नेतृत्व र विचारमा जाम हुनु कुनै पनि राजनीतिक दलका लागि असामान्य होइन तर नेपाली कांग्रेसमा यो जाम वर्षौंदेखि जमेको थियो, जसले पार्टीलाई व्यक्तिकेन्द्रित, गुटगत र निर्णयमा केंद्रीकृत बनाएको थियो । बहसको अवसर सीमित, आलोचना दबाइने र पुस्तान्तरण रोकिएको यस्तो संरचनामा लोकतन्त्रको मसिहा दाबी गर्ने कांग्रेस पार्टीभित्रको लोकतन्त्र र दिगोपन दुवै कमजोर थियो ।
यस्तो जामभित्र गगन थापा र विश्वप्रकाश शर्माले उठाएको जोखिम अत्यन्तै महत्वपूर्ण बन्न पुगेको छ । उनीहरूले नेतृत्व हस्तान्तरण, विचार र नीति निर्माणमा नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्न भनेर पहल लिए, यो केवल पार्टीको आन्तरिक कलहमात्र होइन, नेपाली कांग्रेसको भविष्य र नेपालको लोकतान्त्रिक संरचनासँग जोडिएको ऐतिहासिक कदम हो ।
तर, लोकतन्त्रको इतिहास सिधा र सहज हुँदैन । जहाँ–जहाँ लोकतान्त्रिक अभ्यास कमजोर हुन्छ, त्यहाँ जाम जम्छ, र त्यो जाम जबर्जस्ती खोल्ने प्रयास गरिन्छ, त्यहीँ भ्वाङ देखिन्छ । नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएको संकट र विभाजन यही प्रक्रियाको प्रतिफल हो । यो घटना कुनै आकस्मिक दुर्घटना होइन, बरु पार्टीभित्र वर्षौंदेखि जमेको नेतृत्वगत, वैचारिक र संरचनात्मक जाम खुल्दा देखिएको गहिरो भ्वाङ हो ।
नेपाली कांग्रेस लामो समयसम्म लोकतान्त्रिक संघर्षको प्रतीक रह्यो । निरंकुशताविरुद्धको लडाइँ, बहुदलीय प्रजातन्त्रको स्थापना र संवैधानिक व्यवस्थाको विकासमा यसको योगदान ऐतिहासिक छ । तर, इतिहासले दिएको योगदान आफैंमा स्थायी राजनीतिक पुँजी हुँदैन । समयसँग सम्वाद गर्न नसक्ने, आत्मसमीक्षा गर्न नचाहने र परिवर्तनलाई खतरा ठान्ने प्रवृत्तिले कुनै पनि संस्थालाई अन्तत: जड र कमजोर बनाउँछ । कांग्रेसको वर्तमान अवस्था यही यथार्थको प्रतिविम्ब हो ।
कांग्रेसभित्रको लोकतन्त्र कमजोर एकाएक भएको होइन । नेतृत्व हस्तान्तरण लामो समयसम्म अवरुद्ध रह्यो । पार्टीभित्र विचार, नीति र संगठनात्मक सुधारबारे खुला बहस सीमित हुँदै गयो । महाधिवेशन र बैठकहरू औपचारिकतामा सीमित भए, वास्तविक निर्णय भने केही सीमित व्यक्तिको वरिपरि केन्द्रित हुन थाले । आलोचना अनुशासनहीनता ठानियो, फरक मत राख्नेहरूलाई किनारा लगाइयो, र पुस्तान्तरणको मागलाई अस्थिरताको कारकका रूपमा प्रस्तुत गरियो ।
