+
+
Shares

बालेनले बोलेको ‘छौरा’ शब्दलाई गलत अर्थ लगाएको भन्दै महेश बस्नेतको आलोचना

बालेन शाहले जनकपुरधामको सभामा बोलेको ‘छौरा’ शब्दलाई बस्नेतले गलत रुपमा अर्थ्याएको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १५:३१

जनकपुरधाम । नेकपा एमालेका सचिव महेश बस्नेतले मधेशी समुदायलाई अपमानित हुने गरी घृणात्मक अभिव्यक्ति दिएको आरोप लागेको छ । बालेन शाहले जनकपुरधामको सभामा बोलेको ‘छौरा’ शब्दलाई बस्नेतले गलत रुपमा अर्थ्याएको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भइरहेको छ ।

गत सोमबार जनकपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभामा वरिष्ठ नेता बालेन साहले मैथिली भाषामा ‘मधेशिया छौरा’ भन्ने शब्द प्रयोग गरेका थिए । मैथिली भाषामा ‘छौरा’ शब्दको अर्थ नेपालीमा ‘केटो’ वा ‘छोरो’ हुन्छ । तर एमाले नेता बस्नेतले उक्त शब्दलाई बंग्याउँदै ‘छाउरा’ भनेर अथ्र्याएका छन्, जसको नेपाली अर्थ ‘कुकुरको बच्चा’ हुने भन्दै आलोचकहरूले आपत्ति जनाएका छन् ।

यस अभिव्यक्तिलाई मधेशी समुदायप्रति अपमानजनक र घृणात्मक भन्दै सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा विरोध भइरहेको छ । कतिपयले बस्नेतमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।

मधेशी आयोगका पूर्व अध्यक्ष विजय दत्तले एमाले सचिव बस्नेतलाई सामाजिक सन्जालमा खुला पत्र लेख्दै मधेशी समुदायको भाषिक संवेदनामाथि प्रहार नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेखिएको पत्रमा उनले चुनावको मुखमा यस्ता अभिव्यक्ति जिम्मेवार नेताबाट अपेक्षित नहुने उल्लेख गरेका छन् ।

‘कुन पार्टीका कुन नेताले के बोले भन्ने विषय आफैँ बुझ्न नसके भाषिक विज्ञहरूसँग सल्लाह लिनुहोस्, सबै क्षेत्रको ज्ञाता बन्ने प्रयास नगर्नुहोस्,’ दत्तले लेखेका छन् । उनले मैथिली भाषामा ‘छौरा’ शब्दको अर्थ स्पष्ट पार्दै त्यसलाई अपशब्द बनाउने प्रयास अनुचित भएको बताएका छन् । ‘भाषा जननी र अवनी हो, यसप्रकारको व्यवहार कुनै हालतमा स्वीकार्य हुँदैन,’ उनले उल्लेख गरेका छन् ।

माफी माग्न आग्रह
डा. अभिषेकराज सिंहले पनि एमाले सचिव बस्नेतको अभिव्यक्तिको विरोध गर्दै माफी माग्न आग्रह गरेका छन् । ‘मैथिली भाषामा ‘छौरा’ शब्द नेपाली भाषाको ‘छोरा’ सरह सामान्य र सन्दर्भअनुसार प्रयोग हुने शब्द हो, जसले सन्तान, युवा वा आम जनतालाई जनाउँछ । यसलाई तोडमोड गरी अपमानजनक अर्थमा प्रस्तुत गर्नु भाषिक विविधताप्रतिको समझदारीको कमी दर्शाउने विषय हो,’ सिंहले भने ।

यसैगरी धनुषाको बटेश्वर गाउँपालिका–३ का लालबाबु साहले एमाले नेता बस्नेतविरुद्ध नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोमा उजुरी दर्ता गराउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?