News Summary
Generated by OK AI. Editorially reviewed.- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले पाएको अधिकार खोस्ने प्रयास भइरहेको बताएका छन्।
- उपेन्द्र यादवले सप्तरी २ बाट चुनाव जितेपछि शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रमा उल्लेखनीय काम गरेको दावी गरे।
- जसपा नेपालका नेता रेणुकुमारी यादवले दलित र मुस्लिम समुदायका छात्रवृत्तिमा डाक्टरी पढ्ने अवसर पाएको बताइन्।
१४ माघ, राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले प्राप्त गरेका अधिकार खोस्ने प्रयास स्वरूप मधेशमा भ्रम छर्ने काम भइरहेको बताएका छन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ४ स्थित शान्ति चोकमा बुधबार आयोजित चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै त्यसो हुन नदिन मधेशवादी जनता एकठाउँमा उभिनु पर्ने बताए ।
‘मधेशी जनताले पाएको अधिकार पनि खोस्नका लागि मधेशमा भ्रम छर्ने काम भइरहेको छ,’ उनले भने ।
अधिकार, पहिचान, स्वाभिमान र समानतासँगै अब विकासका लागि लड्नुपर्ने बताएका उनले विगतमा सक्षम जनप्रतिनिधि नचुनिएकाले आवाज उठाउन नसकिएको र सप्तरी ३ विकासमा पछाडि परेको बताए ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका उनले सप्तरी २ बाट आफूले चुनाव जितेपछि शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा उल्लेखनीय कार्य गरेको दावी गरे ।
‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालन, गजेन्द्रनारायण सिंह अस्पतालमा कायापलट हुने गरी भौतिक पूर्वाधार निर्माण, महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा इञ्जिनियरिङ भवन निर्माण, अस्पताल परिसरमा नर्सिङ्ग भवन, विद्यालयहरूमा शैक्षिक भवन, रुपनी–राजविराज सडक, राजविराज–छिन्नमस्ता–न्यौर सडक, राजविराज–हनुमाननगर–भारदह सडक निर्माण, पालिकाहरूलाई एम्बुलेन्स लगायतका कामहरू अगाडि बढाएँ,’ उनले भने, ‘दुर्भाग्य नै भन्नुपर्छ मेरो अनुपस्थितिमा ती कार्यहरू अगाडि बढाउनुको साटो भाँजो हाल्ने काम भयो ।’
विगतमा मधेश र मधेशी जनतामाथि भइरहेको चरम विभेद एवम् दमनविरुद्ध मधेशी जनअधिकार फोरम नेपालको नेतृत्वमा सङ्घर्ष भएको चर्चा गर्दै फोरमसँगको सम्झौतापछि गाउँगाउँमा नागरिकता टोली खटाएर नागरिकता वितरण गरिएको उनले बताए ।

मधेशी अर्थात कालो चेहरालाई मर्सिया, धोती जस्ता शब्दले अपमानित गर्ने गरेकोमा अहिले मधेश प्रदेश नै बनेको चर्चा गर्दैैैै जसपा अध्यक्ष यादवले भने, ‘अब मधेशीलाई भेदभाव वा दुर्व्यवहार गर्न पाउँदैन गर्वले मधेश प्रदेशको बासिन्दा भन्न पाएका छन् ।’
मधेश आन्दोलनकै उपलब्धीका कारण मधेशी, महिला, दलित, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग लगायत विभेदमा पारिएका समुदायको सहभागिताको सुनिश्चितता भएको उनले बताए ।
अझै थुप्रै अधिकार प्राप्त गर्न बाँकी रहेको भन्दै उनले त्यसका लागि मधेशी जनता मधेशको पक्षमा एकतावद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राखे ।
‘मधेशी जनताले पाएको अधिकार पनि खोस्नका लागि मधेशमा भ्रम छर्ने काम भइरहेको छ । त्यसो हुन नदिन जसपा नेपालका उम्मेदवारहरूलाई भारी मत दिएर जिताएर पठाउनुहोला,’ उनले भने ।
जसपा नेपालका नेता एवम् पूर्वमन्त्री रेणुकुमारी यादवले आफू शिक्षामन्त्री हुँदा अडानका साथ विधेयक ल्याएर पारित गराएकै कारण सरकारी विद्यालयमा अध्ययन गरेका तथा दलित, मुस्लिम समुदायबाट समेत छात्रवृत्तिमा डाक्टरी पढ्ने अवसर पाएको चर्चा गरिन् ।
पार्टीका सचिव शैलेन्द्रप्रसाद साहले मधेशी जनताको कठोर सङ्घर्षबाट प्राप्त भएको उपलब्धीहरू पनि खोस्नका लागि सङ्घीयता विरोधीहरू सक्रिय रहेकोले त्यस्ता शक्तिलाई बहिष्कार गर्न आग्रह गरे ।
प्रतिक्रिया 4