News Summary
Generated by OK AI. Editorially reviewed.- साफ यू-१९ महिला च्याम्पियनसिप २०२६ जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म पोखरामा आयोजना हुँदैछ र नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
- नेपाली यू-१९ महिला टोलीको मुख्य प्रशिक्षक सुमन श्रेष्ठले तीन हप्ताको तयारी राम्रो भएको र सुधारिएको नतिजा ल्याउने लक्ष्य रहेको बताउनुभयो।
- नेपालले पहिलो खेल भारतसँग खेल्नेछ र प्रशिक्षक श्रेष्ठले भारतसँग अंक नगुमाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।
१४ माघ, काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिप २०२६ यस पटक पोखरामा आयोजना हुँदैछ । नेपालमा आयोजना हुने साफको उमेर समूहको फुटबल पहिलो पटक काठमाडौं बाहिर आयोजना हुन लागेको हो ।
यही जनवरी ३१ देखि फेब्रुअरी ७ (माघ १७ देखि २४) सम्म पोखरामा आयोजना हुने साफ यू-१९ महिला च्याम्पियनसिप २०२६ मा नेपालसहित दक्षिण एसियाका चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
जहाँ आयोजना नेपालसहित बंगलादेश, भारत र भुटानले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई स्थानमा रहने दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
साफ यू-१८/१९/२० उमेर समूहको यो च्याम्पियनसिपमा नेपालको जुनियर महिला टिमले अहिलेसम्म उपाधि जित्न सकेको छैन । यस पटक नेपालले सुधारिएको प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
अहिलेसम्म ६ संस्करण आयोजना हुँदा बंगलादेशले ५ र भारतले २ पटक उपाधि जितेको छ । एक संस्करणमा भने दुवै टिम संयुक्त विजेता बनेका थिए ।
नेपाल तीन पटक उपविजेता बनेको छ । सन् २०१८ को पहिलो संस्करण र २०२३ को चौथो संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग नै पराजित भएको थियो ।
पछिल्लो पटक सन् २०२५ मा बंगलादेशमै भएको च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा हुँदा बंगलादेश शीर्ष स्थानमा रहेर च्याम्पियन बन्दा नेपाल दोस्रो स्थानमा रहँदै उपविजेता बनेको थियो ।
नेपालको तयारी
पुरुष होस् वा महिला साफको उमेर समूहमा हरेक वर्ष प्रशिक्षक फेरिरहने परम्परा जस्तै छ । यस पटक साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली यू-१९ महिला टोलीको जिम्मेवारी सुमन श्रेष्ठले पाएका थिए ।
उनी प्रशिक्षक नियुक्त भएपछि नेपाली युवा टोलीले काठमाडौंमा तीन साता जति तयारी गर्यो । काठमाडौंमा अहिले राष्ट्रिय लिग फुटबल चलिरहेकोले यू-१९ महिला टोलीको प्रशिक्षणका लागि एकै ठाउँमा प्रशिक्षण गर्ने माहोल थिएन । त्यसैले कहिले टर्फ कहिले मैदानमा प्रशिक्षण गरेर नेपाली टोलीले तयारी गरेको छ ।
मुख्य प्रशिक्षक सुमन श्रेष्ठ प्राप्त समय र मैदान अनुसार तयारी राम्रै भएको भन्दै चित्त बुझाएका छन् । ‘प्राप्त समय अनुसार तयारी राम्रो भएको छ । नेचुरल ग्राउण्ड भएको भए राम्रो हुन्थ्यो । कहिले टर्फ कहिले कता भइरहेको छ’ बुधबार च्यासल रंगशालमा तयारीपछि उनले भने, ‘तीन हप्तामा राम्रै भएको छ । नेपालमै हुने भएर सुधारिएको नतिजा ल्याउने लक्ष्य छ । खेलाडीहरू तयार छन्।’

यस्तै उपकप्तान माया मास्केले पनि सुरुमा केही कठिनाई भएपनि टिमको तयारी राम्रो भएको बताइन् । उनले टिम पोखरामा गएर खेल्न एकदमै उत्सहित रहेको बताइन् ।
‘तयारी राम्रो भइरहेको छ । सबैले कडा मेहेनेत गरिरहेका छन्’ उनले भनिन्, ‘पोखरामा खेल्न टिम धेरै उत्साहित छौं । सुरुमा केही गाह्रो भएपनि अहिले टिम कम्बिनेसन मिलिसकेको छ।’
घरेलु मैदानमै हुने भएकोले नेपालले पोखरामा गएर प्रशिक्षण गरेको भए मुख्य प्रतियोगिताका लागि राम्रो तयारी हुन सक्थ्यो । तर नेपालले काठमाडौंमै तयारी गरेर पोखरामा राम्रो नतिजा ल्याउने लक्ष्य राखेको छ ।
नेपाली टोली जनवरी २९ अर्थात बिहीबार मात्र पोखरा पुग्नेछ र त्यसको एक दिन ग्यापपछि नै शनिबार प्रतियोगिता सुरु हुनेछ । नेपाली टोलीले पनि अन्य टोली जस्तै पोखरामा एक दिन मात्र त्यहाँको वातावरण अनुसार भिज्ने मौका पाउनेछ ।
मुख्य प्रशिक्षक श्रेष्ठले यस विषयमा आफुले एन्फालाई प्रस्ताव राख्दै कोसिस गरेको बताए । तर अन्तिम समयमा नमिलेको उनले सुनाए ।
कस्तो छ नेपाली टिम?
अघिल्लो पटक साफ यू-२० फर्म्याटमा भएको यस प्रतियोगिता यस पटक साफ यू-१९ को नामबाट हुँदैछ । जसले गर्दा टिममा धेरै जुनियर लेभलबाट आएका खेलाडी छन् ।
साफ यू-२० महिला च्याम्पियनसिप खेलेको टिमबाट सुशिला केसी, सेनु परियार, माया मास्के र वर्षा ओली मात्र छन् ।
अहिलेको टिमका लागि यी चार खेलाडीसँग उमेर समूहको माथिल्लो प्रतियोगिता खेलेको अनुभव छ । उनीले यसअघि पनि उमेर समूहको प्रतियोगिता लगातार खेल्दै आएका छन् ।