कांग्रेसको संकट केवल पार्टीको समस्या मात्र होइन; यसले राष्ट्रिय लोकतन्त्रलाई पनि प्रश्न गर्छ । किनकि दलभित्र लोकतन्त्र कमजोर हुँदा बाहिरको लोकतन्त्र पनि कमजोर हुन्छ । व्यक्तिकेन्द्रित दलहरूले व्यक्तिकेन्द्रित शासन जन्माउँछन् । यसले सुशासन, नीति स्थायित्व र सामाजिक न्यायमा गहिरो असर पार्छ । कांग्रेसभित्रको जाम र त्यसबाट देखिएको भ्वाङले यही सन्देश दिएको छ
यही प्रक्रियाले कांग्रेसभित्र ‘लोकतान्त्रिक जाम’ सिर्जना गर्यो । नेतृत्व र विचार दुवै तहमा जमेको यो जाम लामो समयसम्म दबाएर राखियो । तर कुनै पनि प्रणालीमा दबाब अनन्तकालसम्म थाम्न सकिँदैन । जब जाम खोल्ने प्रयास हुन्छ, त्यहीँ कमजोर संरचना च्यातिन्छ । कांग्रेसमा देखिएको रूप त्यसैको परिणाम हो ।
राजनीतिमा विभाजन वा विद्रोह प्रिय अवश्य मानिँदैन । तर मतभेद, बहस र असहमति लोकतन्त्रका स्वाभाविक अंग हुन् र तिनको समाधान सम्वाद र संस्थागत प्रक्रियाबाट खोजिनुपर्छ । यस अर्थमा कांग्रेसको विभाजनलाई सही वा स्वागतयोग्य भन्न सकिँदैन ।
तर, यहाँ मूल प्रश्न विद्रोह ठीक कि बेठीक भन्ने होइन, प्रश्न यो हो– पार्टीभित्रको लोकतान्त्रिक अभ्यास यति कमजोर किन बन्यो ? यसको उत्तर नेतृत्वको जडता र संस्थागत लोकतन्त्रको क्षयमै लुकेको छ । जब दलहरू विचारभन्दा पदमा, संस्थाभन्दा व्यक्तिमा र भविष्यभन्दा वर्तमान सत्तामा केन्द्रित हुन्छन्, तब विभाजन नियति बन्छ । कांग्रेसभित्र पनि यही भयो । पार्टी क्रमश: व्यक्तिकेन्द्रित, गुटीय सन्तुलनमा आधारित र सत्तामुखी संरचनामा सीमित हुँदै गयो ।
दलभित्र लोकतन्त्रको अर्थ केवल आन्तरिक निर्वाचन गर्नु मात्र होइन । यसको सार भनेको बहुल विचारको सम्मान, असहमतिको सुरक्षा र नेतृत्वको जवाफदेहिता हो । तर, कांग्रेसभित्र आलोचनालाई विद्रोह ठान्ने र फरक मतलाई खतरा देख्ने संस्कार बलियो बन्दै गयो । परिणामस्वरूप पार्टीभित्र वैचारिक बहस कमजोर भयो, नीति निर्माण जनजीवनभन्दा टाढिँदै गयो र संगठनात्मक संरचना निष्क्रिय बन्दै गयो ।
यसको प्रत्यक्ष असर पुस्तान्तरणमा देखियो ।
कुनै पनि लोकतान्त्रिक संस्थामा पुस्तान्तरण शक्ति हो, कमजोरी होइन । नयाँ पुस्ताले नयाँ दृष्टि, नयाँ प्रश्न र नयाँ ऊर्जा ल्याउँछ । तर कांग्रेसभित्र लामो समयसम्म पुस्तान्तरणलाई टार्ने प्रयास गरियो । युवा कार्यकर्ताहरूलाई ‘भोलिको नेतृत्व’ भनेर आश्वासन दिइयो, तर आजमै निर्णायक भूमिका दिन हिच्किचाइयो । महिला र सीमान्तकृत समुदायको सहभागिता पनि प्रतीकात्मक सीमाभित्रै सीमित रह्यो ।
