+
+
Shares

५० वर्षपछि मानवसहितको रकेट चन्द्रमा प्रस्थानको तयारीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १० गते २०:२८

१० माघ, काठमाडौं। नासाको ऐतिहासिक चन्द्र अभियान आर्टिमिस-२ को तयारी अन्तिम चरणमा पुगेसँगै ५० वर्षभन्दा बढी समयपछि मानव जाति फेरि चन्द्रमाको नजिक पुग्ने निश्चित भएको छ ।

फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरको प्रक्षेपण प्याड ३९बीमा हालै मात्र नासाको विशाल ‘स्पेस लन्च सिस्टम’ (एसएलएस) रकेट र ‘ओरियन’ अन्तरिक्ष यानलाई स्थानान्तरण गरिएको छ । नासा र विश्वभरका खगोलविद्हरूका अनुसार यो ऐतिहासिक मिसनको प्रक्षेपणका लागि आगामी फेब्रुअरी ६, २०२६ को मिति तय गरिएको छ, जसले मानव अन्तरिक्ष यात्राको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ ।

अहिले इन्जिनियरहरूको टोली रकेटको अन्तिम परीक्षण र इन्धन भर्ने प्रक्रियाको तयारीमा जुटेका छन्, जसलाई प्राविधिक भाषामा ‘वेट ड्रेस रिहर्सल’ भनिन्छ ।

यो परीक्षण सफल भएमा निर्धारित समयमै चारजना अन्तरिक्ष यात्रीहरू चन्द्रमाको कक्षतर्फ प्रस्थान गर्नेछन् । यस मिसनमा कमान्डर रीड वाइजम्यानको नेतृत्वमा भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यान्सन सहभागी हुँदैछन् ।

यसमा रोचक कुरा के छ भने यो यात्रा सफल भएमा क्रिस्टिना कोच चन्द्रमाको यात्रा गर्ने विश्वकै पहिलो महिला बन्नुहुनेछ । सबै यात्रीहरू सुरक्षित रूपमा यात्राका लागि तयार हुन अहिले विशेष क्वारेन्टाइनमा बसिसकेका छन् ।

आर्टिमिस-२ मिसनको मुख्य उद्देश्य चन्द्रमाको सतहमा उत्रनु नभई त्यसको वरिपरि चक्कर लगाएर ओरियन यानको सुरक्षा र जीवनरक्षा प्रणालीहरूको परीक्षण गर्नु हो ।

१० दिन लामो यस यात्राले गहिरो अन्तरिक्षमा मानिसले कसरी लामो समयसम्म काम गर्न सक्छ भन्ने कुराको प्रमाणीकरण गर्नेछ ।

यस मिसनको सफलताले नै सन् २०२७ मा सञ्चालन गरिने आर्टिमिस-३ अभियानको बाटो खोल्नेछ, जसमा मानिसलाई पुनः चन्द्रमाको सतहमा अवतरण गराउने नासाको ठूलो योजना रहेको छ। हाल विश्वभरका वैज्ञानिक र अन्तरिक्ष प्रेमीहरूको नजर यो विशाल रकेटको अन्तिम काउन्टडाउनतर्फ सोझिएको छ । (विभिन्न एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?