News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले समूह चरणको अन्तिम खेल माघ १२ गते स्कटल्यान्डसँग खेल्दै छ।
- नेपालले स्कटल्यान्डलाई जित्नैपर्ने दबाब छ र नेदरल्यान्ड्स र थाइल्यान्डबीचको खेलको नतिजामा पनि निर्भर छ।
- नेपालको बलिङ र फिल्डिङमा सुधार आवश्यक छ भने चोटग्रस्त सीता राना मगरको स्थानमा राजमती ऐरी खेल्न सक्छिन्।
११ माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा खेलेका तीन खेलमध्ये एक खेल मात्र जितेको नेपाली महिला क्रिकेट टोली अब प्रतियोगिताको निर्णायक मोडमा छ ।
थाइल्यान्ड र नेदरल्यान्ड्ससँग भएका सुरुवाती दुई खेलमा हार बेहोरेपछि तेस्रो खेलमा जिम्बाबेमाथि जित निकालेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्दै छ ।
अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न यो खेल नेपाललाई जित्नैपर्ने दबाब छ । तर जितले मात्र पनि पर्याप्त नहुन सक्छ ।
नेपालले स्कटल्यान्डलाई कुन अन्तरले पराजित गर्छ त्यसमा पनि भर पर्नुपर्ने अवस्था छ भने त्यति मात्र नभएर त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने अवस्था बनेको छ ।
यो अवस्थामा समिकरणको कुरा गर्नुपर्दा नेपालले स्कटल्यान्डलाई हराएर नेदरल्यान्ड्सले थाइल्यान्डलाई हराएमा नेपाल अघि बढ्ने सम्भावना सबैभन्दा बलियो देखिन्छ ।
नेपालले स्कटल्यान्डलाई जितेर थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल र स्कटल्यान्डको समान २ जित अनि ४ अंक हुन्छ । यस्तोमा नेटरनरेट हेरिन्छ र स्कटल्यान्ड अहिले बलियो नेटरनरेटमा भएकाले नेपालले ठूलो जित निकाल्नुपर्ने छ ।
यदि नेपाल स्कटल्यान्डसँग पराजित भएम स्वत: बाहिरिनेछ र थाइल्यान्ड र स्कटल्यान्ड दुवै छनोट हुनेछन् । नेदरल्यान्ड्स यसअघि नै छनोट भइसकेको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकले स्कटल्यान्डसँगको खेलमा बाँकी रहेका कमजोरी सुधार गरेर मैदानमा उत्रने बताएका छन् । ‘सुपर सिक्सको सम्भावना राम्रो देखेको छु, हामी त्यही खेलमा केन्द्रित रहनेछौं । हामीले के कुरामा ध्यान दिनुपर्नेछ त्यही कुरामा आफूलाई सुधारेर आउनेछौं’ पाठकले भने ।
यस्तै टिमकी उपकप्तान पूजा महतोले पनि राम्रो जित निकाल्ने बताइन् । ‘हामी राम्रो अन्तरको जित निकाल्ने हिसाबले तयारी गर्नेछौं’ पूजाले भनिन् ।

फिल्डिङमा अझै चुनौती
नेपाली टोलीले सुरुवाती दुई खेलमा भोगेका दुई समस्यामध्ये ब्याटिङको समस्या तेस्रो खेलमा धेरै हदसम्म सुधार भएको देखिएको छ ।
ब्याटिङमा ओपनिङपछिको अर्डरमा देखिएको कमजोरी सुधार गर्दा नेपालले जिम्बाबाेसँगको खेल जित्न सफल भयो । उपकप्तान पूजा महतोले संयमित ब्याटिङ गरेर खेल जिताएकी थिइन् ।
तर नेपालको बलिङ र फिल्डिङमा अझै केही समस्याहरू विदितै छन् । बलिङ अनुसारको फिल्डिङ सेटअप नगर्नु अनि फिल्ड अनुसारको बलिङ गर्न नसक्नु नेपालको कमजोरीका रूपमा देखिएको छ ।
नेपाली टोलीले हरेक बलपछि पनि फिल्ड सेटअप परिवर्तन गर्दा अलमल पनि त्यस्तै मात्रामा भएको देखिँदै आएको छ । स्कटल्यान्ड धेरै राम्रो टोली भएकाले नेपालले यो पक्षमा ध्यान दिन जरुरी छ ।
हेड टु हेड
स्कटल्यान्ड महिला टोली एसोसियट टोलीमध्ये सबैभन्दा माथिल्लो वरियतामा भएको टोली हो । महिला टी-२०आई वरियतामा स्कटल्यान्ड ११औं स्थानमा छ । नेपाल २१औं स्थानमा छ ।
स्कटल्यान्डले एकपटक टी-२० विश्वकप खेलेको छ । गत संस्करण यूएईमा भएको महिला टी-२० विश्वकप २०२४ स्कटल्यान्डले खेलेको थियो । समूह चरणबाट अगाडि भने बढ्न सकेन । सोही विश्वकपकै आधारमा स्कटल्यान्ड सोझै ग्लोबल छनोट खेल्न लागेको हो ।
नेपालले हालसम्म स्कटल्यान्डसँग टी-२०आईमा खेलेको छैन । प्रतियोगिताअघि नेपालले अभ्यास खेल भने खेलेको थियो जहाँ २७ रनले पराजित भएको थियो ।