दलभित्र लोकतन्त्र कमजोर हुँदा नीति निर्माण प्रक्रिया पनि प्रभावित हुन्छ । दीर्घकालीन दृष्टिकोण र वैचारिक स्पष्टताको सट्टा अल्पकालीन चुनावी गणित हाबी हुन्छ । ‘के सही हो?’ भन्दा ‘को जित्छ?’ भन्ने प्रश्न प्राथमिक बन्छ । यसले राजनीतिलाई विचारको क्षेत्रबाट हटाएर सौदाबाजीको अभ्यासमा रूपान्तरण गर्छ । कांग्रेसमा देखिएको संकट यही राजनीतिक संस्कारको उपज हो ।
कांग्रेसको संकट केवल पार्टीको समस्या मात्र होइन; यसले राष्ट्रिय लोकतन्त्रलाई पनि प्रश्न गर्छ । किनकि दलभित्र लोकतन्त्र कमजोर हुँदा बाहिरको लोकतन्त्र पनि कमजोर हुन्छ । व्यक्तिकेन्द्रित दलहरूले व्यक्तिकेन्द्रित शासन जन्माउँछन् । यसले सुशासन, नीति स्थायित्व र सामाजिक न्यायमा गहिरो असर पार्छ । कांग्रेसभित्रको जाम र त्यसबाट देखिएको भ्वाङले यही सन्देश दिएको छ ।
प्रगतिशील लोकतान्त्रिक दृष्टिकोणले यो अवस्थालाई केवल नकारात्मक रूपमा मात्र हेर्दैन । बरु, पुरानो संरचनाको चिरा र भ्वाङलाई नयाँ राजनीतिक सम्भावनाको संकेतका रूपमा बुझ्छ । इतिहासले देखाएको सत्य यही हो– आत्मसुधार गर्न असक्षम संरचनाहरू चर्किएपछि मात्र नयाँ विकल्पको खोजी सुरु हुन्छ ।
आजको नेपाली समाज गहिरो परिवर्तन चाहिरहेको छ । बेरोजगारी, असमानता, भ्रष्टाचार, राजनीतिक अविश्वास र राज्य संरचनाको जडताले जनता थकित छन् । विशेषत: युवा पुस्ता पुरानो राजनीतिक शैलीबाट निराश छ । उनीहरू नयाँ पार्टीको नाम मात्र होइन, नयाँ राजनीतिक संस्कार खोजिरहेका छन् जहाँ नेतृत्व पद होइन, जिम्मेवारी हो; जहाँ असहमति कमजोरी होइन, लोकतन्त्रको मेरुदण्ड हो ।
यही सन्दर्भमा नयाँ राजनीतिक शक्तिहरूको आवश्यकता प्रष्ट हुन्छ । नयाँ शक्ति भनेको विभाजनको उत्पादन मात्र होइन; यो पुरानो जडतालाई चुनौती दिने वैचारिक र संस्थागत विकल्प हो । प्रगतिशील लोकतान्त्रिक धारले यही विकल्पको वकालत गर्छ– विचारकेन्द्रित राजनीति, संस्थागत नेतृत्व र जनउत्तरदायी अभ्यास ।
कांग्रेसभित्रको संकटले नेपालका सबै दलहरूलाई चेतावनी दिएको छ । यदि दलहरूले आन्तरिक लोकतन्त्रलाई गम्भीरतापूर्वक लिएनन्, नेतृत्व हस्तान्तरण र युगसापेक्ष परिमार्जन गर्न सकेनन् भने आज कांग्रेसमा देखिएको भ्वाङ भोलि अन्य दलहरूमा पनि देखिन सक्छ । इतिहास कसैलाई कुर्दैन ।
अत: प्रश्न कांग्रेस फुट्यो कि फुटेन भन्ने होइन । प्रश्न हो– अब सबै दलहरु आन्तरिक लोकतन्त्रको अभ्यास गर्न तयार छन् ? जाम खोल्दा भ्वाङ देखिनु पीडादायक हुन सक्छ, तर त्यस भ्वाङबाट नयाँ बहाव निस्कन सक्छ । यदि त्यसलाई सुधार र पुनर्संरचनाको अवसरका रूपमा लिइयो भने, यही संकट नयाँ राजनीतिक संस्कारको सुरुवात पनि बन्न सक्छ ।
(लेखक प्रलोपामा आवद्ध छन् )
प्रतिक्रिया 4