्यवसायी इच्छाबहादुर वाग्ले, शिक्षक शालिकराम अधिकारीको पनि चर्चा छ ।

जिल्लाका अन्य तीन क्षेत्रमा आकांक्षी को–को छन् भन्ने नै आफूहरुलाई जानकारी नभएको रास्वपाका स्थानीय नेताहरूले बताएका छन् ।

‘उम्मेदवारी दर्ता प्रक्रियामा को–को सहभागी भए, कसलाई पार्टीले टिकट दिँदैछ भन्ने अहिलेसम्म केही आएको छैन,’ बारा ३ का क्षेत्रीय उपसभापति सुशील लम्सालले भने ।

रास्वपाका स्थानीय नेताहरूले पार्टीको उम्मेदवार चयन प्रक्रियाप्रतिको असहमति सामाजिक सञ्जालमा लेख्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?