८ माघ, पोखरा । २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता सुरु हुनुअघि नै गण्डकी प्रदेश सरकार मातहतका ५ वटा अस्पतालमा नेपाली कांग्रेस र एमालेको भागबन्डा गरिएको छ । ४ माघमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशस्तरीय अस्पतालमा कांग्रेस र एमालेले भागबन्डा गरेर अध्यक्ष र २ जना सदस्य नियुक्त गरेको हो ।
निर्वाचनको आचारसंहिता सुरु हुनुअघि नै ५ वटा अस्पताललाई ठिक ढंगले अगाडि बढाउन अध्यक्ष र सदस्य नियुक्त गरिएको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री तथा प्रवक्ता डा. टकराज गुरुङले जानकारी दिए ।
प्रवक्ता गुरुङले क्षमताका आधारमा नियुक्त गरिएको बताए । तर भागबन्डामा कांग्रेसले ३ वटा अस्पतालको अध्यक्ष र एमालेले २ वटा अस्पतालको अध्यक्ष लिएको मन्त्रिपरिषद्का अर्का एक सदस्यले जानकारी दिए ।
कांग्रेस कोटाबाट अध्यक्ष नियुक्त भएको अस्पतालमा महिला सदस्य पनि सोही पार्टीको हुने र पुरुष सदस्य एमालेको रहने व्यवस्था गरिएको छ । यसैगरी एमालेका तर्फबाट अध्यक्ष रहेका अस्प्तालमा महिला सदस्य पनि एमालेकै र पुरुष सदस्य कांग्रेसको रहने निर्णय गरिएको छ ।
कांग्रेसको भागमा प्रदेश अस्पताल गोरखा, धौलागिरि आयुर्वेद अस्पताल बागलुङ र मातृशिशु मितेरी अस्पताल कास्कीको अध्यक्ष परेको छ भने एमालेले प्रदेश अस्पताल आँपपिपल गोरखा र गण्डकी आयुर्वेद अस्पताल लेखनाथको अध्यक्ष एमालेले लिएको छ ।
कांग्रेसका तर्फबाट प्रदेश अस्पताल गोरखामा कृष्ण ढकाल अध्यक्षमा नियुक्त भएका छन् भने कांग्रेसबाटै महिला सदस्यमा विद्या मास्के नियुक्त भएकी छन् । खुला सदस्यमा एमालेबाट सानुकाजी वन्त नियुक्त भएका छन् ।
कांग्रेसकै कोटाबाट धौलागिरि अस्पताल बागलुङमा तेजबहादुर कुँवर अध्यक्ष नियुक्त भएका छन् भने कांग्रेसबाटै महिला सदस्यमा पार्वती थापा क्षेत्री नियुक्त भएकी छन् भने एमालेबाट सदस्यमा सञ्जीव कँडेल नियुक्त भएका छन् ।
कांग्रेसले पाएको अर्को मातृशिशु मितेरी प्रादेशिक अस्पतालमा राजेन्द्रबहादुर देवकोटा अध्यक्ष नियुक्त भएका छन् भने कांग्रेसबाटै सदस्यमा वन्दना कार्की केसी नियुक्त भएकी छन् । एमालेबाट खुला सदस्यमा अर्जुन थापालाई नियुक्त गरिएको हो ।
नेकपा एमालेको भागमा परेको प्रदेश अस्पताल आँपपिपलमा पार्वतीदेवी पाठक नियुक्त भएकी छन् । महिला सदस्यमा पनि एमालेबाटै प्रमिला रानामगर गुरुङ नियुक्त भएकी छन् । खुला सदस्यमा कांग्रेसबाट रविन्द्र देवकोटा नियुक्त भएका छन् ।
एमालेको भागमा परेको गण्डकी आयुर्वेद अस्पताल लेखनाथको अध्यक्षमा बद्रीनाथ ढुंगाना नियुक्त भएका छन् भने महिला सदस्य पनि कांग्रेसबाटै वेलकुमारी न्यौपाने र खुला सदस्यमा एमालेबाट दीपेश भण्डारी नियुक्त भएका छन् ।
प्रदेश मातहतका सबै अस्पतालको व्यवस्थापन समिति खारेज गरेको गण्डकी सरकारले २ आयुर्वेद र १४ जिल्ला अस्पताल गरी १६ अस्पतालको व्यवस्थापन समितिमा भागबन्डा गरेका हुन् । ११ वटा अस्पतालमा गत पुस २३ गते अध्यक्ष तथा सदस्य भागबन्डामै नियुक्त भएका थिए ।
कांग्रेसलाई नवलपुरको मध्यबिन्दु, लमजुङ, तनहुँ, पर्वत, मुस्ताङ र बागलुङको बुर्तिबाङ अस्पताल व्यवस्थापन समितिको अध्यक्ष दिइएको थियो भने बागलुङको धौलागिरि, म्याग्दी, मनाङ, स्याङ्जा र जनरल तथा सरुवा रोग अस्पताल व्यवस्थापन समिति अध्यक्ष एमालेबाट यसअघि नै नियुक्त भएका हुन् ।
