८ माघ, वीरगञ्ज । उम्मेदवारहरूले मनोनयन दर्ता गरेसँगै पर्सा–१ मा चुनावी चहलपहल सुरु भएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा पुराना दलका उम्मेदवारबाहेक केही नयाँ अनुहार पनि यसपटक मैदानमा उत्रिएका छन् ।
दल परिवर्तन गर्दै नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका पूर्वमन्त्री प्रदीप यादव लगातार तेस्रो पटक (ह्याट्रिक) गर्ने रणनीतिमा छन् । नेपाली कांग्रेसका अनिल रुंगटा भने लामो समयदेखिको जितविहीन अवस्था तोड्ने योजनामा छन् ।
२०७४ सालदेखि यस क्षेत्रमा आफ्नो बिरासत जोगाउँदै आएको जनता समाजवादी पार्टी (जसपा) ले यसपटक नयाँ अनुहार ल्याएको छ ।
त्यति मात्र होइन, नेकपा एमालेबाट विद्रोह गरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका युवा नेता रामकिशोर सिंह (पराग) पनि चुनावी मैदान ओर्लिएका छन् ।
निरन्तर संसदीय राजनीतिमा सक्रिय यादवको यो चुनावी यात्रालाई उनका समर्थकहरूले निरन्तरताको राजनीति भनेका छन् भने विपक्षीहरूले विकल्पको आवश्यकता औँल्याइरहेका छन् ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पर्सा–१ बाट पराजित भएका यादवले २०७४ र २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट जसपाको तर्फबाट ढल्केको छाता चुनाव चिह्नबाट जित हासिल गरे ।
नेपाली कांग्रेस पर्साका नेता रुंगटाले भने हालसम्म प्रतिनिधिसभा निर्वाचन जित्न सकेका छैनन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जसपाका उम्मेदवार प्रदीप यादवसँग पराजित भएका रुंगटाले फेरि एकपटक चुनाव लड्ने अवसर पाएका हुन् ।
जनता समाजवादी पार्टीका पर्साका अध्यक्ष रामनरेश यादव पनि चुनावी मैदानमा छन् । २०७९ मा पर्सा–२ (ख) बाट प्रदेशसभा सदस्यको चुनाव लडेका उनी एक हजार ६५७ मतले नेपाली कांग्रेसका उम्मेदवार श्यामप्रसाद पटेलसँग पराजित भएका थिए ।
यता, एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा उदाएका रामकिशोर सिंह (पराग) पनि मैदानमा छन् ।
पहिलो पटक २०७४ मा स्थानीय तहको निर्वाचन लडेका पराग १ मतले पराजित भएका थिए भने २०७९ सालको निर्वाचनमा ४१४ मतान्तरले विजयी भए ।
होटेल तथा पर्यटन व्यवसायीबाट राजनीतिमा आएका रास्वपाका बुद्धिबहादुर पन्त पनि जेनजी आन्दोलनको मुद्दा लिएर मतदातासमक्ष पुगेका छन् ।
प्रतिक्रिया 4