८ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०७९ का लागि नेकपा एमालेको अछाम जिल्ला कमिटीले नेता भीम रावलको नाम सर्वसम्मत सिफारिस गरेको थियो ।
तर, केन्द्रीय कमिटीले उनले चुनाव लड्न चाहेको अछाम निर्वाचन क्षेत्र नम्बर १ मा झपटबहादुर बोहरालाई उम्मेदवार बनायो । पार्टी विभाजन हुँदा १० बुँदे सहमति गरेर एमालेमै बसेका रावल हिस्स परे ।
रावललाई टिकट नदिएर एमाले अध्यक्ष ओलीले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बदला लिए । चितवनमा सम्पन्न महाधिवेशनमा ओलीको चाहनाविपरीत रावलले अध्यक्ष पदमा चुनौती दिएका थिए ।
पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि रावललाई टिकट नदिएपछि अछाममा तत्कालीन विपक्षी गठबन्धनलाई चुनाव सहज बन्यो । नेता रावल गत निर्वाचनमा निष्क्रिय जस्तै बसे ।
कार्यकर्तामाझ राम्रो पकड बनाएका रावललाई पार्टीले टिकटबाट वञ्चित गरेको परिणाम स्वरूप एमाले अछामका दुवै निर्वाचन क्षेत्र गुमाउन पुग्यो । प्रतिनिधिसभा अन्तर्गत १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा एमाले मात्र दुई सिटमा सिमित रह्यो ।
प्रतिनिधिसभा निर्वाचन–२०७४ पछि विस्तारै अध्यक्ष ओली र नेता रावलबीचको मनमुटावको ‘पारो’ दिनानुदिन माथि उक्लिदै गयो । अन्ततः ओलीले १० पुस २०८१ मा सचिवालय बैठकबाट पूर्वउपाध्यक्ष रावललाई पार्टीको संगठित सदस्यबाट हटाए ।
उनीमाथि निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिएको आरोप लगाइयो । बैठकपछि तत्कालीन उपमहासचिव प्रदीप ज्ञवालीले रावलमाथिको कारबाहीबारे भनेका थिए, ‘.. अभिव्यक्तिहरू चाहिँ पार्टी बलियो बनाउनेभन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको छ ।’
पार्टीले कारबाही गरेको एक दिनपछि रावलले आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा उत्रन कार्यकर्ताहरूलाई अपिल गरे । सामाजिक सञ्जाल एक्समार्फत् उनले आफूलाई निष्कासन गर्ने सचिवालय बैठकको निर्णयको विरोधमा समर्थन खोजे ।
रावलले पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई अध्यक्ष ओलीको सत्ताउन्माद, निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णयको संज्ञा दिए । पार्टीबाट निष्कासित भएको एक सातापछि (१७ पुस) काठमाडौंको कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टी खोल्ने उद्घोष गरे ।
पार्टी खोल्ने उद्घोषपछि उनी अलग्गै पार्टी निर्माणको प्रक्रियामा लागे । गत माघ पहिलो साता सामाजिक सञ्जालामार्फत रावलले पार्टीको अवधारणा र संरचना सार्वजनिक गरे । सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहने भनिएको थियो ।
तर, नेता रावलको पार्टी निर्माण प्रक्रियाले पूर्णता पाएन । उनी गत कात्तिक अन्तिम साता वामपन्थी दलहरू (माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भए ।
पछिल्लो समय पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयोजकत्वको नेकपामा सक्रिय बनेका रावल अहिले आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ गृहजिल्ला अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् ।
