News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उद्योगी र व्यवसायीले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन्।
- नेपाली कांग्रेसका तर्फबाट विनोद चौधरी नवलपरासी-१ बाट मनोनयन दर्ता गराएका छन् र उनले राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा रहेको बताए।
- नेकपा एमाले, रास्वपा, कांग्रेस लगायतका दलले विभिन्न क्षेत्रमा व्यवसायीलाई टिकट दिएर प्रतिनिधित्व सुनिश्चित गरेका छन्।
६ माघ, काठमाडौं । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ । यस क्रममा उद्योग-व्यवसायसँग सम्बन्धित क्षेत्रको समेत उत्साहजनक प्रतिनिधित्व रहेको छ ।
राजनीतिक दलहरूले आफ्ना उम्मेदवारका रूपमा उद्योगी र व्यवसायीलाई टिकट दिएका छन् । नेपालका एकमात्र डलर अर्बपति उद्योगपति विनोद चौधरीले नेपाली कांग्रेसका तर्फबाट नवलपरासी-१ बाट मनोनयन दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा समेत उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनले मनोनयन दर्ता गर्दै आफू राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा रहेको बताएका छन् । सोही भेगबाट निर्वाचित भएको तीन वर्षमा समृद्ध नवलपरासीका लागि फाउन्डेसन तयार भएको भन्दै उनले यो अभियानलाई पूर्णता दिन उम्मेदवारी दिएको बताएका छन् ।
कांग्रेसले रसुवामा टिकट दिएका मोहन आचार्य समेत व्यवसाय क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । उनी निर्माण व्यवसायमा आबद्ध छन् । आचार्य गत निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

कांग्रेसले धादिङ-२ मा उम्मेदवार बनाएका रमेशप्रसाद धमला समेत पेसाले व्यवसायी हुन् । उनी पर्यटन व्यवसायमा आबद्ध छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष उनी पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन् ।
कांग्रेसको मोरङ-३ का उम्मेदवार सुनिल शर्मा स्वास्थ्य व्यवसायी हुन् । उनको मेडिकल व्यवसाय छ । काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका उनी सञ्चालक हुन् ।
कांग्रेसका स्याङ्जा क्षेत्र नम्बर १ का उम्मेदवार भरतराज ढकाल मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष तथा पूर्वप्रमसख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी मुक्तिनाथ कृषि कम्पनीका सञ्चालक समेत हुन् । सोही क्षेत्रका एमालेका उम्मेदवार मीनप्रसाद गुरुङ समेत मुक्तिनाथ विकास बैंककै पूर्वअध्यक्ष हुन् ।

सोही क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दर्ता गरेका धनञ्जय रेग्मीसमेत व्यवसाय क्षेत्रबाटै प्रतिनिधित्व गर्छन् । उनी नेपाल पर्यटन बोर्डका पूर्वसीइओ हुन् । सोही पार्टीबाट काठमाडौं-९ मा उम्मेदवारी दर्ता गरेका डीपी अर्यालको पृष्ठभूमि पनि व्यवसाय हो । उनी म्यानपावर तथा पर्यटन व्यवसायमा लामो समयदेखि सक्रिय छन् ।

त्यस्तै यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले रुपन्देही-२ मा कांग्रेसबाट टिकट पाएका छन् । उनी सोना प्याकेजिङ तथा होटल स्याफ्रोनका पनि अध्यक्ष हुन् ।

पर्सा क्षेत्र नम्बर-४ बाट उद्योगी अनिलकुमार रुँगटा कांग्रेसबाट उम्मेदवार बनेका छन् । उनी जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन्, जुन खासगरी स्टिल तथा पाइप उत्पादनमा संलग्न छ ।

व्यवसायी वीरेन्द्रप्रसाद कनौडियाले नेकपा एमालेबाट कपिलवस्तु-३ मा टिकट पाएका छन् । उनी चिनी तथा बैंकिङ व्यवसायमा आबद्ध छन् । विगतमा कांग्रेसको राजनीतिमा रहेका कनौडिया एमाले प्रवेश गरेर टिकट लिएका हुन् ।
यस्तै म्यानपावर व्यवसायी एलपी सावाँ लिम्बूले झापा-४ बाट उम्मेदवार बनेका छन् । यसअघि सोही क्षेत्रबाट दुई पटक निर्वाचित साँवालाई फेरि पनि सोही क्षेत्रमा एमालेले टिकट दिएको हो । सावाँ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हुन् ।
संघका अर्का पूर्वअध्यक्ष तिलक रानाभाट कांग्रेसबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार बनेका छन् । उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् ।
दाङ-२ बाट कांग्रेस उम्मेदवार किरणकिशोर घिमिरे पनि म्यानपावर व्यवसायी हुन् ।
हुम्लामा नेकपाबाट उम्मेदवार बनेका धनबहादुर बुढासमेत पेसाले व्यवसायी हुन् । उनी निर्माण व्यवसायी हुन् । उनी यसअघि २०७०, २०७४ र २०७९ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । यस क्षेत्रमा काग्रेसबाट भिड्दै गरेका कर्णबहादुर बुढा उनकै सहोदर भाइ हुन् । उनी पनि व्यवसायी हुन् ।

