+

टाइगर कप भलिबलमा पर्वत भलिबल संघको लगातार दोस्रो जित

२०८२ माघ  ११ गते १५:१४ २०८२ माघ ११ गते १५:१४
टाइगर कप भलिबलमा पर्वत भलिबल संघको लगातार दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्वत जिल्ला भलिबल संघले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेको छ।
  • पर्वतले पुरुषतर्फ सशस्त्र प्रहरी बललाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित सुनिश्चित गरेको हो।
  • महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लबले सशस्त्र प्रहरी बललाई ३–० ले पराजित गरेको छ र प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ।

११ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा पर्वत जिल्ला भलिबल संघले लगातार दोस्रो जित दर्ता गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबलले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो ।

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको थियो । त्यसपछिका दुई सेटमा पुनरागमन जित निकाल्दै पर्वतले जित सुनिश्चित गर्‍यो । पर्वतले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले जित निकालेको हो ।

यसअघि पर्वतले आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित गरेका थियो । एपीएफले भने पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको थियो । अब आजको अन्तिम खेल पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ ।

यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लबले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा महिलातर्फ थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पुनरागमन जित निकालेको थियो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।

सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

छैटौं टाइगर कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय