१० माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले ‘पूराना दल गलत भएकोले नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको टिप्पणी गरेका छन् ।
शनिबार आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले हाल राजनीतिक वृत्तमा फैलाइएको नयाँ–पूराना दलको बहस वास्तविक समस्याबाट ध्यान हटाउने प्रयास मात्रै भएको बताएका हुन् ।
‘अहिले लागेको नारामा पुराना दल गलत, नयाँ दल चाहिन्छ भन्ने नारा चाँही क्रान्तिकारी नारा होइन । यो चाहीँ भुलभुलैया गर्ने, जनतालाई भ्रमित पार्ने नारा हो । यहाँ दलसँगको समस्या होइन, जनतलो चाहेको त सत्ता हो नी । जनताले चाहेको त आफ्नो सेवा गर्ने हो, आफ्नो पक्षमा निर्णय गर्ने हो । न्यायपूर्ण ढंगले फैसला लिने सत्ता चाहिएको हो नि जनताले । त्यो नयाँ दल र पुराना दलको कुरा होइन,’ विप्लवले भने ।
अहिले सत्ताको बहस ओझेलमा पारेर बाहिरी फैलाइएको नयाँ र पुराना दलको हल्लाखल्ला सत्य नभएको दाबी उनको थियो ।
नयाँ दलप्रति जनतामा देखिएको आशा केही हदसम्म पुराना दलको असफलताबाट जन्मिएको भएपनि पूरानो राज्यसत्ता यथावत रहेसम्म नयाँ दल आएर मात्रै समस्या समाधान नहुने उनको भनाइ छ ।
‘पूराना दलहरु कामै नलाग्नेगरि खत्तम भए, त्यहाँबाट भ्रष्टाचार जन्मियो, विकृति जन्मियो, त्यहाँबाट सारा जनतालाई लुटपाट भयो, देश चाहीँ राष्ट्रघातमा पर्यो भन्ने हिसावले पुराना दलले गरेनन् भन्नेकुरा एक तहसम्म त मिल्छ, तर यो चाहीँ कति सत्य होइन भन्दाखेरि नयाँ दल आउने वित्तिकै यो सत्ता यस्तै रह्यो भने अनि ठिक भइहाल्छ भन्ने कुरा चाँही सत्य होइन,’ विप्लवले सुनाए ।
नयाँ नेता र पुराना नेताको बहस पनि वास्तविक निकास दिने तर्क नरहेको उनले बताए ।
उनका अनुसार २५–३० वा ४०–४५ वर्षको नयाँ अनुहार आएपछि सबै ठिक हुने र पूरानो मान्छेले राम्रो गर्न सक्दैन भन्नेकुरा सत्य होइन ।
‘पूराना नेताको समस्या हो तर नयाँ नेता र पूराना नेताको समस्या पनि मुख्य होइन । नयाँ आउने वित्तिकै, कुनै नयाँ अनुहार टक्क परेको भर्खरको २५/३० वर्षको या ४०/४५ वर्षको मान्छे आउने बित्तिकै राम्रो गरिहाल्छ र पुरानो मान्छेले चाहीँ राम्रो गर्दैन भन्ने कुरा चाहीँ सत्य कुरा होइन,’ विप्लवले भने ।
प्रतिक्रिया 4