मध्यबिन्दु अस्पतालमा बालकृष्ण घिमिरे, मुस्ताङ अस्पतालमा तेन्जिङ थकाली, लमजुङ अस्पतालमा विजय गुरुङ र पर्वत अस्पतालमा यामबहादुर नेपाली, दमौली अस्पतालमा कमलामोहन वाग्ले नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री कृष्ण पाठकको जिल्ला बागलुङको बुर्तिबाङ अस्पतालको अध्यक्षमा पनि कांग्रेस कोटाबाट कमल भुसाल नियुक्त भएका थिए ।
एमालेको भागमा परेको बागलुङकै धौलागिरि प्रादेशिक अस्पतालमा श्रीप्रसाद शर्मा अध्यक्ष नियुक्त भएका छन् । जनरल तथा सरुवा रोग लेखनाथ पोखरामा ऋषिराज जमरकट्टेल, स्याङ्जा अस्पतलमा डिलकुमार भुजेल, वेनी अस्पतालमा डेकबहादुर बानियाँ, मनाङमा अर्विण गुरुङ नियुक्त भएका थिए ।
गत भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ गठनादेश जारी गर्ने निर्णय गर्दै सबै अस्पतालका व्यवस्थापन समिति खारेज गरेको थियो । यसअघि मातहतका अस्पतालहरूमा नेपाली कांग्रेस, नेकपा माओवादी, नयाँ शक्ति लगायतले भागबन्डा गरेका थिए ।
गण्डकी प्रदेश सरकारले योग्यताका आधारमा अस्पतालहरूको व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गर्ने गरी नयाँ गठनादेश जारी गरेको दाबी गरेको थियो ।
सम्बन्धित जिल्लाका स्थानीयवासी रहेका स्नातक पास गरेका व्यक्तिहरूबाट अध्यक्ष नियुक्त गर्ने कार्यविधिमा छ । नयाँ गठनादेशअनुसार १०० र ५० शय्याको अस्पतालमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ भने सबै अस्पतालको अध्यक्ष हुन सम्बन्धित जिल्लाकै स्थायी वासिन्दा हुनुपर्ने छ ।
२५ शय्यासम्मका अस्पतालमा भने शैक्षिक योग्यता तोकिएको छैन । १०० र ५० शय्याका अस्पताल व्यवस्थापन सदस्य हुनका लागि प्लस टु वा प्रवीणता तहको हुनुपर्ने व्यवस्था छ । अस्पतालमा ९ सदस्यीय व्यवस्थापन समिति हुने कार्यविधि छ ।
१०० र ५० शैय्याका हकमा स्थानीय तहको प्रमुख वा निजले तोकेको कार्यपालिका सदस्य, कम्तीमा स्नातक तह उत्तीर्ण सम्बन्धित जिल्लाको व्यक्तिबाट मन्त्रालयले मनोनित गरेको एक महिलासहित दुई जना, जिल्ला प्रशासन, प्रदेश लेखा नियन्त्रक कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयको अधिकृत प्रतिनिधि, समितिले मनोनित गरेको अस्पतालमा कार्यरत स्थायी विशेषज्ञ चिकित्सकबाट एक जना, अस्पतालको नर्सिङ प्रमुख र सदस्य सचिवमा मेडिकल सुपरिन्टेन्डेन्ट रहने छन् । २५ शय्याको अस्पतालमा ७ सदस्यीय समिति रहने छन् ।
यसअघि सरकारले भागबन्डामा तोकिएका अध्यक्षको कार्यकाल सकिएसँगै जिल्ला समन्वय समितिको प्रमुख अध्यक्ष रहने व्यवस्था गरिएको थियो । जसअनुसार मुस्ताङ, तनहुँ लगायतका जिल्लामा समन्वय समितिका प्रमुखले नै अध्यक्षका रूपमा काम गर्न थालिसकेका थिए ।
यो व्यवस्थालाई खारेज गर्दै सरकारले नयाँ गठनादेश ल्याएर समितिको अध्यक्ष भागबन्डामा नियुक्त गरेको हो । अस्पतालका अध्यक्ष तथा सदस्यहरूले बैठक भत्ता पाउने गरी व्यवस्था गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले सरकारको नेतृत्व गरिरहेका छन् भने खगराज अधिकारी नेतृत्वको एमाले ४ मन्त्रालय लिएर सरकारमा छ ।
प्रतिक्रिया 4