+
+
Shares

गति बढाउँदै अर्थतन्त्र, ६ महिनामा ११ खर्ब नजिक वैदेशिक व्यापार

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुस) मा वैदेशिक व्यापार आकार ११ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ माघ ७ गते १५:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा वैदेशिक व्यापार १७.३६ प्रतिशतले वृद्धि भई ११ खर्ब रुपैयाँ नजिक पुगेको छ।
  • आयात १४.१८ प्रतिशत र निर्यात ४३.७६ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।
  • नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग ५ खर्ब ३२ अर्बको आयात र १ खर्ब १५ अर्बको निर्यात भएको छ।

७ माघ, काठमाडौं । आयात १४.१८ र निर्यात ४३.७६ प्रतिशत वृद्धिसँगै मुलुकको अर्थतन्त्र गतिशील अवस्थामा पुगेको वैदेशिक व्यापार तथ्यांकले देखाएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन-पुस) मा वैदेशिक व्यापार आकार ११ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

१७.३६ प्रतिशतले बढेको वैदेशिक व्यापार १० खर्ब ८१ अर्ब रुपैयाँ बराबर भएको छ । यसमा ८६.८६ प्रतिशत हिस्सा आयात र १३.१३ प्रतिशत हिस्सा निर्यातको छ । अघिल्लो वर्ष पहिलो अर्धवार्षिक अवधिमा कुल वैदेशिक व्यापार आकार ९ खर्ब २१ अर्ब बराबर मात्र थियो ।

यस अवधिमा आयातमा १४.१८ प्रतिशतले विस्तार भएको छ । निर्यातमा ४३.७६ प्रतिशतको विस्तार देखिएको छ । भन्सार विभागका अनुसार पुससम्म ९ खर्ब ३९ अर्ब बराबरको वस्तु आयात भएको छ । अघिल्लो आव सोही अवधिमा ८ खर्ब २२ अर्बको मात्र आयात भएको थियो ।

निर्यात १ खर्ब ४२ अर्ब बराबर भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ९८ अर्ब ७८ करोडको मात्र वस्तु निर्यात भएको थियो । वस्तु निर्यातमा आएको उछालले कुल वैदेशिक व्यापारमा समेत निर्यात हिस्सा २२.५० प्रतिशतले वृद्धि भएको छ ।

निर्यातको उच्च वृद्धिले कुल वैदेशिक व्यापार वृद्धिदरको तुलनामा व्यापार घाटा वृद्धिदर केही खुम्चिएको अवस्थामा देखिन्छ । पुससम्म कुल व्यापार घाटा ७ खर्ब ९७ अर्ब रुपैयाँ देखिएको छ ।

यो अघिल्लो आव सोही अवधिको तुलनामा १०.१५ प्रतिशत बढी हो । अघिल्लो आव ७ खर्ब २३ अर्बको व्यापार घाटा थियो ।

कुल निर्यातभन्दा धेरै इन्धन आयात

तथ्यांक अनुसार यो अवधिमा भएको कुल निर्यात तुलनामा इन्धन आयातमात्र माथि रहेको देखिन्छ । पुससम्म पेट्रोलियम पदार्थ आयातमा १ खर्ब ५१ अर्ब बराबर विदेशिएको छ । तर, कुल वस्तु निर्यात भने १ खर्ब ४२ अर्ब बराबर मात्र छ ।

धेरै आयात भएका वस्तुको दोस्रो स्थानमा वनस्पति तथा पशुजन्य तेल/घिउ आयात छ । यस्ता वस्तु ७६ अर्ब ३३ करोड बराबर भएको देखिन्छ । फलाम र स्टिल आयात ६६ अर्ब १३ करोड हाराहारी छ ।

इन्धन, फलाम, स्टिलजस्ता वस्तु नेपालको पूँजी निर्माणमा समेत प्रयोग हुन्छ । यसले अर्थतन्त्र चलायमान हुँदै गरेको संकेत गर्छ । विद्युतीय उपकरण र त्यसका पार्टपुर्जा आयातमा ६४ अर्ब ९२ करोड विदेशिएको देखिन्छ ।

