+
+
Shares

८२ प्रहरीमाथि एकसाथ हेडक्वार्टरको छानबिन, तालिम नै नगरी ट्राफिकको ड्युटी

संगठनको नीतिविपरीत काम गरेका, आर्थिक अनियमिततामा जोडिएका, उजुरी परेका, अवैध गतिविधि गरेको भन्दै विभिन्न पत्रपत्रिकामा नाम आएका प्रहरीहरू छानबिनको दायरामा तानिएका छन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ माघ १३ गते २१:३३

१३ माघ, काठमाडौं । २ लाख रुपैयाँ असुलेर लागुऔषध कारोबारीलाई छाडेको आरोप लागेका दुई जना प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । प्रहरी हवल्दार धीरेन्द्र विष्ट र जवान सुजन कार्कीलाई प्रहरीले हिरासतमा लिएको हो ।

उनीहरूले लागुऔषध कारोबारीसँग रकम असुलेको पाइएपछि हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई बताउँछन् ।

अहिले हिरासतमा रहेका उनीहरू काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए । सादा पोशाक (घुमुवा) प्रहरीको रूपमा कार्यरत विष्ट भने यसअघि पनि यस्तै प्रकृतिको घटनामा जोडिएका थिए ।

उनी २०७७ सालमा न्युरोडमा हुन्डीको १० लाख रुपैयाँ लुटपाटमा जोडिएका थिए । त्यतिबेला उनी जिल्ला प्रहरी परिसर काठमाडौंको घुमुवा प्रहरीको रूपमा कार्यरत थिए ।

यो लुटपाट घटनामा सफाइ पाएपछि उनी जागिरमा फर्किएका थिए । उनै दागी विष्टलाई फेरि उपत्यका प्रहरी कार्यालयले सादा पोशाकमा खटाउँदा लागुऔषध कारोबारीसँगै रकम असुलेको भेटिएको हो ।

‘कानुनको नरजमा सबै जना बराबरी हुन्छन् भन्ने सन्देश हो यो । प्रहरी नै भए पनि गल्ती गरेपछि उन्मुक्ति पाउँदैनन्,’ परिसरका एसपी भट्टराई भन्छन् ।

सादा पोशाकका प्रहरी २ लाख घुससहित पक्राउ परेको यो पहिलो घटना भने होइन । सादा पोशाकमा रहेर काम गर्ने प्रहरीहरू पटकपटक विवादमा आउने गरेका छन् । चोरीदेखि रकम असुलीसम्म लाग्ने गरेको गुनासो व्यापक आउने गरेको छ ।

सादा पोशाकमा काम गर्ने प्रहरीमाथि धमाधम उजुरी र गुनासो आउने तथा उनीहरू रकम असुलीमा मुछिएको भेटिएपछि प्रहरी प्रधान कार्यालयले अहिले त्यस्ता प्रहरीलाई धमाधम हेडक्वार्टर झिकाइरहेको छ ।

२० पुसमा मात्रै प्रहरी प्रधान कार्यालयको सञ्चार महाशाखाका उपशाखा अधिकारी इन्स्पेक्टर रविनराज मैनालीले हस्ताक्षर गर्दै एक पत्र जारी गर्दै ३२ प्रहरीलाई हेडक्वार्टर पठाउन निर्देशन दिएका थिए ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘आवश्यक छानबिनको सिलसिलामा केही कुराहरू बुझ्नुपर्ने भएको हुँदा निम्न प्रहरी कर्मचारीहरूलाई आवश्यक सम्पूर्ण सर–सामग्रीसहित कार्यालय पोशाकमा २१ पुसमा कार्यालय समय भित्र यस महाशाखामा सम्पर्क गर्ने गरी उपस्थित गराइदिनुहुन भनी प्रहरी प्रधान कार्यालयको सुपरिवेक्षण तथा अनुगमन महाशाखाको च.नं. २३८४ को पत्र प्राप्त हुन आएको हुँदा तोकिएको समयमा उपस्थित हुने गरी खटाइ पठाउनुहुन निर्देशानुसार अनुरोध ।’

यसरी गरिएको पत्राचारमा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक (सई)सम्मको नाम उल्लेख छ । नाम उल्लेख भएका अधिकांशजसो मधेश प्रदेशमा कार्यरत छन् ।