यस्तैगरी नवलपुर-१ बाट एमाले उम्मेदवार बनेका भगिरथ सापकोटा सोही पार्टीको भ्रातृ संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष हुन् ।
दोलखाबाट एमाले उम्मेदवार बनेका पार्वत गुरुङ जलविद्युत् तथा वन पैदावारसँग सम्बन्धित क्षेत्रका व्यवसायी हुन् । उनी विगतदेखि नै दोलखाबाट निर्वाचित हुँदै आएका छन् ।
जनमत पार्टीबाट सिरहा-४ मा निर्वाचनमा होमिएका वीरेन्द्रप्रसाद महतो समेत व्यावसायिक पृष्ठभूमिका नेता हुन् । उनी यसअघि जसपा नेपालमा थिए । उनी माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष हुन् । उनको परिवारबाट शिक्षा, स्वास्थ्य, बैंकसहित क्षेत्रमा लगानी छ । उनी व्यवसायी डा. उपेन्द्र महतोका भाइसमेत हुन् ।

रास्वपाबाटै बारा क्षेत्र नम्बर ३ मा खल्तीका सहसंस्थापक अरविन्द साहले उम्मेदवारी दर्ता गराएका छन् । उनले परिणाममुखी राजनीति, ग्रामीण विकास र डिजिटल रूपान्तरण प्राथमिकता हुने समेत बताए ।

रास्वपाबाटै उदयपुर क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पारसमणि गेलाल व्यावसायिक क्षेत्रबाटै प्रतिनिधित्व गर्छन् । उनी पार्टीमा उद्योग विभाग सचिवका रूपमा समेत कार्यरत छन् ।
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री किसान श्रेष्ठसमेत उद्योग-व्यवसायबाट प्रतिनिधित्व गर्ने नेता हुन् । उनी पूर्व म्यानपावर व्यवसायी हुन् । साथै, होटल र घरजग्गामा समेत उनको लगानी छ ।

काठमाडौं-१ मा स्वतन्त्र उम्मेदवारका रूपमा राइड सेयरिङ एप पठाओका सञ्चालक असिममानसिंह बस्नेत निर्वाचनमा होमिएका छन् । उनले आज उम्मेदवारी दर्ता गराएका छन् ।
पूर्वबैंकर तथा डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष झपट बोहोरा एमालेबाट अछाम-१ को उम्मेदवार बनेका छन् । बैंक तथा अटो लगायत व्यवसायमा आबद्ध बोहोरा सदूरपश्चिम प्रदेशका पूर्व अर्थमन्त्रीसमेत हुन् ।

कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाबाट उम्मेदवार बनेका आनन्दबहादुर चन्द शिक्षा क्षेत्रमा आबद्ध छन् । उनी चितवनको बोस्टन इन्टरनेसनल कलेज तथा अंकुरम स्कुलका अध्यक्ष हुन् ।

काठ व्यवसायी तथा पूर्वमन्त्री प्रेम आले पनि कैलाली क्षेत्र नम्बर ५ बाटै उम्मेदवार बनेका छन् ।

नेकपाबाट काठमाडौं-८ को उम्मेदवार बनेका सुमन सायमी मिठाई पसल सञ्चालक हुन् । उनी नेपालकै पुरानो मध्येको मिठाई पसल कालीमाटीस्थित ‘स्विट केभ’ का सञ्चालक हुन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँर कांग्रेसबाट कैलाली-२ को उम्मेदवार बनेका छन् । उनी लामो समयदेखि यातायात व्यवसायमा संलग्न छन् । कांग्रेसले स्याङ्जा-२ मा गण्डकी यातायात बस व्यवसायी समितिका पूर्वअध्यक्ष भागवतप्रकाश मल्ललाई उठाएको छ ।
त्यस्तै कांग्रेसले सोलुखुम्बुबाट टिकट दिएका प्रकाशसिंह कार्की कार्गो व्यवसायी हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वसदस्य हुन् ।
सेयर कारोबारी हरि ढकाल यस पटक पनि रास्वपाबाट चितवन-१ मा उम्मेदवार बनेका छन् । यसअघि पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
तथ्यांक सम्बन्धी व्यवसाय गर्ने मनिष झा धनुषा-३ बाट उम्मेदवारी दिएका छन् । रास्वपा प्रवक्ता समेत रहेका झा फ्याक्ट्स नेपालका संस्थापक हुन् ।
यसबाहेक अन्य धेरै व्यवसायीले चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया 4