७ माघ, जनकपुरधाम । मुखियापट्टी मुसहरनियाँ वडा नम्बर ६ कि ४५ वर्षीया मिनादेवी रामकी साढे २ वर्षीया नातिनी आरोही कुमारी गत बर्खामा घरैछेउको नहरमा डुबिन् । एक छिनमात्रै घरपरिवारले नदेखेको भए उनको अवस्था के हुन्थ्यो अहिले पनि सम्झिँदा मिनादेवीलाई डर लाग्छ ।
‘धन्न हामीले देख्यौ र नातिनीलाई जोगाउन सक्यौं,’ मिनादेवीले भनिन् । आगामी फागुन २१ गतेको निर्वाचनका लागि मंगलबार देशैभरका उम्मेदवारहरूले मनोनयन दर्ता गरिरहेका बेला अनलाइनखबरको टिम मुसहरनियाँ पुग्दा मिनादेवी आफ्ना छिमेकीहरूसँग कुरा गरेर बसिरहेकी थिइन् । हामीले चुनावी माहौलबारे बुझ्न गाउँमा आएको भनेर सुनाउने बित्तिकै उनले झटपट उही नहरको कुरा निकालिन् ।
मिनादेवीले गत वर्षको बर्खामा बालबाल बाँचेकी नातिनीको कुरा गरिन् । उनले हामीले भनेअनुसार, २०७९ को निर्वाचनमा पनि भोट माग्न आएका उम्मेदवारहरूलाई उनीहरूले बस्तीको छेउ बाट जाने नहर खुल्ला नराखिदिन आग्रह गरेका थिए ।
सबै उम्मेदवारले नहर बनाइदिने बाचा पनि गरेका थिए । सुनिएका बाचाहरूमध्ये विश्वासिलो लागेर उनीहरुले एमालेका उम्मेदवार जुली महतोलाई भोट दिए । उनले जितिन् पनि । तर त्यसपछि फेरि गाउँमा फर्किएर गइनन् । नहर बनेन । समस्या जहीँको त्यहीँ रह्यो ।
मधेशमा विकास निर्माणका नाममा जथाभावी माटो तथा बालुवा झिकेर छाडेको खाल्डोमा जमेको पानी, माछा पोखरी लगायतमा डुबेर बालबालिकाको ज्यान जाने क्रम बढ्दो छ । मधेशमा गत आर्थिक वर्ष २०८१/०८२ मा डुबेर २७२ जनाको ज्यान गएको र तीमध्ये १७० जना बालबालिका रहेको प्रहरीले जनाएको छ । डुबेर मृत्यु हुनेमध्ये १४ वर्ष उमेरसम्मका १७० जना बालबालिका रहेको प्रहरीको तथ्यांक छ ।
जसमा सबभन्दा बढी बालबालिका रौतहटमा ३३ जनाको डुबेर मृत्यु भएको छ । धनुषामा ३० जना, महोत्तरीमा २८ जना, सप्तरीमा २३ जना, सर्लाहीमा २१ जना, सिरहामा २० जना, पर्सामा १० जना र बारामा ५ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा मधेशमा डुबेर १९२ जनाको मृत्यु भएकोमा ११० जना बालबालिका थिए । अघिल्लो वर्षको तथ्यांक तुलनामा पछिल्लो आर्थिक वर्षको तथ्यांकमा ६० जना बढी बालबालिकाको ज्यान गएको छ ।
यही संख्याहरूमा थपिन सक्ने मध्ये एउटा नाम थियो मिनादेवीकी साढे २ वर्षीया नातिनी आरोही देवी । त्यसैले उनी र उनका छिमेकीले बनाउनुपर्ने माग गरेका थिए । तर मागको सुनुवाइ भएन समस्या जहाँको त्यही रह्यो । मिनादेवीहरू घरका ससाना बालबालिकालाई एकछिन पनि छोड्न नसक्ने अवस्थामा पुगे ।

आर्थिक वर्ष २०७९/०८० मा १२४ जनाको मृत्यु हुँदा ८२ जना बालबालिका थिए । यी तथ्यांकले मधेशमा बर्सेनि बालबालिकाको डुबेर हुने मृत्युको ग्राफ बढ्दै गएको देखिन्छ ।बालबालिकाको डुबेर मृत्यु हुने क्रम बढ्नुमा गाउँगाउँका माछा पोखरी, नुहाउने, लुगा धुने पोखरी, विकास निर्माणका लागि खनिएका खाल्डा र निजी जग्गाबाट माटो-ग्राभेल बेचेर छाडिएका खाल्डो प्रमुख कारण हुन् ।
चुनाव जितेर गएका नेताहरूलाई पाँच वर्षमा एक न एक दिन त भेटिएला र आफ्ना कुरा सुनाउला भनेर बसेका थिए । तर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि निर्वाचनको मिति २ वर्षअघि सर्यो । फेरि नेताहरू भोट माग्न र आश्वासन बाँड्न गाउँगाउँ-बस्ती बस्ती पस्ने सिजन सुरू भयो । तर मिनादेवीहरूको माग फेरि पनि उही छ- नहर बनाइदिनुपर्छ, हाम्रा बालबालिका सुरक्षित हुनुपर्छ । ‘हामीलाई धेरै कुरा चाहिँदैन, नहर बनाइदिए हुन्छ,’ स्थानीय निर्मलादेवी रामले भनिन्, ‘यत्ति पनि गरिदिन नसक्ने नेताहरू भोट माग्न नआए पनि हुन्छ ।’

****
जनकपुर उपमहानरपालिका नगराइन-३ का ५० वर्षीय रामशरण साहले चोकमा पसल चलाएर बस्न थालेको ३० वर्षभन्दा धेरै भयो । उनले त्यही बस्दा बस्दै पाँचवटा चुनाव त आँखैले देखेका छन् । पाँचपटक नै मतदाताका रूपमा निर्वाचनमा सहभागी पनि भएका छन् । पछिल्लो २० वर्षमा उनले गाउँमा देखेको जम्माजम्मी एउटै परिवर्तन हो बाटोको विस्तार ।
‘मैले हेर्दाहेर्दै मेनरोड ६ लेनको बन्यो, गाउँगाउँसम्म ढलान बाटो पनि पुग्यो । तर अरू केही विकास हुन सकेन,’ उनले भने, ‘यहाँको बाटो ठूलो भयो, घर ठूला भए तर मान्छेको सोच सानै छ । नेता होउन कि जनता ।’

उनले काम गर्ने र नगर्ने नेतालाई अब जनताले पनि चिन्नुपर्ने बताए । पछिल्लो जनगणना अनुसार धनुषाको साक्षरतादर ६५ प्रतिशतमात्रै छ । शिक्षा र स्वास्थ्यका हिसाबले मात्रै होइन, कहिलेकाँही सांस्कृतिक र सामाजिक हिसाबले पनि धनुषा क्षेत्र नम्बर ३ संवेदनशिल मानिन्छ । त्यसैले धनुषाको संवेदनशीलता बुझेका नेता नै यहाँको प्रतिनिधि हुनुपर्ने स्थानीयहरूको भनाइ छ ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रूपैठा कि सजरा खातुन आफ्नै पसलमा बसिरहेकी थिइन् । गत कात्तिक अन्तिम साता धार्मिक विवादमा उनको पसल जलेको थियो । जलेको पसल रङरोगन गरेर साजराले नयाँजस्तै त बनाएकी छिन् तर उनको मन भने भारी नै छ ।
उनलाई बेलाबेलामा भइरहने यस्ता धार्मिक विवादहरूमा नेताहरूले समन्वयकारी भूमिका नखेलेको चित्त दुखेको छ । ‘हामी मिलेर बस्न चाहन्छौं, बेला बेलामा विवाद हुन्छ,’ उनले भनिन्, ‘यस्ता विवाद समाधान गर्न नेताहरूले चासो नै लिएनन । अब जितेर आउने नेताहरूले त्यसो नगरून् । ’
नयाँ पुराना गरेर ४१ जना मैदानमा
मंगलबार दिउँसो १ बजेतिर नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधि जसै गाडीबाट ओर्लिएर पूजापाठका लागि राममन्दिर प्रवेश गरे, उम्मेदवारी दर्ता हिँडेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनिष झाको टोली पनि ठ्याक्कै त्यही पुग्यो । झा नाराबाजी गर्दै निर्वाचन आयोगतिर अघि बढे निधि चुपचाप मन्दिर प्रवेश गरे । आगामी फागुन २१ गते धनुषा-३ मा हुने निर्वाचनका लागि निधि सबैभन्दा पुराना र झा नयाँ हुन् । निधि र झा सहित धनुषा ३ मा ४१ जनाले उम्मेदवारी दिएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नं ३ मा २०७० को संविधानसभा निर्वाचन जस्तै दुई पुरानै प्रतिस्पर्धी अनुहारको उम्मेदवारी परेको छ । त्यसमा नयाँ दलका नयाँ अनुहारको उम्मेदवारीले यहाँको निर्वाचनमा थप रोचक बनाएको छ ।
यस क्षेत्रमा नेपाली कांग्रेसबाट विमलेन्द्र निधि र नेकपा एमालेबाट जुली महतोले उम्मेदवारी दर्ता गराएका छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा निधिले १ हजार ४९२ मतअन्तरले चुनाव जितेका थिए ।