यी ३२ जना मात्रै होइन अहिलेसम्म ८२ जनालाई प्रहरी हेडक्वार्टर झिकाएर छानबिन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले बताए ।

‘८२ जनालाई हेडक्वार्टर झिकाएका छौं । उजुरी छानबिन महाशाखाले छानबिन गरिरहेको छ,’ डीआईजी काफ्लेले अनलाइनखबरसँग भने ।

संगठनको नीतिविपरीत काम गरेका, आर्थिक अनियमिततामा जोडिएका, उजुरी परेका, अवैध गतिविधि गरेको भन्दै विभिन्न पत्रपत्रिकामा नाम आएकाहरू अहिले छानबिनको दायरामा तानिएको उनले बताए ।

उनीहरूमाथि अहिले प्रहरी हेडक्वार्टरले छानबिन गरिरहेको छ । दोषी देखिएको अवस्थामा कसुर अनुसारको विभायीय कारबाही गर्ने तयारी गरिएको छ । यदि कोही छानबिनपछि निर्दोष देखिएको अवस्थामा भने सम्बन्धित कार्यक्षेत्रमा फर्काइने समेत हेडक्वार्टरले बताएको छ ।

यसअघि सादा पोशाकमा कार्यरत प्रहरी कर्मचारी बदनाम भएको भन्दै १५ चैत २०८० मा तत्कालीन गृहमन्त्री रवि लामिछानेले सादा पोशाकमा प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए ।

‘हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरत बाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनुहुन निर्देशानुसार अनुरोध छ,’ गृहको परिपत्रमा भनिएको थियो ।

सादा पोशाकमा कार्यरत प्रहरी बदनाम भएपछि २०७९ मा तत्कालीन डीआईजी (हाल एआईजीबाट अवकाश) टेकप्रसाद राईको नेतृत्वमा अध्ययन कार्यदलसमेत गठन गरिएको थियो । राई नेतृत्वको कार्यदलले तत्कालीन आईजीपी धीरजप्रताप सिंहलाई प्रतिवेदन बुझाएको थियो ।

सादा पोशाकमा परिचालन गरिने प्रहरी कर्मचारीको योग्यता र ट्र्याक रेकर्ड हेर्नुपर्ने कार्यदलले सुझाव दिएको थियो । सूचना संकलन र ह्युमन इन्टेलिजेन्सका लागि प्रयोग गरिने सादा पोशाकका प्रहरीले छुट्टै तालिम लिनुपर्ने गरी कार्यविधि बनाउन सिफारिस गरिएको थियो ।

तर, यो प्रतिवेदनअनुसार कुनै काम नै भएन । अहिले लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा हिरासतमा रहेका विष्ट स्वयं यसअघि १० लुटपाटमा जोडिएका व्यक्ति हुन् ।

ट्र्याक रेकर्डअनुसार हेर्ने हो भने उनी सादा पोशाकमा बसेर काम गर्न अयोग्य मानिन्छन् । तर राई कार्यदलले दिएको त्यो प्रतिवेदनविपरीत अहिले पनि सादा पोशाकका प्रहरी खटाउने काम जारी रहेको यो घटनाले पुष्टि गरेको छ ।

सादा पोशाकमा खटिने प्रहरी कर्मचारी बढीमा ४ वर्ष मात्र खटिन पाउने गरी कार्यविधि बनाउनुपर्ने सुझावसमेत राई कार्यदलले दिएको थियो । तर अहिले हेडक्वार्टर झिकाइएहरू ८ वर्षदेखि पनि सादा पोशाकमा बसेर काम गरेकाहरू छन् ।

चार वर्ष सिभिलमा काम गरेपछि युनिफर्म ड्युटीमा फर्किनुपर्छ । कारबाहीमा परेकाहरू सादा पोशाकमा खटिन पाउँदैनन् ।

अहिले हेडक्वार्टर झिकाइएकाहरूले ट्राफिकको तालिम नै नलिई ट्राफिकको ड्युटी गरेकोसमेत भेटिएको हेडक्वार्टरका एक अधिकारी बताउँछन् । ‘ट्राफिक ड्युटीमा खटिएको छ, बुझ्दा ट्राफिक तालिम नै गरेको देखिँदैन । विशेषगरी तराईका जिल्लाहरूमा यस्ता खालका बेथितिहरू देखिन्छ,’ ती अधिकारीले भने ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?