+
+
Shares
स्थलगत :

डडेलधुराले देउवालाई धेरै दियो, उनले थोरै दिए

साढे ३ दशक डडेलधुराबाट प्रतिनिधित्व भएको शेरबहादुर देउवाको संसदीय राजनीति ढिलो गरी अस्तायो । उनले यसबीचमा जिल्लाबाट धेरै लिए, तर निकै कम मात्रै फर्काए ।

कृष्ण ज्ञवाली जनक विष्ट कृष्ण ज्ञवाली, जनक विष्ट
२०८२ माघ ६ गते २१:३३

६ माघ, डडेलधुरा बजार (डडेलधुरा) । राज्यको पहुँचबाट टाढा हुनुपरेको असन्तुष्टिमा सुदूरपश्चिमका जनताले व्यंग्य गर्ने एउटा वाक्य छ, ‘यहाँ त घाम पनि अस्ताउन मात्रै आउँछ ।’

मंगलबार बिहान काठमाडौंमा ६ बजेर ५४ मिनेटमा सूर्योदय हुँदा डडेलधुरामा ७ बजेर १८ मिनेटमा घाम झुल्कियो । पृथ्वीको देशान्तरको फरकले काठमाडौंमा सूर्योदय भएको करिब २०–२५ मिनेट ढिलो डडेलधुरामा घाम झुल्किन्छ ।

तर, शेरबहादुर देउवा यस पटकको चुनाव नलड्ने घोषणा गरेको सूचना डडेलधुरासम्म पुग्न त्यति ढिलो पनि भएन । सोमबार डडेलधुरा कांग्रेसका नेताहरूले मध्यराति नै देउवा चुनाव नलड्ने थाहा पाइसकेका थिए ।

मंगलबार बिहान ७ बजे डडेलधुरा बजारको अमरसिंह चोक पुग्दा कानमा फोन टाँसिरहेको अवस्थामा भेटिए, रघुवर भट्ट । नेपाली कांग्रेस डडेलधुराका पूर्वसभापति उनी देउवा नलड्ने निश्चित भएको तर कसले टिकट पायो, टुंगो नभएको अन्योल अवस्थामा देखिन्थे ।

रघुवर भट्ट

एकजना कार्यकर्ताले नैनसिंह महरले टिकट पाए भन्दै सामाजिक सञ्जालको कुरा सुनाए, अर्कोले उनलाई भने, ‘भानु देउवाको भन्ने सुनियो ।’

रघुवर दुवै जनासँग जंगिए । ‘बैठक नै नबसी टिकट हुन्छ ?,’ उनले ती कार्यकर्तालाई भने, ‘भानुले (भानु देउवा, शेरबहादुर देउवाका स्वकीय सचिव) ले मेरो फोन उठाइरहेको छैन, ऊसँग कुरा हुन पायो भने बल्ल थाहा हुन्छ ।’

‘जस दिएनन्, अपजस बोकिरहे’

अलि छेउपट्टि बसेर गफ सुनिरहेका रामबहादुर विष्ट पनि रघुवरकै छेउमा आइपुगे । ‘सुदूरपश्चिमको नेता भनेकै शेरबहादुर देउवा हो । अब यहाँ त्यस्तो मान्छे जन्मँदैन होला,’ करिब ३४ वर्षमा देउवाले संसदीय यात्रा बिसाएको प्रसंग उठ्नासाथ उनीहरूले एकै सासमा भने, ‘त्यही भएर यहाँ सबैले उहाँलाई नै भोट दिएर जिताएर पठाए ।’

रघुवरले भने, ‘अब सुदूरपश्चिमलाई उहाँको अभाव थाहा हुन्छ । उहाँ आँउदा के थियो, अहिले सुदूरपश्चिमको चोला कसरी फेरियो, हामीलाई थाहा छ ।’

उनका अनुसार, २०४८ सालसम्म सुदूरपश्चिमबाट पूर्व जानेहरूले कर्णाली नदीमा फेरी तर्नुपर्थ्यो । २०५१ सालमा पुल बन्यो । डडेलधुराका मान्छेले अन्यत्र फोन गर्न अघिल्लै दिन बुथमा नाम टिपाउनुपर्थ्यो ।

‘युवाहरूमा अलिअलि असन्तुष्टि त हुन्छ नि, तर पुरानाले केही पनि गरेनन् भन्न मिल्दैन,’ रघुवरले भने, ‘डडेलधुरामा कत्तिको विकास भयो भन्न अहिले हेरेर मात्रै पुग्दैन, हिजो के थियो भन्ने पनि बुझ्नुपर्छ ।’

केहीबेरमा उनको मोबाइलमा फोन आयो, ‘नैनसिंहले नै टिकट पाए रे ।’ त्यसपछि कोही कार्यकर्ता सल्बलाउन थाले र कोही लाखापाखा लागे ।

डडेलधुरा सदरमुकाम डडेलधुरा बजार दुई भागमा बाँडिएको छ । एउटा भाग बागबजार हो भने अर्को पाखोमा तुफानडाँडा छ ।

