+
+
Shares

प्रकाण्डको पराजय, ब्यालेटमा पनि रहेन विप्लवप्रति विश्वास

सशस्त्र क्रान्ति बन्दुक बोकेका नेत्रविक्रम चन्द नेतृत्वको माओवादी यसपटक गुलाब चुनाव चिन्ह लिएर संसदीय चुनावमा सहभागी भएका थिए । विप्लव आफैं चाहिँ उठेनन् तर उनको पार्टीबाट जित्ने सूचिमा खड्गबहादुर विश्वकर्मालाई राखिएको थियो । उनको पनि पराजय भयो । विप्लवको बुलेटका विश्वास नगरेको जनताले ब्यालेटमा पनि जनताले पत्याएनन् ।

यज्ञ खत्री यज्ञ खत्री
२०८२ फागुन २३ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत पाउँदै विप्लव नेतृत्वको माओवादीका खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई पराजित गरे।
  • प्रकाण्ड १८ वर्षपछि चुनावी मैदानमा फर्किएका थिए तर ४ हजार ५९९ मत पाउँदै चौथो स्थानमा रहे।
  • प्रकाण्डले जातियताको मुद्दा उठाउँदै दलित बाहुल्य क्षेत्रको प्रतिनिधित्व खोजेका थिए तर मतदाताले उनलाई स्विकारेनन्।

२३ फागुन, सुर्खेत । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाहीले विजय प्राप्त गर्दा विप्लव नेतृत्वको माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले पराजय बेहोरे ।

२०६४ को निर्वाचनमा सोही क्षेत्रबाट भारी मतका साथ विजय भएका प्रकाण्ड १८ वर्षपछि ‘बुलेट’ त्यागेर ‘ब्यालेट’मा फर्किएका थिए । गुलाफको फुल चुनाव चिन्ह लिएर मतदाताको घरदैलोमा गएका प्रकाण्डलाई जनताले स्विकारेनन् ।

झन्डै दुई दशकदेखि निर्वाचन बहिस्कार गर्दै आएका प्रकाण्ड यस पटक संसदीय चुनावमा होमिएपछि कालिकोटको चुनावलाई रोचकताका साथ हेरिएको थियो । रोचक यस कारण पनि थियो कि, प्रकाण्डका प्रतिस्पर्धी हिजोका आफ्नै सहकर्मी महेन्द्रबहादुर शाही थिए ।

प्रकाण्डको चुनावी सभा, घरदैलो अभियान र सहिद परिवारसँगको मिलनका भिडियोहरू पनि सामाजिक सञ्जालमा भाइरल बने । चुनावी सभालाई सम्बोधन गर्दै ‘कन्फिडेन्ट’का साथ प्रकाण्ड भन्थे, ‘सबै दलहरू एक भएपनि, प्रचण्ड नै आए पनि कालिकोटमा चुनाव म जित्छु ।’

कालिकोटमा करिब २८ प्रतिशत (लगभग ४० हजार आसपास) दलित जनसंख्या छ । प्रकाण्डले चुनावी प्रचारका क्रममा जातियताको मुद्दा जोडतोडका साथ उठाउँदै आएका थिए । जिल्लामा दलित समुदायको बाहुल्यता भएको र प्रकाण्ड साबिक माओवादी नेता भएकाले उनले जित्ने अनुमान गरिएको थियो ।

शुक्रवार मध्यरात आएको चुनावी परिणाम भने फरक आयो । मतगणनाको अन्तिम नतिजा आउँदा प्रकाण्डले लज्जास्पद पराजय व्यहोर्नु पर्‍यो । महेन्द्रबहादुर ११ हजार ३३८ मतसहित विजयी हुँदा ४ हजार ५९९ मत पाएका प्रकाण्ड चौथो स्थानमा रहे ।

एमालेका नगीन्द्रबहादुर शाही ‘नेशनल’ ले १० हजार ३५२ मत ल्याए दोस्रो हुँदा ७ हजार १३३ मत पाएका कांग्रेसका हर्षबहादुर बम तेस्रो बने । देशैभर उर्लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहडले कालिकोटमा छोएन । दुई हजार ९३७ मत प्राप्त गरेका रास्वपाका प्रकाश न्यौपाने पाँचौँ स्थानमा छन् ।