निधि १५ हजार ३१ मत पाउँदा जुली महतो १३ हजार ५३९ मत पाएकी थिइन् । यही क्षेत्रमा यी दुईसहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा, जसपा नेपालबाट परमेश्वर साह, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट राजिवकुमार झा, श्रम संस्कृति पार्टीबाट सदाम हुसेन लगायतले उम्मेदवार दर्ता गराएका हुन् ।
रास्वपाका प्रवक्ता समेत रहेका झाको उम्मेदवारी र जनकपुरधाममै भएको रास्वपाको परिवर्तनको पहिलो उदघोष सभामा बालेनको पहिले सम्बोधनले पूराना र नयाँ अनुहारबीचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।

निधिको गृहनगर पर्ने यस क्षेत्रमा २०५६ यता उनी २०७९ बाहेक सबै चुनावमा प्रत्यक्ष उम्मेदवार बने । तर २०६४ पहिलो र २०७० को दोस्रो संविधानसभा चुनाव उनी जित्न सफल भए ।
तर २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोसँग २ हजार ९०३ मतान्तरले पराजित भए । महतो ३० हजार ७५० मत प्राप्त गरेका थिए भने निधि २७ हजार ८४७ मतमा सिमित भएका थिए ।
पराजितको भयले निधि २०७९ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा सांसद पद सुरक्षित पारे । यो चुनवामा एमालेका जुली महतो पाँच दलीय गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता अनिल झालाई ९ हजास ७०२ मत अन्तरले पराजित गरी विजयी भइन् ।

महतो ३३ हजार ३८८ मतले निर्वाचित हुँदा झा २३ हजार ६८६ मत पाएका थिए । तेस्रोमा जनमतका उम्मेदवार शम्भु साहले ७ हजार ३७४ मत पाएका थिए भने बाँकी उम्मेदवारहरुले ७ सय मत कटाउनै सकेनन् ।
यस क्षेत्रबाट २०४८ मा राप्रपा नेपालका कृष्णचरण श्रेष्ठ र २०५१ मा नेकपा एमालेका रामअशिष महासेठले जितेका थिए । निधिले पहिलोपटक प्रतिष्पर्धा गर्दा २०५६ को संसदीय निर्वाचनमा राप्रपाका कृष्णचरण श्रेष्ठसँग पराजित हुन पुगे ।
२०६४ को संविधानसभा निर्वाचनमा निधि एमालेका उम्मेदवार हरिदेव मण्डललाई ५ हजार ६४६ मतले पराजित गर्दै विजयी भए । निधि १५ हजार ५८२ मतले विजयी हुँदा मण्डल ९ हजार ९३६ मत पाएका थिए ।
धनुषा क्षेत्र नम्बर ३ मा जनकपुरधाम उपमहानगरपालिकाको १७ सहित जम्मा ३८ वटा वडा पर्छन् । जनकपुरधाम उपमहानगरपालिकाको २५ वटा वडा मध्ये १७ वटा, नगराइन नगरपालिकाको सबै ९ वटा वडा, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको सबै ६ वटा वडा, धनौजी गाउँपालिकाको सबै पाँचवटा वडा र विदेह नगरपालिकाको एउटा वडा पर्छ ।



फोटो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4