रामबहादुर विष्ट

बागबजारबाट १०/१५ मिनेट हिँडेपछि पुगिन्छ, तुफान बजार । त्यहाँ भेटिएका गोविन्दबल्लभ पन्तले कांग्रेसबाट देउवाको साटो नैनसिंहले टिकट पाएको थाहा पाइसकेका रहेछन् । उनले तत्काल आफ्नो राय सुनाइहाले, ‘शेरबहादुर दाइ नलडेको ठिकै हो, स्वास्थ्यले पनि विश्राम लिनुपर्छ भनेको थियो । देशभर नयाँ पार्टी र जवान आउनुपर्छ ।’

डडेलधुरा बजारकै बासिन्दा उनले सहजै आफ्नो नाम र परिचय खुलाए पनि राजनीतिक पृष्ठभूमि बताउन चाहेनन् । बरु देउवाको पकडबारे आफ्नो बुझाइ बताउन थाले, ‘हामीले सानैदेखि शेरबहादुर देउवाको नाम सुन्यौं । उहाँको त्यो छविले सुदूरपश्चिममा असर पारेको हो । यहाँ राजनीति गर्नेहरूले उहाँलाई खम्बा नै मान्छन् ।’

त्यसपछि उनले देशव्यापी फैलिएको असन्तुष्टि भूगोल र परिवेशअनुसार डडेलधुरामा पनि पुगेको बताए । व्यवस्थित सदरमुकाम छैन, अस्तव्यस्त र भद्रगोल छ । गाउँको हालत उस्तै छ । पाँच पटक प्रधानमन्त्री भएको व्यक्तिको गृहजिल्ला र अरूमा कुनै फरक छैन भन्दै उनी आक्रोशित सुनिए ।

अमरगढी नगरपालिकाका मेयरले खेप्नुपर्ने खप्की देउवामाथि खन्याइसकेपछि उनले भने, ‘प्रधानमन्त्री जो भए पनि उसले देशभरको समस्या र मुद्दा हेर्ने हो । अरू प्रधानमन्त्रीले कम्तीमा आफ्नो जिल्ला हेरे । शेरबहादुरले त डडेलधुरासमेत हेर्न सकेनन् ।’

गोविन्दबल्लभ पन्त

२०७९ सालसम्म एमालेमा मतदान गरेका र संगठित कार्यकर्तासमेत रहेका उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा संगठित भइसकेका रहेछन् । ‘जेनजी आन्दोलन भयो, नानीबाबुहरू मरे, मलाई त्यहाँ बसिरहन मन पनि लागेन,’ अन्तिममा आफ्नो राजनीतिक परिचय खोल्दै उनले थपे, ‘देशभर नयाँ र जवान आउनुपर्छ है ।’

तुफानडाँडामा भेटिएका एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाही शेरबहादुर देउवा नलड्ने भएपछि परिस्थिति फरक हुन्छ भन्दै उत्साहित थिए । ‘नयाँ अनुहार र नयाँ पुस्ताको भिडन्त रोचक हुने’ भन्दै उनी पनि देउवाको ३५ वर्षे पकडको समीक्षा गर्न तत्पर भए ।

शाहीका अनुसार, ‘सुदूरपश्चिमबाट त्यति माथि जाने अरू नेता छैनन्’ भन्ने मनोविज्ञानका साथ मतदातामाझ विगतमा देउवाको स्वीकार्यता कायम थियो । तर देउवाले जिल्लालाई नहेर्ने आदतका कारण पार्टीकै नेता–कार्यकर्तासमेत भित्रभित्रै असन्तुष्ट बनेको उनले दाबी गरे ।

डडेलधुराभन्दा बैतडी राम्रो र व्यवस्थित बनेको भन्दै उनले पञ्चायतकालमा बनेका कतिपय पूर्वाधार निर्माणको जस देउवाले पाइरहेको दाबी गरे । पञ्चायतकालमै डोटी जाने सडक बनिसकेको भन्दै उनले कतिपय दातृ निकायले सञ्चालन गरेका परियोजनाको जससमेत राष्ट्रिय नेताहरूले लिन खोजेको भन्दै व्यंग्य गरे ।

गजेन्द्र शाही

डडेलधुराका प्राय: कांग्रेसीले शेरबहादुर देउवालाई ‘बड्डा’ भनेर स्नेह गरे पनि आरजु देउवाको नाम सुन्नासाथ ‘भाउजु’ भन्दै नाक खुम्च्याउँछन् । देउवाले गाउँबाट जाने कैयौंलाई सहयोग गरेका रहेछन् । कतिपयको जागिर र बन्दोबस्ती पनि भएको रहेछ । एक कार्यकर्ताले भने, ‘भाउजुले गर्दा शेरबहादुर दाइ र हाम्रो दुरी बढ्न थाल्यो । त्यसरी उनलाई नबिगारेको भए हुने ।’

मनोनयन दर्ताको दिन सुदूरपश्चिमकी सांसद गीतादेवी माल डडेलधुरा पुगेकी थिइन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र अरू वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेकोमा उत्साहित देखिएकी उनले भनिन्, ‘जेनजी आन्दोलनको माग स्वीकार गरेर हामीले नयाँ उम्मेदवार दिएका छौं ।’