त्यस्तै मेसिनरी र मेकानिकल उपकरण आयातमा ६३ अर्ब ८९ करोड विदेशिएको  छ । सवारीसाधन आयातमा ५५ अर्ब ३१ करोड खर्च भएको छ । मल आयात ३८ अर्ब ३६ करोड बराबर भएको छ । अन्नबाली २८ अर्ब ७६ करोड, सुन/चाँदीसहित बहुमूल्य धातु आयात ३५ अर्ब ६१ करोड रुपैयाँ बराबर भएको छ ।

यसैगरी प्लास्टिक र यसका वस्तु आयातमा ३३ अर्ब ५३ करोड विदेशिएको देखिन्छ । निर्यात भएका वस्तुको क्षेत्र विश्लेषण गर्दा सबैभन्दा अग्रस्थानमा वनस्पति तेल तथा बोसो छ ।

त्यसबाहेक कफी, चिया र मसला दोस्रो स्थानमा छ । कृत्रिम रेशा/धागो आयात तेस्रो स्थानमा छ । कार्पेट चौथो र तयारी पोसाक पाँचौं स्थानमा रहेको तथ्यांकले देखाउँछ ।

अग्रस्थानमा डिजेल आयात, पच्छ्याउँदै कच्चा सोयाबिन तेल

६ महिनामा वस्तु अनुसार हेर्दा डिजेल सबैभन्दा बढी मूल्यको आयात भएको छ । यो अवधिमा नेपालले ५८ अर्ब २७ करोड रुपैयाँ बराबर डिजेल आयात गरेको छ । दोस्रो स्थानमा कच्चा सोयाबिन तेल छ । यसको आयात ५७ अर्ब ४३ करोडको भएको छ ।

तेस्रो स्थानमा पेट्रोल छ । जुन ३३ अर्ब बराबरको आयात भएको छ । खाना पकाउने एलपी ग्यास २७ अर्ब बराबरको भित्रिएको छ । यो अवधिमा स्मार्टफोन २३ अर्ब २९ करोडको आएको छ । सुन १८ अर्ब ८३ करोडको भित्रिएको छ ।

निर्यातमा प्राथमिक र कम मूल्य अभिवृद्धि हुने वस्तुको बाहुल्य

६ महिनाको तथ्यांक अनुसार यो अवधिमा निर्यात भएका प्रमुख वस्तुमा प्राथमिक र कम मूल्य अभिवृद्धि भएका वस्तुको बाहुल्य छ । पहिलो स्थानमा कच्चा सोयाबिन छ । जुन ५६ अर्ब रुपैयाँ बराबर आएको छ ।

अलैँची ७ अर्ब १९ करोडको आएको छ । कार्पेट ४ अर्ब ८७ करोड, कच्चा सूर्यमूखी तेल ४ अर्ब ७८ करोड बराबरको भित्रिएको तथ्यांकले देखाएको छ ।

कुन देशसँग कति व्यापार ?

नेपालको वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा भारतसँग छ । सोहीकारण व्यापार घाटासमेत सोही मुलुकसँग अधिक छ । तथ्यांक अनुसार भारतबाट ५ खर्ब ३२ अर्बको वस्तु नेपाल आएको छ ।

नेपालबाट १ खर्ब १५ अर्बको वस्तु भारत गएको तथ्यांक छ । दोस्रो स्थानमा चीन छ । चीनबाट १ खर्ब ९६ अर्बको सामान आएको छ । चीनबाट नेपालमा भने ६४ करोडको मात्र वस्तु भित्रिएको छ ।

तेस्रो स्थानमा अर्जेन्टिना छ । जहाँबाट ५४ अर्ब ४४ करोडको वस्तु नेपाल भित्रिएको छ । चौथो स्थानमा युनाइटेड अरब इमिरेट्स (यूएई) रहेको तथ्यांक छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?