News Summary
Generated by OK AI. Editorially reviewed.- २०२५ को अन्त्यतिर डाक्टरहरूको टोलीले सोलुखुम्बुको दुर्गम गाउँहरूमा दुई दिनमा ३ हजारभन्दा बढी मानिसको मुटु जाँच गरी स्वास्थ्य सेवा पुर्यायो।
- मुटु विशेषज्ञ प्रा. डा. प्रकाश राज रेग्मीको नेतृत्वमा गरिएको स्क्रिनिङमा १२० जनामा मर्मर पत्ता लाग्यो र चार बालबालिकालाई तुरुन्त शल्यक्रिया आवश्यक देखियो।
- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले १५ वर्ष मुनिका बालबालिकाको नि:शुल्क उपचार र शल्यक्रिया व्यवस्था गरेको छ र औषधि स्थानीय स्वास्थ्य केन्द्रमा उपलब्ध गराइएको छ।
एउटा सुन्दर तर दुर्गम ठाउँमा बसोबास गर्ने कल्पना गर्नुहोस्- अग्ला पहाडहरू, ताजा हावा, रमाइलो गाउँहरू तर कुनै पनि अस्पताल पुग्न घण्टौं वा दिनभर नै लाग्ने ।
यो कुनै कल्पनाको कुरा होइन । नेपालमा यस्ता ठाउँ धेरै छन् । यी मध्येका केही हुन्- सोलुखुम्बु जिल्लाका सोताङ र चेपेल जस्ता गाउँहरू । यी गाउँ हिमालयको उच्च भागमा अवस्थित छन् । गाउँ सुन्दर छ । वरिपरिका दृश्यले मनलाई आनन्दिन बनाउँछ तर कुनै स्वास्थ्य समस्या देखिँदा बेवास्ता गर्नु यहाँको बाध्यता हो ।
बच्चाहरूमा मुटुको समस्या भएमा प्राय अवस्था जटिल नहुँदासम्म खासै वास्ता गरिँदैन ।
बच्चा खेल्दा सजिलै थाक्न सक्छ, छाती दुख्न सक्छ, वा असामान्य रूपमा फिक्कापन देखिन सक्छ । आमा बाबु चिन्ता गर्छन्, तर नजिकै कुनै डाक्टर छैन, मुटु जाँच गर्ने विशेष मेसिन छैन । लामो यात्रासँगै पैसा खर्च गर्र शहरमा गई उपचार गर्ने सामर्थ्य यहाँमा व्यक्तिमा छैन ।
बाथ मुटु रोग र जन्मजात मुटुरोग जस्ता मुटु रोगहरूले यहाँका धेरै युवाको ज्यान लिन्छ ।
मुटु विशेषज्ञको हिमाल जस्तो टोली
२०२५ को अन्त्यतिर, डाक्टरहरूको टोलीले बज त्यो ठाउँमा पुग्यो अनि त्यहाँको कथा परिवर्तन भयो । हामीले यी दुर्गम गाउँहरूमा दुई दिनमा ३ हजार भन्दा बढी मानिसहरूको मुटु जाँच गरी स्क्रीनिङ गर्यौँ ।
यस प्रयासको नेतृत्व मुटु विशेषज्ञ प्रा. डा. प्रकाश राज रेग्मीले गरिरहेका थिए । उनले २ लाख भन्दा बढी बालबालिकाहरूको जाँच गरेका छन् र सयौं स्वास्थ्यकर्मीहरूलाई तालिम दिएका छन् ।
उहाँसँगै बरिष्ठ मुटु सर्जन डा. प्रेम राज वैद्य र नेपालको पहिलो बाल हृदयरोग विशेषज्ञ डा. उर्मिला शाक्य पनि टोलीमा हुनुहुन्थ्यो । साथै बाल इकोकार्डियोलोजिस्ट डा. अजय अधिकारीका साथै रूसमा पीएचडी अध्ययनरत एक साथी र म टिममा थियौँ ।
नेपाल हार्ट फाउन्डेसनले सबै कुराको बन्दोबस्त गरेको थियो । सोलुखुम्बु नगरपालिकाले ठाउँ र अन्य सहयोग प्रदान गर्यो । औषधि कम्पनीहरूले निःशुल्क औषधि दिए । जर्मनीकी समाजसेवी इजाबेलले सुरु गरेको चेपेल फाउन्डेसनले रोटरी क्लब–पाटन च्याप्टरका स्वयंसेवकहरूसँगको सहकार्यमा स्कुल शिक्षक, नर्स र स्थानीय स्वास्थ्य कर्मचारीहरूलाई भेला गर्यो । यद्यपि त्यहाँ पुग्न र फर्कन नै ४ दिन लाग्यो ।

डाक्टरहरूले मुटु जाँच गरे, शिक्षकले बच्चाहरूलाई स्कुलमा व्यवस्थापन गरे । नर्सहरूले रेकर्डमा राख्न मद्दत गरे । हामीले दुई दिनमा ३ हजार भन्दा बढी मुटु जाँच गर्यौं । प्रक्रिया सरल तर प्रभावकारी थियो । २ वर्ष भन्दा माथि उमेरका २५०५ स्कुले केटाकेटीहरू र लगभग ५०० वयस्कहरूमा स्टेथोस्कोपबाट मुटुको धड्कनको जाँच गरियो ।
