१४ माघ, काठमाडौं । मामा घर जान भनेर एक महिनाअघि घरबाट निस्केकी युवती मृत अवस्थामा भेटिएकी छिन् । हत्या गरेर इनारमा सडिसकेको अवस्थामा शव प्रहरीले फेला पारेको हो । अनुसन्धानका क्रममा ती युवतीकै प्रेमी पक्राउ परेका छन् ।
यो घटना बाँकेको डडुवा गाउँपालिका–३ बनकट्टीको हो । १ माघको बिहान साढे १० बजेतिर बनकट्टी गाउँको एक इनामार सडिसकेको अवस्थामा एउटा शव फेला परेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । राम फेरन कुर्मीको घर पछाडि रहेको वर्षौंदेखि प्रयोगविहीन इनारमा शव भेटिएको थियो ।
प्रहरी घटनास्थल पुगेर इनारबाट शव निकाल्यो । सडिसकेको उक्त शवको पहिचान हुनै कठिन भएको थियो । करिब एक महिनाअघि नै हत्या गरेको जस्तो देखिएको थियो ।
ती युवतीको कपडा र गहनाबाट मृत युवती सोही ठाउँकी २१ वर्षीया बसन्ती गोडिया रहेको खुलेको थियो । उक्त शव पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइयो ।
पोस्टमार्टम रिपोर्टमा ‘चोप इन्ज्युरी टू नेक एण्ड हेड’ उल्लेख छ । अर्थात् टाउको र घाँटीको विभिन्न भागको चोटका कारण हत्या भन्ने उल्लेख पोस्टमार्टम रिर्पोटमा छ । जसकारण प्रहरीले हत्या भएको निष्कर्ष निकालेर अनुसन्धान अघि बढायो ।
मृत भेटिएकी युवती गोडिया भने करिब एक महिनाअघि मामा घर जान भनेर घरबाट हिंडेको उनका परिवारका सदस्यले बताएका थिए । अनुसन्धानका क्रममा उनी भारत नानापारास्थित मामा घर नगएको खुलेको बाँकेका एसपी अंगुर जिसीले बताए ।
अनुसन्धानकै क्रममा गोडिया करिब एक वर्षदेखि आफ्नै घर छेउका एक राकेश बर्मा नाम गरेका युवकसँग प्रेम सम्बन्धमा रहेको खुल्यो । २५ वर्षीया बर्मामाथि अनुसन्धान गर्दा उनैले हत्या गरेर इनारमा शव फालेको खुलेको एसपी जिसीले बताए ।
आफूसँग प्रेम सम्बन्धमा रहे पनि अन्य युवकसँग पनि सम्बन्ध रहेको थाहा पाएपछि हत्या गरेको ती युवकले बताएको प्रहरी अनुसन्धान अधिकृत बताउँछन् ।
हत्या गर्ने बेला उनले राति ११ बजेतिर प्रेमिकालाई सल्लाह गर्न भन्दै घरबाट बोलाएर नजिकैको लाहारी बारीमा लगेको र त्यही विवाद भएपछि टाउकामा हिर्काएर हत्या गरेको बर्माले स्वीकारेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4