यहाँ यसपटक एमालेले दिपक साउदलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
नेपाली कांग्रेसका तर्फबाट पूर्वजिल्ला सभापति भरतकुमार स्वाँर उम्मेदवार छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ओमप्रकाश रावलको मनोनयन गराएको छ ।
गत निर्वाचनमा अछाम–१ बाट तत्कालीन नेकपा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर १९ हजार ५३४ मतसहित निर्वाचित भएका थिए ।
एमाले अध्यक्ष ओलीले रावलको टिकट खोसेर उम्मेदवार बनाएका बोहरा झन्डै साढे चार हजार मतले पछि परेका थिए । दोस्रो भएका उनले १५ हजार ४५ मत पाएका थिए ।
कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका राजन कुँवर चार हजार ३९२ मतका साथ तेस्रो भएका थिए । अन्य तीन उम्मेदवारहरूले चार अंकको योगफलसमेत जोड्न सकेका थिएनन् ।
गत निर्वाचनमा अछाम–१ बाट विजयी कुँवरको दल एकीकृत समाजवादीले कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको थियो । तीन दल मिल्दा र रावल समर्थक कार्यकर्ता असन्तुष्ट हुँदा पनि एमाले उम्मेदवार बोहरा दोस्रो हुन पुगेका थिए ।
प्रतिनिधिसभा निर्वाचन–२०७४ मा रावलले अछाम–१ बाटै जीत निकालेका थिए । उनले कांग्रेस उम्मेदवार भरतकुमार स्वाँरलाई सात हजारबढी मतले पराजित गरेका थिए । रावलले २४ हजार ८९३ मत ल्याउँदा स्वाँरले १७ हजार ६८९ मत ल्याएका थिए ।
अछामका साँफेबगर नगरपालिकासँगै रामारोशन, बान्नीगढी–जयगढ, चौरपाटी र मल्लेख गाउँपालिकाको भूगोल मिलाएर क्षेत्र नम्बर १ निर्धारण गरिएको छ । स्थानीय तह निर्वाचन–२०७४ मा यी पाँच पालिकामध्ये चारमा नेपाली कांग्रेस र एकमा तत्कालीन माओवादी केन्द्र विजयी भएका थिए ।
कांग्रेसले साँफेबगर, रामारोशन, बान्नीगढी–जयगढ र चौरपाटी तथा माओवादी केन्द्रले मेल्लेख गाउँपालिका अध्यक्षमा जीत निकालेको थियो । स्थानीय तह निर्वाचनमा पनि कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल थियो ।
गत स्थानीय तह निर्वाचनको मत परिणामको आधारमा अछाम–२ मा कांग्रेस र एमालेको मत झण्डै समान देखिन्छ । उक्त निर्वाचनमा पालिका प्रमुखका उम्मेदवारले पाएको मतअनुसार यहाँ एमालेभन्दा कांग्रेस मात्र ३४८ मतले अगाडि छ ।
स्थानीय तह निर्वाचनमा एमालेले पाँचवटै पालिकामा उठाएका प्रमुख/अध्यक्ष पदका उम्मेदवारले पाएको मतको योगफल १७ हजार १३८ देखिन्छ । यस्तै कांग्रेसले पाएको मतको योगफल १७ हजार ४८६ छ । कांग्रेसले मेल्लेखबाहेक चार पालिकामा मात्रै उम्मेदावर उठाएको थियो ।
चुनावी तालमेलका कारण मेल्लेखमा कांग्रेसले माओवादी केन्द्रलाई सघाएको थियो । यहाँ माओवादीले पाँच हजार १४४ मत ल्याएको थियो । त्यस्तै चौरपाटी गाउँपालिकामा एकीकृत समाजवादीले आफ्नो उम्मेदवार उठाएको थियो । यहाँ एकीकृत समाजवादी एक हजार ४७४ मतसहित तेस्रो भएको थियो ।
स्थानीय तह निर्वाचनमा उठाएका उम्मेदवार र प्राप्त गरेको मतका आधारमा अछाम–१ मा नेकपा (माओवादी र एकीकृत समाजवादी) को मत छ हजार ६१८ देखिन्छ । तर, अन्य पालिकामा कांग्रेससँग दुवै दलले चुनावी तालमेल गरेका कारण यही मत संख्यालाई नै अन्तिम मत भने मान्न सकिन्न ।
प्रतिक्रिया 4