करिब ३००० मानिसहरूमध्ये, १२० जनामा मर्मर थियो । ती १२० जनालाई मुटुको इकोकार्डियोग्राफी गरियो । यसका लागि यस्ता दुर्गम क्षेत्रहरूमा प्रयोग गर्न सकिने पोर्टेबल मेसिनको प्रयोग गरेर गरिन्छ । यो मेसिनले मुटुको धड्कन वास्तविक समयमा देखाउँछ । भल्भको अवस्था वा मुटुको कोठाहरू बीचको प्वालहरू देखाउँछ ।
हामीले पत्ता लगाएको अवस्था चिन्ताजनक तर समाधान गर्न सकिने थियो । २२ बालकालिकामा खास मुटुको समस्या थियो । कसैलाई बाथ मुटु रोग थियो । अरूलाई जन्मजात समस्याहरू थिए । सबैभन्दा चिन्ताजनक, चार बच्चाहरूलाई तुरुन्तै शल्यक्रियाको आवश्यक देखियो ।
यी बच्चाहरूले थकान, बेहोस् हुने वा अझ खराब अवस्थाको सामना गर्नुपर्थ्यो । तर हाम्रो टोली निदानमा मात्र रोकिएन । काठमाडौँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ती बालबालिकाको उपचार गर्ने प्रबन्ध भयो ।
यस केन्द्रमा मुटुरोग पत्ता लागेका १५ वर्ष मुनिका बालबालिकाको उपचार तथा शल्यक्रिया नि:शुल्क हुने व्यवस्था गरिएको छ ।
औषधिको प्रबन्ध
शल्यक्रियाको बन्दोबस्तले तत्कालका केसहरूको निदान त हुन भयो, तर मुटुको समस्या भएका अन्य बालबालिकाहरूलाई निरन्तर हेरचाह आवश्यक पर्र्छ । बाथ मुटु रोगको लागि, औषधिहरू एक वर्षसम्म पर्याप्त मात्रामा दिएर थप क्षति रोक्न सकिन्छ । त्यसैगरी थप क्षति रोक्न् पेनिसिलिनको सुई लगाइरहनुपर्छ ।

हामीले लगेका यी औषधिहरू सिधै स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा प्रदान गरियो । त्यहाँ प्रशिक्षित स्वास्थ्यकर्मीले सुई दिने व्यवस्था मिलाइयो । अब सुई दिन शहरसम्म लामो यात्रा गर्नुपर्दैन । हामीले मुटुरोग अभियानको क्रममा आवश्यकता परेका जो कोहीलाई पनि मुटुरोग सम्बन्धी अन्य औषधिहरू पनि कम्तीमा एक महिनाका लागि नि:शुल्क हस्तान्तरण गर्यौं ।
स्थानीय स्वयं-सेवकको शक्ति
डाक्टरहरू स्पटलाइटमा पर्छन्, तर स्थानीयहरूले यो महत्वपूर्ण शिविरलाई सफल बनाउन मद्दत गर्नुभयो । स्कूलका शिक्षकहरूले बच्चाहरूलाई सुरक्षित रूपमा लाइनमा राख्नुभयो । नर्सहरूले पनि धेरै मेहेनत गर्नुभयो । इजाबेलले र चेपेल फाउण्डेशनका स्वयंसेवकहरूले कार्यक्रम व्यवस्थापन मिलाउन सहयोग गरे । प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीहरूले फलोअप हेरचाहको वाचा गरे ।
महत्त्वपूर्ण संदेश
नेपालमा, मुटुको समस्याले बालबालिकाहरूलाई धेरै असर गरेको छ । प्रत्येक १००० स्कूले बालबालिकामध्ये २ देखि ५ जनालाई बाथ मुटुरोग हुन्छ । यस्ता दुर्गम ठाउँहरूमा स्वास्थ्य संस्था नजिक नहुँदा र गरिबीका कारण सबैभन्दा बढी प्रभावित हुन्छन् । यो स्क्रिनिङले राष्ट्रिय अध्ययनसँग मिल्दोजुल्दो दरमा केसहरू फेला पारेको छ ।
चुनौतीहरू र सिकेको पाठ
यो अभियानमा धेरै चुनौतीहरू थिए । धेरै पहाड छिचोलेर पुग्नुपर्ने गाउँ, त्यसमाथि कच्ची बाटो, धेरै चिसो मौसम, बिजुली राम्रो प्रबन्ध नभएको आदि । तर पनि बोकेर लैजाने उपकरण अनि सबैको कडा मेहनतले शिविर सफल भयो ।
सबैभन्दा ठूलो पाठ के रह्यो भने- प्रारम्भिक मुटु जाँचले जीवन बचाउँछ । य यो खालको अभियान भएन भने यस्ता बच्चाहरूको मुटुरोग उमेरसँगै जटिल हुँदै जान्छ । र, स्वस्थमा समस्या आइराख्ने हुन सक्छन् ।
(डा. एन्जेला वैद्य रूसमा पीएचडी गर्दैछिन् )
प्रतिक्रिया 4