१० वर्षे सशस्त्र युद्धबाट तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा प्रकाण्ड कालिकोट १ बाट उम्मेदवार थिए । त्यस बेला उनले २७ हजार ६२९ मत ल्याएर विजयी भए ।

चुनाव जितेपछि २०६५ सालमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भए । २०६७ सालमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने । पहिलो संविधानसभाले संविधान जारी गर्न सकेन । यहीबिच २०६९ सालमा तत्कालीन नेकपा माओवादी विभाजित भयो ।

मोहन वैद्य किरणको नेतृत्वमा भएको विभाजनमा प्रकाण्ड विभाजनतिरै लागे । २०७० सालको संविधानसभामा वैद्य नेतृत्वको पार्टीले चुनाव बहिष्कार गर्‍यो । प्रकाण्ड निर्वाचन बिथोल्ने नीतिमा लागे, उम्मेदवार हुने कुरै भएन ।

त्यसपछि कालिकोटको राजनीतिमा जबरजस्त उदाएका थिए, महेन्द्रबहादुर शाही । प्रकाण्डले पार्टी छाडेपछि २०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा उनको ठाउँमा महेन्द्रले टिकट पाए । माओवादी फुटकैबीचबाट चुनाव जितेका महेन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्री बने ।

त्यही बेला उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्दै चर्चामा आए । ०७४ को निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्य बनेका शाही प्रदेशको प्रथम मुख्यमन्त्री समेत बने ।

प्रकाण्ड महेन्द्र बहादुर शाहीभन्दा सिनियर नेता हुन् । युद्धकालमा प्रकाण्ड पार्टी राजनीतिमा भेरी—कर्नाली क्षेत्रका प्रमुख नेतामध्ये एक थिए । महेन्द्र भने जनमुक्ति सेनाका लडाकु कमान्डर थिए । माओवादी शान्ति प्रक्रियापछि महेन्द्रबहादुर सेनामै थिए भने प्रकाण्ड ०६४ को चुनावमा बलियो मत ल्याएर संसदीय राजनीतिमा प्रवेश गरेका थिए ।

२०७१ सालमा वैद्य नेतृत्वको पार्टी पनि फुट्यो र नेत्रविक्रम चन्द नेतृत्वमा अर्को पार्टी बन्यो । प्रकाण्ड नयाँ पार्टीतिर लागे । विप्लव नेतृत्वको पार्टीले पनि त्यसयताका चुनाव बहिष्कार गर्दै आयो । यस पटक यो पार्टी चुनावी मैदानमा आएपछि प्रकाण्ड पनि १८ वर्ष पछि भोट माग्दै जनताको घरदैलोमा पुगेका थिए ।

कालिकोटजस्तो भौगोलिक रूपमा विकट जिल्ला, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीको चुनौतीबिच प्रतिनिधित्व खोजिरहेको अवस्थामा प्रकाण्डले पनि स्थानीय मुद्दालाई संसदमा उठाउने प्रतिबद्धता जनाई रहेका थिए ।

हिजो बन्दुक बोकेर चुनाव बिथोल्दै हिँड्ने प्रकाण्ड गुलाबको फूल चुनाव चिन्ह लिएर भोट मागिरहेका थिए । पछिल्लो समय कृषि क्रान्तिमा अग्रसर भएका उनी र उनको पार्टी १८ वर्षपछि ‘बुलेट’ त्यागेर ‘ब्यालेट’ मा फर्किएको थियो । तर विप्लव नेतृत्वको माओवादीलाई चुनाव फापेन ।

विप्लव नेतृत्वको माओवादीमा दोस्रो तहका नेताका रूपमा रहेका प्रकाण्ड माओवादीले सुरु गरेको सशस्त्र युद्धताका कर्णालीमा शीर्ष नेताहरूमध्ये एक थिए । कुनै बेला भेरी–कर्णाली जनसरकार प्रमुख नै भएका थिए ।

५७ वर्षीय प्रकाण्ड कालिकोटको नरहरिनाथ गाउँपालिकाका स्थायी बासिन्दा हुन् । आइएडसम्म अध्ययन गरेका उनले शिक्षण पृष्ठभूमिबाट राजनीति प्रवेश गरेका थिए । पछि माओवादी आन्दोलनसँग आबद्ध भएर राजनीतिमा स्थापित नेता बनेका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?