६ माघ गुल्मी । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मीको दुई निर्वाचन क्षेत्रमा ४३ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी, नेकपा एमालेका प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुर्दशन बराल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रमुख दलसहित यस क्षेत्रमा कुल २१ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, एमालेका गोकर्ण बिष्ट, नेकपाका श्रीराम महत र रास्वपाका गोविन्द पन्थीले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपा, राष्ट्रिय जनमोर्चा लगायतका दल तथा स्वतन्त्र उम्मेदवारसमेत गरी यस क्षेत्रमा २२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत हरिहर पौडेलले बताए ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ जना मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर–१ मा १ लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर–२ मा १ लाख ७ हजार ३६३ जना मतदाता छन् । जिल्लाभरि १४५ वटा मतदान केन्द्र र २८४ वटा मतदान स्थल तोकिएका छन् ।
प्रतिक्रिया 4