डडेलधुराबाट शेरबहादुर देउवाले निरन्तर चुनाव जिते पनि जिल्लाको असन्तुष्ट मत विभिन्न समयमा प्रकट भएको भन्दै उनले २०६४ सालमा खगराज भट्ट र २०७९ सालमा सागर ढकालले पाएको मतको उदाहरण दिइन् । उनले भनिन्, ‘देउवाको विपक्षमा रहेको असन्तुष्ट मतले नयाँ अनुहार मागिरहेको थियो । हामी नयाँ उम्मेदवार उठाएर त्यो मत क्यास गर्छौं ।’

विगतको आँकडा

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछिका तीन दशक डडेलधुरामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको एकछत्र राज चल्यो । पछिल्लो दशक त निर्वाचित हुन उनले ज्यादा मिहिनेत पनि गर्नुपरेन । निर्वाचन प्रचारप्रसारका बेलामा एकाध पटक डडेलधुरा पुग्थे, कार्यकर्तालाई सदरमुकाम बोलाउँथे र भेट्थे, अनि फर्कन्थे ।

काठमाडौं बुढानीलकण्ठका स्थायी बासिन्दा भए पनि देउवाले मतदाता नामावली कहिल्यै काठमाडौंमा सारेनन् । चुनावको बेला हेलिकप्टर नै चढेर भए पनि गन्यापधुरा पुगेरै मतदान गरे ।

२०४८ सालमा साढे २४ हजार मतसहित निर्वाचित भएका देउवा २०५१ सालमा २० हजार मत ल्याएर निर्वाचित भए । २०५६ सालमा २८ हजार मत पाए ।

दश वर्षे लामो सशस्त्र युद्धको अन्त्यपछि २०६४ सालको संविधानसभा निर्वाचनमा देशव्यापी रूपमा माओवादीको पक्षमा लहर चलेको थियो । सुदूरपश्चिमबाट प्रत्यक्ष निर्वाचित हुने देउवा मात्रै थिए, उनले माओवादीका खगराज भट्ट झिनो अर्थात् करिब १४ सय मतले पराजित गरेका थिए ।

त्यतिबेला देउवाले पाएको २० हजार ५२९ उनको सबैभन्दा कम मत हो । त्यतिबेला भट्टले १९ हजार मत पाएका थिए । २०७० सालको अर्को संविधानसभा निर्वाचनमा देउवाले साढे ३ हजार मत बढाए । र, भट्ट साढे १२ हजार मतमा सीमित भए । त्यतिबेला एमाले उम्मेदवार ताराप्रसाद जोशीले करिब ७ हजार २०० मत पाएका थिए ।

२०७४ सालको निर्वाचन कांग्रेसका लागि देशव्यापी चुनौती थियो, किनभने एमाले र माओवादी वाम गठबन्धनसहित कांग्रेससँग प्रतिस्पर्धामा थिए । त्यतिबेला तिनै भट्टले करिब साढे २१ हजार मत पाए, जब कि देउवा साढे २८ हजार फराकिलो मत सहित निर्वाचित भए ।

२०७९ सालको निर्वाचनमा भट्ट प्रतिस्पर्धामा देखिएनन् । बरु स्वतन्त्र उम्मेद्वार सागर ढकालले १३ हजार मत ल्याए । नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले त्यतिबेला ७ हजार ५०० मत पाएका थिए ।

देउवालाई फापेको डडेलधुरा

२००३ सालमा जन्मिएका देउवा नेविसंघको राजनीतिबाट उदाएका हुन् । २०४६ सालको जनआन्दोलनपछि उनले राजनीतिमा एउटा उचाइ लिए । २०४८ सालमा डडेलधुराबाट निर्वाचित उनी २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।

नेपालमा पार्टी विभाजित गर्ने नेताहरूको राजनीतिक करिअर कि ओरालो लाग्ने गरेको छ, कि असाध्यै कष्टकर बनेको छ । वामदेव गौतमदेखि सीपी मैनाली र माधवकुमार नेपाल त्यसका उदाहरण हुन् ।

तर, देउवा भने अपवाद मात्रै रहेनन् विभाजित नेपाली कांग्रेस (प्रजातान्त्रिक) समूहको सभापति भएर फेरि मूल पार्टी नेपाली कांग्रेसको सभापति नै बने । नेपाली कांग्रेसमा उनले झन्डै एक दशक नेतृत्व गरे ।

काठमाडौंमा सामाजिक सञ्जालभरि आरजु राणालाई संकेत गर्दै ‘भाउजुको टिकट पसल बन्द’ भनेर मेम र कार्टुनहरू बनेका थिए । डडेलधुरामा पनि त्यो असन्तुष्टि प्रकट गर्नेहरू बर्गेल्ती भेटिए । फरक यत्ति हो, काठमाडौंमा शेरबहादुर र आरजुको एकसाथ आलोचना हुन्छ ।

डडेलधुरामा अझै पनि ‘बड्डा’ प्रति गहिरो सहानुभूतिसहित उनी परिवारवादका कारण बिग्रे भन्नेहरू प्रशस्त भेटिए ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?