९ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार पर्सि बिहान ९ बजेदेखि मतदान सुरु हुनेछ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपपतिबाट मनोनित हुन् । बाँकी १८ सदस्यका लागि पर्सि निर्वाचन हुँदैछ ।
सात वटै प्रदेशमा मतदान केन्द्र छ । यसका लागि आवश्यक साम्रमी निर्वाचन कार्यलयमा पुगिसकेको छ । ‘आवश्यक सम्पुर्ण तयारी पुरा भएको हुनाले माघ ११ गते तोकिएकै समयमा मतदान सुरु हुनेछ,’ उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने ।
मतदानको समय माघ ११ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम कायम भएका मतदाताहरूले मतदान गर्न पाउनेछन् ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् । मतदान गर्न जाँदा उनीहरूले पाँच किसिमका कागजातमध्ये एउटा लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, निर्वाचन अधिकृतवाट प्रदेश सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र, निर्वाचन अधिकृतबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र भए पनि मतदान गर्न पाइनेछ ।
प्रदेश सभा सचिवालय वा स्थानीय तहले उपलब्ध गराएको सम्बन्धित पद खुलाएको परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र जुन भए पनि एउटा प्रमाण चाहिन्छ ।
निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये कांग्रेस र एमालेले भागवण्डा गरेर क्रमश ९ र ८ सिटमा उम्मेदवारी दिएका छन् । बाँकी एउटा पदमा लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेका छन् ।
कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन् ।
भागवण्डा अनुसार मधेश प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा, एमालेबाट रोशनी मेचे र सोम पोर्तेल उम्मेदवार छन् । कोशी प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान, रन्जित कर्ण र एमालेका रेखा झा उम्मेदवार छन् ।
बागमती प्रदेशमा कांग्रेसले गीता देवकोटा र एमालेले प्रेम दंगाललाई उम्मेदवार बनाएको छ । गण्डकी प्रदेशमा कांग्रेसबाट जगत तिमिल्सिना र एमालेबाट र सम्झना देवकोटा उम्मेदवार छन् । लुम्बिनी प्रदेशमा कांग्रेसबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, एमालेबाट रामकुमारी झाक्री उम्मेदवार छन् ।
कर्णाली प्रदेशमा कांग्रेसबाट ललितजंग शाही, एमालेबाट मिना रखाल, सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी उम्मेदवार रहेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीले भने सबैतिर एकल उम्मेदवारी दिएको छ ।
प्रतिक्रिया 4