News Summary
Generated by OK AI. Editorially reviewed.- शाहरुख खान अभिनित फिल्म ‘किङ्ग’ २४ डिसेम्बर २०७९ मा विश्वब्यापी प्रदर्शनमा आउनेछ।
- फिल्मको नयाँ टिजरमा शाहरुख घाइते अवस्थामा भवनको सिसा फुटाउँदै भित्र हाम फालेको देखिन्छ।
- ‘किङ्ग’ डिसेम्बर १८ मा रिलिज हुने हलिउड फिल्म ‘एभेन्जर्स : डूम्सडे’ सँग प्रतिस्पर्धा गर्नेछ।
मुम्बई । शाहरुख खान अभिनित प्रतिक्षित फिल्म ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले शनिबार नयाँ टिजरसहित प्रदर्शन मिति घोषणा गरेका हुन् ।
यो फिल्म २४ डिसेम्बर (पुस ९ गते) क्रिसमसको अवसरमा विश्वब्यापी प्रदर्शनमा आउनेछ ।
नयाँ टिजरको सुरुवातमा शाहरुख हिउँले भरिएको पहाडको चुचुरोमा उभिएर चिच्याइरहेको देखिन्छ । उनी घाइते अवस्थामा छन् र एउटा भवनको सिसा फुटाउँदै भित्र हाम फालेको देखाइएको छ ।
उनको शरीर र अनुहार रगतले लतपतिएको छ भने आँखामा निकै रिस देखिन्छ । टिजरको एउटा दृश्यमा शाहरुख कसैलाई मुक्काले हिर्काइरहेका छन् । भिडियोको अन्त्यमा उनको एउटा संवाद सुनिन्छ- “डर होइन, म त दहसत हुँ ।’
‘एभेन्जर्स’ सँग प्रतिस्पर्धा
शाहरुखको यो फिल्म रिलिज हुनुभन्दा ६ दिन अघि (डिसेम्बर १८ मा) हलिउड फिल्म ‘एभेन्जर्स : डूम्सडे’ रिलिज हुँदैछ । यसको अर्थ शाहरुखले यसपटक सिधै एभेन्जर्ससँग टक्कर लिनेछन् ।
यस वर्ष ‘बोर्डर २’ जस्ता ठूला फिल्म आइसकेका छन् र अबका दिनमा पनि धेरै एक्सन र मसलेदार फिल्म हलमा लाग्नेवाला छन् । पौराणिक कथामा आधारित फिल्मले पनि यस वर्ष बक्सअफिसमा आफ्नो उपस्थिति जनाउनेछन् ।
‘किङ्ग’ मा शाहरुखसहित उनकी छोरी सुहाना खान, सुनील ग्रोवर, दीपिका पादुकोण, अभिषेक बच्चन, जयदीप अहलावत, राघव जुयाल देखिनेछन् । यस बाहेक रानी मुखर्जी, अनिल कपूर र ज्याकी श्राफ जस्ता कलाकार पनि फिल्ममा हुन सक्ने चर्चा छ, तर उनीहरूको नामको औपचारिक पुष्टि हुन बाँकी छ ।
प्रतिक्रिया 4