टिम कम्बिनेसन र सम्भावित ११
नेपालले अघिल्लो खेल जितेकाले त्यही टोलीलाई निरन्तरता दिने सम्भावना रहन्थ्यो । तर सीता राना मगर जिम्बाबेसँगको खेलमा चोटग्रस्त भएकाले उनले खेल्ने/नखेल्ने पक्का छैन ।
जिम्बाबेसँगको खेलमा १८औं ओभरको तेस्रो बलमा १ रन लिने क्रममा उनी विपक्षी बलरसँग ठोक्किएकी थिइन् र समस्यामा देखिएकी थिइन् । उनलाई तत्कालै स्ट्रेचरमा राखेर बाहिर लगी एम्बुलेन्समा अस्पताल पठाइएको थियो ।
सीता रानामगर नखेले उनको स्थानमा बाँयाहाते बलिङ अलराउन्डर राजमती ऐरी टिममा आउने सम्भावना छ । यसबाहेक अन्य परिवर्तनको सम्भावना देखिँदैन ।
अघिल्लो खेलमा जित निकालेको स्कटल्यान्ड त्यही टोलीका साथ खेल्ने सम्भावना छ ।
नेपाल : इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, राजमती ऐरी, रोमा थापा, कविता जोशी
स्कटल्यान्ड : क्याथरिन ब्राइस, क्याथरिन फ्रेजर्स, डार्शी कार्टर, प्रियानाज चटर्जी, सरहा ब्राइस, एलिसा लिस्टर, मेगान मेकल, ओलिभिया बेल, कोल एबेल, रचेल स्लेटर, अब्ताहा मकसुद

प्रभाव पार्न सक्ने खेलाडी
नेपालका लागि रुबिना क्षेत्री र पूजा महतो ‘प्लेयर्स टु वाच’ का रूपमा रहनेछन् । दुवैले आफ्नो अलराउन्ड क्षमताले टोलीका लागि म्याच विनिङ प्रदर्शन गर्न सक्छन् ।
ब्याटिङमा ओपनर सम्झना खड्का पनि घातक साबित हुन सक्छिन् । यस्तै पावरप्ले बलिङमा कविता कुँवरले राम्रो गर्नुपर्ने हुन्छ ।
स्कटल्यान्डका लागि कप्तान क्याथरिन ब्राइस सबैभन्दा प्रभावशाली रहन सक्छिन् । उनले अलराउन्ड प्रदर्शनबाट योगदान दिन सक्छिन् । यस्तै सरहा ब्राइसको प्रदर्शन पनि गेम चेन्जिङ हुन सक्छ। यी दुई दिदीबहिनी स्कटल्यान्डका लागि धेरै रन बनाउने शीर्ष २ खेलाडी हुन् ।
यता बलिङमा अब्ताहा मकसुद र क्याथरिन फ्रेजरको प्रदर्शनमा नजर रहनेछ ।
खेल : नेपाल विरुद्ध स्कटल्यान्ड
मिति र समय : माघ १२ गते, सोमबार विहान ९ बजे
स्थान : त्रिवि क्रिकेट मैदान
मौसम : सफा
प्रतिक्रिया 4