यस्तै यसबाहेक साफ यू-१७ महिला च्याम्पियनसिप खेलेका धेरै खेलाडीहरु अहिले यू-१९ टिममा प्रोमोट भएका छन् । उनीहरुसँग पनि उमेर समूहमा खेलेको अनुभव छ तर यू-१९ मा भने पहिलो पटक खेल्दैछ ।
मुख्य प्रशिक्षक सुमन श्रेष्ठले उमेर समूहमै खेलेका खेलाडीहरु पनि रहेकोले टिम कम्बिनेसन राम्रो रहेको बताए । ‘टिममा उमेर समूहमा खेलिरहेका खेलाडीहरु छन् । यू-१७ कै धेरे खेलाडी छन् । बाहिरबाट नयाँ खेलाडी खेलाडीहरु छन् । यू-२० का पनि केही खेलाडीहरु पनि छन्’ उनले भने ।
यस्तै माया मास्केले टिममा जुनियर लेभलबाट आएका नयाँ खेलाडीहरु भएपनि उनीहरुलाई सिकाउँदै अघि बढेको र अहिले राम्रो बन्डिङ भएको बताइन् ।
नेपालको लक्ष्य र विपक्षी टिम
सन् २०२५ मा बंगलादेशमा भएको साफ यू-२०महिला च्याम्पियनसिपमा पनि चार टिम नै सहभागी थिए । त्यसबेला भारत सहभागी थिएन भने श्रीलंका सहभागी थियो ।
चार टिमबीच डबल राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा भएको थियो । जहाँ घरेलु टोली बंगलादेशले ६ खेल नै जित्दै शतप्रतिशत नतिजासहित उपाधि जितेको थियो ।
बंगलादेशसँग दुई खेलमा पराजित नेपाल चार जितबाट १२ अंक जोडेर उपविजेता बनेको थियो ।
त्यस टिममा रहेका चार खेलाडी अहिले नेपाली टिममा छन् भने प्रशिक्षक, कप्तान देखि खेल्ने भेन्यू सबै फेरिएको छ ।
त्यसैले यस पटक प्रतियोगिता पनि पहिले भन्दा फरक फर्म्याटमै हुँदैछ । सिंगल राउण्ड रोविनका आधारमा हरेक टिमले एक आपसमा खेल्नेछन् । ६ खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
मुख्य प्रशिक्षक श्रेष्ठले यस पटक सुधारिएको नतिजा ल्याउने लक्ष्य सुनाउँदा पक्कै पनि नेपालको लक्ष्य च्याम्पियन बन्ने नै छ । किनभने नेपाल यसअघि तीन पटक उपविजेता बनिसकेको छ ।
त्यसैले प्रशिक्षक श्रेष्ठले पनि च्याम्पियन बन्ने लक्ष्य भएपनि पहिलो लक्ष्य फाइनल पुग्ने रहेको बताएका छन् । ‘सुरुमा च्याम्पियनभन्दा पनि फाइनल पुग्ने लक्ष्य हो । जसरी पनि फाइनल पुग्नुपर्छ’ उनले भने, ‘अरु टिम पनि राम्रा छन् । भारत र बंगलादेश राम्रो छ । भुटानले पनि राम्रो गरिरहेको छ।’

केही समयअघि नेपालमा पनि महिला लिग भएकोले खेलाडीहरुले खेलिरहेकोले त्यसको फाइदा रहेको श्रेष्ठले बताए ।
उपकप्तान माया मास्केले हरेक टोलीको लक्ष्य उपाधि जित्न नै हुने र आफुहरुको लक्ष्य पनि त्यही भएको सुनाइन् । ‘लक्ष्य त सबैको ट्रफी उचाल्ने नै हुन्छ । हामी पनि त्यसका लागि तयार छौं’ मास्केले भनिन् ।
मुख्य प्रशिक्षक श्रेष्ठले प्रतियोगितामा भारत बलियो टोली रहेको त्यो खेल महत्वपुर्ण हुने बताए । ‘बलियो टिम भारत नै छ । हाम्रो पहिलो खेल नै भारतसँग छ’ उनले भने, ‘पहिलो खेल महत्वपूर्ण हुनेछ । भारतसँग अंक नगुमाउने योजनासहित जान्छौं । छोटो समयमा जित्छौं भन्ने त हुँदैन तर भारतसँग अंक नगुमाउने लक्ष्य छ ।’
पहिलो पटक उमेर समूहको राष्ट्रिय टिम हेरेकोले आप्नो लागि पनि यस प्रतियोगिताले ठुल महत्व राख्ने श्रेष्ठले बताए । उनले यसअघि महिला लिगमा चर्च ब्वाइज महिला टिमको प्रशिक्षण सम्हालेका थिए ।
उनले उमेर समुहमा तत्काल ठूलो अपेक्षा राख्न नहुने कुरा आफूले बुझेको बताए ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर






प्रतिक्रिया 4