News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘कुमारी’ ले नेपाली चलचित्र, संगीत र मिडियाबाट युवापुस्ताले के अपेक्षा राखेका छन् भन्ने विषयमा ५ सय सहभागीबीच छलफल गरेको छ।
- युवाले चलचित्रमा मौलिकता र संस्कृतिको प्रतिबिम्ब चाहेको र संगीतमा भावना आवश्यक रहेको बताएका छन्।
- लेखक विकास सुवेदीले फिल्म सामान्य प्रेमकथा नभई भित्री कुरा फरक रहेको र निराशा हटाउने दाबी गरेको छ।
काठमाडौं । फिल्म ‘कुमारी’ ले ‘नेपाली चलचित्र, संगीत र मिडियाबाट युवापुस्ताले के अपेक्षा राखेका छन्’ भन्ने विषयमा बिहीबार छलफल चलाएको छ ।
प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित समारोहमा विद्यार्थी, युवासहित ५ सय जना सहभागी रहे । फिल्मको टिमसँगै प्रतिष्ठानका प्राज्ञ सदस्य तथा लेखक अमर न्यौपाने, सञ्चारकर्मी नरेश भट्टराई, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता महेन्द्र अधिकारी, गायक केहरसिंह लिम्बु तथा उनको ब्यान्डका सदस्य सहभागी थिए ।
कार्यक्रममा सहभागी ३० जना युवाले नेपाली चलचित्र, सङ्गीत र मिडियासम्बन्धी आफ्ना धारणा राखेका थिए । यस्ता किसिमका कार्यक्रमले आफ्ना भावना खुलेर व्यक्त गर्न पाएकोमा खुसी व्यक्त गरे ।
सहभागी युवाले निर्देशक राउतका अघिल्ला फिल्मको चर्चा गर्दै फिल्म जीवन बुझ्ने माध्यम भएको बताएका थिए । उनीहरूको भनाइ थियो, ‘हामी चलचित्र हलमा समय बिताउन मात्र जाँदैनौँ । सिनेमाले हाम्रो संस्कृति देखाउनुपर्छ, मौलिकता हुनुपर्छ ।’

सामाजिक सञ्जाल युवालाई प्रभाव पार्ने प्रमुख माध्यम भएको बताउँदै उनीहरूले कतिपय समीक्षामा अतिरञ्जना हुने गरेकोप्रति चिन्ता व्यक्त गरे । युवाले नेपाली चलचित्रले आफूहरूले चाहेजस्तो स्तर नपुगेको भन्दै राम्रो फिल्म हेर्न विदेशी फिल्मतर्फ आकर्षित हुनुपरेको बाध्यता पनि सुनाए ।
संगीतबारे युवाको अपेक्षा स्पष्ट थियो- ‘गीतमा हिरो-हिरोइनको लुक्सभन्दा पनि भावना चाहिन्छ । संगीत मनोरञ्जनका लागि मात्र होइन, जीवनसँग जोडिन सक्नुपर्छ ।’ फिल्मको गीत ‘डोको बुन्ने’ ले मौलिक ‘एसेन्स’ बोकेको भन्दै युवाले प्रशंसा गरेका थिए ।
कलाकार अभिषेक खड्का आफू पनि पश्चिमा फिल्मबाट बढी प्रभावित रहेता पनि पछिल्लो समय नेपाली चलचित्रले फड्को मारेकोमा खुसी देखिए । उनले आफूले डेब्यु गरेको यो फिल्म पछिल्लो पुस्ताले चाहेको जस्तो रहेको हुँदा ढुक्कले चलचित्र हेर्न आग्रह गरे ।

सञ्चारकर्मी भट्टराईले युवालाई मिडिया तथा सामाजिक सञ्जालमा देखिने सबै कुरामा सजगतापूर्वक बुझेर मात्र विश्वास गर्न आग्रह गरे । लेखक न्यौपानेले साहित्य र सिनेमाबीचको सम्बन्ध स्पष्ट पारे । उनले भने, ‘किताब कलमले लेखिएको साहित्य हो भने, सिनेमा क्यामेराले लेखिएको साहित्य हो ।’
पटकथाकार विकास सुवेदीले युवाको निराशा देशका लागि घातक हुने बताए । यो फिल्मले केही हदसम्म भए पनि नेपाली फिल्मप्रतिको निराशा हटाउने दाबी गर्दै उनले भने, ‘आवरण धेरैको मिल्न सक्छ तर त्यसको भित्री कुरा फरक हुन्छ । यो चलचित्र सामान्य प्रेमकथा होइन । बाहिरबाट जस्तो देखिन्छ, भित्र त्यसभन्दा फरक छ ।’
फिल्ममा आकृति राजभण्डारीको पनि शीर्ष अभिनय छ । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्माको पनि अभिनय छ ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका लगानीकर्ता महेन्द्र अधिकारी हुन् ।
प्रतिक्रिया 4