११ सिरहा । सिरहाका चारवटै निर्वाचन क्षेत्रमा अहिले चुनावको माहोल छ । दलका उम्मेदवारहरु गाउँ–गाउँ पस्दै भोट बटुल्न तँछाडमछाड गरिरहेका छन् । उनीहरु भन्छन्– ‘गरिब–असहायको आँसु पुछ्नेछौँ । विपन्नका लागि काम गर्नेछौँ ।’
यो चुनावी कोलाहलबाट केही टाढा गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाको एक शान्त कुनामा ७२ वर्षीय मोती महतो भने स्वास्थ्यको संवैधानिक हकबाट बन्चित भएझैं आँसु पुछिरहेका छन् ।
भोट माग्नेहरूको लर्को उनी बसेको कबिर कुटी नजिकैबाट गुज्रिन्छ, तर उनको पीडा सुन्न कसैको पाइला रोकिँदैन ।
कविर कुटीको संसार
खोलाको डिलमा रहेको जिम्म्दार टोलबाट चार वर्षअघि कविर कुटी (आश्रम)मा बस्न थालेका उनका लागि अहिले त्यही कुटी नै संसार बनेको छ । अविवाहित जीवन, रित्तो गोजीसँगै विगत तीन वर्षदेखि हर्नियाको असह्य पीडासँग जुधिरहेका छन् मोती ।
पीडाले थलिएको शरीर र ओभानो हुन नपाएका आँखा बोकेर उनी प्रश्न गर्छन्, ‘आखिर म पनि यो देशको नागरिक होइन र ?’
उनको स्वर भारी हुन्छ, ‘चुनाव आउँछ, नेताहरू आउँछन् । घरदैलोमा भोट माग्छन्, गरिबको दु:ख बुझ्छौँ भन्छन् । भोट लिएर जितेपछि सिधै काठमाडौं पस्छन् । फेरि फर्केर पनि हेर्दैनन् ।’
उपचार खर्च अभाव

उनका अनुसार तीन वर्षअघि चिकित्सकले उनलाई भनेका थिए– हर्नियाको शल्यक्रिया गर्नुपर्छ ।’ तर, लागत सुनेपछि मोती झस्किए । करिब एक लाख रुपैयाँ खर्च लाग्ने खबर उनका लागि सपनाभन्दा बाहिरको कुरा थियो ।
कविर कुटीका साथीहरूको सहयोग र केही मानवीय संवेदना जुटेपछि २०८२ असार ३ गते ४० हजार रुपैयाँमा पहिलो शल्यक्रिया त भयो । तर, उनको उपचार अझै अधुरो छ । चिकित्सकले एक वर्षपछि पुन: शल्यक्रिया गर्नुपर्ने भनेको उनी बताउँछन् ।
‘अब कसरी गराउने ?’ मोतीको यो प्रश्नको उत्तर दिन आजसम्म कुनै नेता–कार्यकर्ता उनको कुटीमा पुगेका छैनन् ।
कुनै बेला शरीर बलियो हुँदा मोती गाउँका हुनेखानेका गाई–भैँसी चराउँथे । पसिनाले भिजेको दिनचर्या नै उनको बाँच्ने आधार थियो । तर आज समय बदलिएको छ । उनका हात काँप्छन्, खुट्टा लुला हुँदै गएका छन् । पेटको दुखाइले उठबस गर्न दिँदैन । अब उनी पूर्ण रूपमा कुटीका साथीहरूको भरमा छन् ।
सिरहाका सडकहरू चुनावी पर्चा र झन्डाले रंगिएका छन् । नेताहरू जनताको भविष्य लेख्ने दाबी गरिरहेका छन् । तर, कविर कुटीको एउटा कुनामा बसेर मोती महतो आज पनि निरुपाय देखिन्छन् ।
मोतीको अवस्था नजिकबाट नियालेका कविर कुटीमै बस्दै आएका ६७ वर्षीय पैतराम महतो आक्रोश पोख्छन्, ‘भाषण गर्ने होइन, हामी वृद्धवृद्धालाई हेर्ने नेता चाहियो । चिसोमा ओढ्ने कपडा र बिरामी पर्दा सोध्ने मान्छे चाहियो । हामीलाई सहारा चाहिएको हो ।’
मोती महतोसँग नागरिकता छ । कानुनको पानामा उनी यो देशको पूर्ण नागरिक हुन् । तर, व्यवहारमा उनी राज्यका लागि ‘अदृश्य’ सरह छन् । उनी लामो सास फेर्दै भन्छन्, ‘नेतालाई हाम्रो भोट चाहिँ चाहिन्छ, तर दु:खमा कसैले सोध्दैन । कहिले बन्छ हाम्रो सरकार ?’
प्रतिक्रिया 4