लन्डन । यतिखेर बेलायतमा रहेकी कराँतेकी स्टार खेलाडी एरिका गुरुङलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ ।
बुधबार दिउँसो तमुधिं यूके पदाधिकारीका साथ दूतावास पुगेकी ऐतिहासिक पदक विजेता खेलाडी एरिकालाई कार्यवाहक राजदूत विपिन दुवाडीले बधाईसहित स्वागत सम्मान गरे ।
कार्यवाहक राजदूत दुवाडीले देशकै नाम र प्रतिष्ठा उचो राखेकामा एरिकालाई बधाई पनि दिए । भविष्यमा थप सफलताको शुभकामना दिंदै उनले एरिनाको सफलताको श्रेय प्रशिक्षक कुशल श्रेष्ठ र अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङलाई समेत जाने बताए ।
एरिकाले दूतावासको न्यानो आतिथ्य र सम्मानका लागि धन्यवाद दिंदै आफू कुनै दिन विश्वकै एक नम्बर वरियतामा पुग्ने लक्ष्य र आत्मविश्वासका साथ अगाडि बढिरहेको जनाइन् । उनले देशबाट खेलाडीहरु पलायन भइरहेकोप्रति इंगित गर्दै आफू भने कहिल्यै देश नछोड्ने बताएकी थिइन् ।
तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले दूतावासप्रति आभार प्रकट गर्दै तमुधिं यूकेले नेपाली राष्ट्रिय खेलाडीहरुको प्रोत्साहन र खेल विकासका लागि सहयोग जारी राख्ने अठोट व्यक्त गरे ।
तमुधिं यूकेले एरिकालाई ५१ हजार रुपैयाँसहित ‘तमु प्रतिभा पुरस्कार–२०२४’ बाट पुरस्कृत गरिसकेको छ ।
सो अवसरमा तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, हार्लो कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता प्रज्योशन श्रेष्ठ, गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमुलगायतको उपस्थिति थियो ।
गत आइतबार मात्रै विश्व कराँते महासंघको आयोजनामा टर्कीएको इस्तानबुलमा सम्पन्न कराँते वान प्रिमियर लिग (६८ केजी तौल समूह) मा रजत पदक जितेर इतिहास रचेकी एरिका सोमबार टर्कीबाट सिधै लन्डन आएकी हुन्।
एरिका आउँदो ३० जनवरीदेखि फेब्रुअरी १ तारिखसम्म बेलायतमा सञ्चालन हुने अन्तर्राष्ट्रिय एलिट ट्रेनिङ क्याम्पमा सहभागी हुनेछिन् ।
बेलायत बसाइका क्रममा खेलाडीहरूको आवास, तालिम र व्यवस्थापनसम्बन्धी सम्पूर्ण जिम्मेवारी तमुधिं यूकेले लिएको छ ।
डब्लुकेएफ वरियताको १३औं स्थानमा
नेपाली कराँतेमा अर्को ऐतिहासिक उपलिब्ध हासिल गर्दै एरिका डब्लुकेएफ वरियताको महिला ६८ केजीमाथि तौल समूहमा १३औं स्थानमा पुग्न सफल भएकी छिन् ।
वर्ल्ड कराँते फेडेरेसन (डब्लुकेएफ) कराँते वान प्रिमियर लिगमा रजत पदक जितेपछि एरिकाले वरियतामा पनि फड्को मारेकी हुन् । उनले पछिल्लो दुई वर्ष नियमित रुपमा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएकी छिन् ।
सन् २०२५ मा मोरक्कोको राबतमा पहिलोपटक कराँते वान प्रिमियर लिग खेल्दा कांस्य पदक जितेकी एरिकाले यस पटक टर्कीएको इस्तानबुलमा भएको कराँते वान प्रिमियर लिगमा आफ्नो ‘परफर्मेन्स’ सुधार गर्दै रजत पदक जितिन् ।
एरिकाले अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताहरुमा विश्वकै शीर्ष वरियताका खेलाडीहरुलाई समेत पराजित गरिसकेकी छिन् ।
एरिकाले १०औँ विश्व सितोरियो कराँते च्याम्पियनसीपमा स्वर्ण, १९औँ एसियन गेम्स् र २०औँ एसियन सिनियर कराँते च्याम्पियनसीपमा रजत पदक, १६औँ एसिया–प्यासिफिक सितोरियो कराँते च्याम्पियनसीपमा स्वर्ण पदक जितेकी छन् ।
यसका साथै उनले दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा चारवटा स्वर्ण पदक, थाइल्यान्ड ओपन कराँते च्याम्पियनसीपमा दुई स्वर्ण, यूएसए ओपन च्याम्पियनसीपमा स्वर्ण, अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसीपमा स्वर्ण पदक जितिसकेकी छन् । मलेसियामा भएको कराँते वान सिरिज ए मा एरिकाले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।
उनी वर्ल्ड च्याम्पियनसीपका लागिसमेत छनोट भइसकेकी छन् । नेपालमा उनले २०८० र २०८१ सालमा महिलातर्फ ‘वेष्ट प्लेयर अफ द इयर’ उपाधि प्राप्त गरेकी थिइन् ।
प्रतिक्रिया 4