७ माघ, विराटनगर । एमाले नेता विनोद ढकालले मोरङका तीन वटा निर्वाचन क्षेत्रबाट सिफारिस भए पनि अध्यक्ष केपी शर्मा ओलीको विपक्षी धारको समूहमा रहेका कारण टिकट पाउनेमा धेरैलाई शंका थियो । स्वयं ढकाल पनि चुनाव लड्ने मनस्थितिमा थिएनन् ।
तर, अन्तिम समयमा अध्यक्ष ओलीले ‘सरप्राइज’ टिकट दिएपछि उनी मोरङ-६ बाट चुनावी मैदानमा उत्रिएका छन् । उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहित २० जनासँग हुनेछ ।
विशेष महाधिवेशनको विपक्षमा रहेका शेखर कोइरालाको आगमन पनि सरप्राइज जस्तै छ । विशेष महाधिवेशन हुँदा विपक्षमा उभिएका उनी उम्मेदवार हुने-नहुने टुंगो थिएन । अन्तिम समयमा सभापति गगन थापासँग टिकट बाँडफाँटसहित चुनावी मैदानमा उत्रिएका हुन् ।
२०६५ सालको संविधानसभा उपनिर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गरेका कोइराला र ढकालबीच यो दोस्रो भिडन्त हो । त्यतिबेला डा. कोइराला विजयी हुँदा ढकाल तेस्रो स्थानमा खुम्चिएका थिए ।
१७ वर्षपछि यी दुईबीचको प्रतिस्पर्धामा नयाँ पार्टी र स्वतन्त्रसहित २० जना उम्मेदवार छन् । यो पटक नेपाली कम्युनिस्ट पार्टीले ओपेन्द्र रायलाई उम्मेदवार बनाएको छ । रास्वपाले रुविना आचार्यलाई उम्मेदवार बनाएको छ । उज्यालो नेपाल पार्टीबाट बसन्त बुढाथोकी, जेनजी समूहको तर्फबाट राम खत्री, किरण खड्कालगायत २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
डा. कोइरालाका लागि मोरङ-६ को प्रतिस्पर्धा छैटौं पटक हो । उनी तीन पटक विजयी भएका छन् ।

कोइराला परिवारको बिरासत
२०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेस सभापति बीपी कोइराला निर्वाचन क्षेत्र नम्बर ३२ मोरङबाट उम्मेदवार बनेका थिए । त्यो चुनाव उनले जिते । २००७ सालको परिवर्तनपछि भएका निर्वाचनमा कोइराला परिवारका सदस्यले मोरङ छाडेका छैनन् ।
२००७ सालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको कोइराला निवास विराटनगरमा छ, तर कांग्रेस कार्यकर्तामाझ तीर्थस्थलको रूपमा रहेको सो निवास जेनजी आन्दोलनका क्रममा जल्यो ।
पछिल्लो समय कोइराला परिवारको बिरासतको राजनीति थाम्ने जिम्मेवारी डा. कोइरालाको काँधमा छ । २०४८ देखि २०५६ सम्म शैलजा आचार्यले चुनाव लडिन् । गिरिजाप्रसाद कोइराला पनि पटकपटक लडे ।
पहिलो संविधानसभादेखि डा. कोइराला निरन्तर चुनावी प्रतिस्पर्धामा छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जागिर छोडेर पूर्णकालीन राजनीतिमा आएका डा. कोइरालाले हालसम्म एक उपनिर्वाचनसहित पाँच पटक चुनाव लडे, जसमा तीन पटक सफल भए । यो छैटौँ चुनावी परीक्षा हो ।
२०६४ सालको संविधानसभा निर्वाचनमा कोइराला मोरङको तत्कालीन क्षेत्र नम्बर ७ मा तत्कालीन मधेशी जनअधिकार फोरमका विजयकुमार गच्छदारसँग ५ हजार १५५ मतले पराजित भए ।
पहिलो संविधानसभामा सुनसरी-३ बाट पनि निर्वाचित गच्छदारले मोरङ-७ छाडेपछि २०६५ चैत २८ गते भएको उपनिर्वाचनमा कोइराला नै विजयी भए । उनले तत्कालीन फोरमका चुमनारायण तबदारलाई पराजित गरेका थिए ।
२०७० सालको दोस्रो संविधासभा निर्वाचनमा डा. कोइरालाले तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई पराजित गरेका थिए । १२ हजार ९८२ मतका साथ कोइराला विजयी हुँदा गच्छदारले १० हजार ५६४ मत पाएका थिए ।
२०७२ सालमा नयाँ संविधान जारी भएपछि मोरङको ९ निर्वाचन क्षेत्र ६ वटामा कायम भयो । त्यसपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ६ बाट उठेका डा. कोइराला एमालेका लालबाबु पण्डितसँग झिनो मतान्तरले पराजित भए ।
कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका उनी प्रभावशाली नेताको रूपमा उदाए । सोही प्रभावले गर्दा २०७९ सालको निर्वाचनमा निर्वाचित भए । कोइरालाले ३५ हजार २१८ प्राप्त गर्दा पण्डितले २२ हजार ९३२ मत प्राप्त गरेका थिए ।
पण्डित विजयी हुँदा एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । कोइराला विजयी हुँदा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन थियो ।
सरप्राइज टिकट
डा. कोइरालासँग २०६५ सालको उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका विनोद ढकाल यो पटक फेरि प्रतिस्पर्धा गर्दैछन् । पार्टी राजनीतिमा प्रतिपक्षी धार सम्हालेका ढकाल प्रभावशाली छन् । तर संसदीय राजनीतिमा उनको विगत सम्झन लायक छैन । उनले लगातार तीन चुनाव हारेका छन् ।

पहिलो संविधानसभाको उपनिर्वाचन (२०६५) मा कोइरालासँग पराजित ढकाल २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार भीम पराजुलीसँग पराजित भए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी मोरङ-४ मा एमालेबाट उम्मेदवार बन्दा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीसँग पराजित भए ।
भोजपुरबाट २०४२ सालमा विराटनगर बसाइँ सरेका ढकालले एमाले निकट अखिलबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । २०४७ सालमा अखिलको मोरङ जिल्ला अध्यक्ष बनेका उनी अखिलको केन्द्रीय कमिटी उपाध्यक्ष पनि भए ।
२०६५ सालमा एमाले जिल्ला अध्यक्ष बनेका उनी २०६९ सालमा जिल्ला अधिवेशनमा पराजित भए । २०७३ सालको अधिवेशनमा उनी पुन: जिल्ला अध्यक्ष निर्वाचित भएका थिए ।
पार्टीको कोशी प्रदेश अधिवेशनमा अध्यक्षमा पराजित भएका ढकाल पार्टीको ११औं महाधिवेशनमा सचिवमा पराजित भए ।
लगातार हार बेहोरेका ढकालका लागि यो चुनाव ‘अस्तित्वको लडाइँ’ र ‘कमब्याक’ गर्ने अवसर पनि हो ।
व्यक्तित्व, पार्टी र कोइराला परिवारको बिरासत डा. कोइरालाको बलियो पक्ष हो । कोइरालालाई आफ्नो बिरासत जोगाउने चुनौती पनि छ ।
तुलनात्मक रूपमा संगठन कमजोर भए पनि मोरङ-६ मा रास्वपाको चुनावी माहोल पनि बलियो छ ।
प्रतिक्रिया 4